समाचार सामग्रीको स्वनियमन र स्वमूल्याङ्कन गर्न आग्रह

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको समयमा आमसञ्चार माध्यमले प्रकाशन र प्रसारण गरेका समाचार सामग्रीको स्वनियमन र स्वमूल्याङ्कनका लागि आग्रह गर्नुभएको छ।

आमसञ्चार माध्यमको अनुगमन निर्वाचन आयोग आफैंले नगर्ने स्पष्ट पार्दै प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘‘निर्वाचन आचार संहिताको पालना सञ्चार माध्यमले गरे नगरेको अनुगमन प्रेस काउन्सिल नेपालले गर्नेछ, आयोगले आमसञ्चार माध्यममा के कस्ता सामग्री आएका छन् र ती निर्वाचनलाई सहयोग पुग्नेछन् कि छैनन् भनेर अनुगमन मात्रै गर्छ।’’

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि आयोगको कान्तिपथस्थित मुख्यालयमा ‘प्रेस अफिस’ को उद्घाटनपछि आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले यस्तो विचार व्यक्त गर्नुभएको हो।

आमसञ्चार माध्यमले प्रवाह गरेका सामग्रीको आफैंले अनुगमन गर्न आमसञ्चार माध्यमसँग आग्रह गर्दै उहाँले सबै सञ्चार माध्यमले स्वनियमन र स्वमूल्याङ्कन गर्ने विश्वास व्यक्त गर्नुभयो।

निर्वाचनलाई सफल बनाउन आमसञ्चार माध्यमको दबाबपूर्ण सहयोगले स्थानीय तह निर्वाचन सफल भएको चर्चा गर्दै प्रमुख आयुक्त थपलियाले डिजिटल र सामाजिक सञ्जालको अनुगमन गरिने बताउनुभयो।

आयोगले यस पटक सूचना प्रवाहलाई थप प्रभावकारी, छिटो र छरितो प्रवाह गर्न प्रवक्तासहित तीनजना सहायक प्रवक्तालाई जिम्मेवारी दिएको छ। प्रेस हेर्नका लागि विभिन्न निकाय, विषयका विज्ञससहित २७ जना रहेको प्रेस अफिस शुक्रबार बाटै सञ्चालनमा ल्याइएको छ। आयोगले एकद्वार प्रणालीबाट एकीकृत सूचना प्रवाह गर्नका लागि प्रेस अफिस सञ्चालनमा ल्याएको जनाएको छ।


ताजा खबर