नेपाल र बङ्गलादेशबिचको मैत्रीपूर्ण खेल भोली साँझ

नेपाल र बङ्गलादेशबिचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । एन्फाले सामान्यतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट मूल्य राखेको छ । बङ्गलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आइसकेको छ । उसले कम्बोडियालाई १–० गोल अन्तरले हराएको थियो ।

नेपाल भने यस फिफा इन्टरनेसनल विन्डोमा पहिलो मैत्रीपूर्णको तयारीमा रहेको छ । बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ । नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बङ्गलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

सन् १९८३ मा नेपालले बङ्गलादेशसँग पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बङ्गलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो । नेपालले पछिल्लो पटक बंगलादेशविरुद्ध गत वर्षको असोजमा खेलेको थियो ।

माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको त्यस भेटमा नेपाल र बङ्गलादेशले १–१ गोलको बराबरी खेलेको थियो । उक्त खेलमा सुमन रोजाको गोलबाट बङ्गलादेशले अग्रता लिएको थियो । तर, अञ्जन विष्टले पेनाल्टीबाट गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका थिए । त्यसको करिब एक वर्षपछि नेपालले बङ्गलादेशसँग खेल्न लागेको हो ।

नेपालले पछिल्लो पटक घरेलु मैदानमा बङ्गलादेशलाई हराएको थियो थ्री नेसन्स कपमा । २०७७ चैत १६ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपालले बङ्गलादेशलाई २–१ ले हराएर थ्री नेसन्सको उपाधि जितेको थियो । -रासस


ताजा खबर