बङ्गलादेशमा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आइतबार विशाल प्रदर्शनहरू भएका छन् ।

बङ्गलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उसले तेलको बढ्दो मूल्यको कारण यूक्रेनमा जारी युद्ध भएको बताएको छ । तीव्र गतिमा अर्थतन्त्र विस्तार भइरहेको एशियाली मुलुकका हजारौँ नागरिकहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले देशमा आर्थिक सङ्कट देखा पर्न सक्ने भन्दै देशका विभिन्न शहरमा सडक प्रदर्शन गरिरहेका छन् ।

बङ्गलादेशमा अनपेक्षित रूपमा वृद्धि भएको इन्धनको मूल्यका कारण ८६ टाका अर्थात् ११५.२९ नेपाली रूपैयाँ प्रतिलिटरमा पाइने पेट्रोल १३० टाका अर्थात् १७४.२७ नेपाली रूपैयाँ पुगेको छ । त्यसैगरी यहाँ डीजल र मट्टितेलको मूल्य ४२.५ प्रतिशतले बढेको बताइएको छ ।

विश्वका अन्य धेरै मुलुकमा जस्तै रूसले यूक्रेनमा आक्रमण गरेपछि विश्वव्यापी रूपमा बढिरहेको इन्धनको मूल्यबाट बङ्गलादेश पनि प्रभावित भएको हो ।

यसैबीच ऊर्जामन्त्री नसरुल हमिदले मूल्यवृद्धि उच्च भएको तर विदेशमा नै इन्धनको मूल्य बढेपछि यसमा आफ्नो मुलुकले केही गर्न नसक्ने बताउनुभएको छ ।

सरकारले आर्थिक अव्यवस्था निम्त्याएको भन्ने आरोप अस्वीकार गर्दै उहाँले विगतमा मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले अनुदान दिएको तर अहिले मूल्य बढाउनुको विकल्प नभएको बताउनुभयो ।

उहाँले थप्नुभयो, ‘यदि निश्चित बिन्दुमा विश्वव्यापी मूल्य कम भयो भने हामी केही सम्बोधन गर्ने प्रयास गर्नेछौँ।”

गत हप्ता मूल्यवृद्धिको घोषणा गरिएपछि हजारौँ मानिसहरूले पेट्रोल पम्पबाहिर देशभरि प्रदर्शन गरेका थिए । श्रीलङ्काको झल्को दिएको उक्त प्रदर्शनका क्रममा मूल्यवृद्धि फिर्ता लिन माग गरिएको थियो । –एएफपी


ताजा खबर