वर्णशङ्कर मकैका चार नयाँ जात सिफारिस

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, रामपुरले मकैका चारवटा नयाँ जात सिफारिस गरेको छ । सिफारिस गरिएका तीनवटा वर्णशङ्कर मकैको जातमा रामपुर हाइब्रिड (वर्णशङ्कर) १२, १४, १६ र एउटा खुला सेचित मकैको जात मनकामना ९ रहेको छ । वर्णशङ्कर मकै रामपुर १२, १४ र १६ यसै वर्ष तथा खुला मनकामना ९ सन् २०२१ मा सिफारिस गरिएको हो ।

यी नयाँ जातमध्ये खुला सेचित मकै मनकामना ९ लगाएको १३२ दिनमा पाक्नेछ । प्रतिहेक्टर ५.४४ मेट्रिक टन उत्पादन हुने यो मकै समुद्र सतहबाट आठ सय मिटरदेखि एक हजार छ सय मिटर उचाइसम्मको मध्यपहाडी क्षेत्रका लागि उपयुक्त हुने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यकमका प्रमुख चित्रबहादुर कुँवरले जानकारी दिनुभयो ।

यसैगरी रामपुर १२ मकैको उत्पादन प्रतिहेक्टर ९.४४ मेट्रिक टन रहेको छ । यो तराई र भित्री मधेशमा लगाउन सकिन्छ । रामपुर हाइब्रिड १४ को उत्पादन प्रतिहेक्टर ७.१० मेट्रिक टन रहेको छ । यो मकै तराई, भित्री मधेश र मध्यपहाडमा लगाउन सकिने मकै प्रमुख कुँवरले जानकारी दिनुभयो ।

त्यस्तै रामपुर हाइब्रिड १६ मकैको उत्पादन प्रतिहेक्टर ७.१० मेट्रिक टन रहेको छ । यसलाई पनि तराई, भित्री मधेश तथा मध्यपहाडी क्षेत्रमा लगाउन सकिन्छ । सन् २०१८ मा सिफारिस रामपुर हाइब्रिड १० तराई र भित्री मधेशमा हिउँदे सिजनको समयमा लगाउन मिल्ने कार्यक्रमका वरिष्ठ वैज्ञानिक भीमनाथ अधिकारीले जानकारी दिनुभयो । यो जातको मकैको उत्पादन प्रतिहेक्टर ८.०५ मेट्रिक टन रहेको छ ।

यसअघि मकैबाली अनुसन्धान कार्यक्रमले गौरव हाइब्रिड सन् २००३ मा, रामपुर हाइब्रिड २ सन् २०१२, रामपुर हाइब्रिड ४ सन् २०१६, रामपुर हाइब्रिड ६ सन् २०१६, रामपुर हाइब्रिड ८ सन् २०१८ मा सिफारिस गरेको थियो । रामपुर ४ र ६ भित्री मधेश र तराईको हिउँदे सिजनका लागि सिफारिस गरेको थियो ।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले विकास गर्ने नयाँ जातको मकैको बीउ नेपालको मागअनुसार पु-याउन नसकेपछि भारतबाट आउने हाइब्रिड बीउले बजार ओगटेको छ ।

चितवनमा खुला सेचित मकै रामपुर कम्पोजिट जातको बढी लगाइँदै आएको छ । यो २०३२ सालदेखि लगाइँदै आएको हो । यो मकै ११० देखि ११५ दिनमा पाक्छ । यो जातको मकै तराई, भित्री मधेश र पहाडका लागि सिफारिस गरिएको थियो । छोटो समयमा पाक्ने मकैका रूपमा अरुण २, ४ र ६ जात लगाउने गरिएको छ ।

हाल नेपालको मकैखेती गर्ने कुल क्षेत्रफलमध्ये करिब १८ प्रतिशत क्षेत्रफल हाइब्रिड मकैले ओगटेको अनुमान गरिएको छ । विदेशबाट आयात गरिने हाइब्रिड बीउ प्रतिस्थापन गर्न स्वदेशमै विकास गरिएका हाइब्रिड बीउ उत्पादन गर्न आवश्यक भएको राष्ट्रिय मकैबाली कार्यक्रमले जनाएको छ ।

कार्यालयका अनुसार बहुराष्ट्रिय कम्पनीका विकसित हाइब्रिड ५० भन्दा माथि मकैका जात नेपालका लागि हालसम्मको सूचीकृत गरिएको छ । नेपालले लामो समयको अनुसन्धानबाट हाइब्रिड मकै विकास गरेको भए पनि रामपुर हाइब्रिड १० विकासपछि मकैको उत्पादकत्व बढेको छ । २०६१ सालमा विकास गरिएको गौरव हाइब्रिड मकै पहिलो हाइब्रिड मकै हो तर किसानको खेतबारीसम्म पुग्न सकेन । राम्रो भाले र पोथीको मिलन हुन समय नमिल्ने हुँदा राम्रो उत्पादन गर्न नसकेको कार्यालयले जनाएको छ ।

अहिले रामपुर हाइब्रिड १२, १४, १६ विकास गरेको र किसानको खेतबारी पुग्दै गरेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत (बाली प्रजननकर्ता) मनोज कँडेलले जानकारी दिनुभयो ।  -रासस


ताजा खबर