सरकार निजी स्वास्थ्य संस्थालाई सँगै लिएर अघि बढ्ने छ

प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूले नेपालीको स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।

विभिन्न माग राखी मङ्गलबार ज्ञापन बुझाउन गएका एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)का पदाधिकारीलाई उहाँले स्वास्थ्य क्षेत्रमा अझै सुधारको खाँचो रहेको बताउँदै आगामी दिनमा थप सेवा सुविधा प्रवाह गर्न समेत आग्रह गर्नुभयो ।  प्रधानमन्त्री देउवाले स्वास्थ्य सुधारका सबै काममा सरकारले मात्र गर्न नसक्ने भएकाले निजी क्षेत्रका स्वास्थ्य संस्थाको पनि उत्तिकै आवश्यकता र भूमिका रहेको बताउनुभएको अफिनका महासचिव हेम सुवेदीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाको भनाइ उदृत गर्दै महासचिव सुवेदीले भन्नुभयो, “सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएर काम गर्न सके मात्र मुलुकले विकासमा फड्को मार्न सक्ने बताउँदै उहाँ (प्रधानमन्त्री देउवा)ले निजी क्षेत्रलाई सँगै लगेर जाने वातावरण सरकारले बनाइरहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले अफिनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको र सरकारले आगामी दिनमा मागहरू क्रमिक रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अफिनका केन्द्रीय कार्यकारी सदस्य रेनुका गुरुङले बताउनुभयो । गुरुङका अनुसार मङ्गलबार प्रधानमन्त्री देउवासमक्ष १० सूत्रीय माग पेस गरिएका छन् । सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी सञ्चालन स्वीकृति प्राप्त गरिसकेका र निश्चित मापदण्ड पुगेका अस्पताललाई स्थायी सञ्चालन स्वीकृति वा न्यूनतम पाँच/पाँच वर्षमा नवीकरण गर्नुपर्ने माग अफिनले राखेको छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन/नियम र मापदण्डका अव्यावहारिक पक्षलाई समयसापेक्ष संशोधन,  सरकारी स्वामित्वमा रहेका बैङ्क वित्तीय संस्थाबाट लामो अवधिका लागि सहुलियत दरमा ऋणको व्यवस्थापन र कर्जा पुनर्कर्जाको नीतिगत व्यवस्था गर्नुपर्ने, बीमा कार्यक्रममा सहभागिता तथा विपन्न बिरामी उपचार कोष र बीमा कोषको रकम भुक्तानीको मागसमेत राखिएको छ ।

अध्यक्षमा खड्का  

1140x725

अफिनको २२औँ साधारण सभाले आगामी तीन वर्षका लागि डा. पदमबहादुर खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सो समितिको उपाध्यक्षमा हरि रिजाल, महासचिवमा हेमराज दाहाल, सचिवमा स्वरुपा श्रेष्ठलगायतका २३ सदस्यीय कार्यसमिति चयन भएको छ ।


ताजा खबर