दसैंलाई लक्षित गरेर राजधानीमा ९३ घुमुवा प्रहरी परिचालन

काठमाडौँ — चाडपर्वमा हुनसक्ने सम्भावित अपराधका सूचना संकलन गर्न भन्दै राजधानीमा डीएसपीसहित ९३ जना प्रहरी ‘घुमुवा’का रुपमा खटिएका छन् । प्रहरी स्रोतका अनुसार काठमाडौंमा १ डीएसपी र २ इन्स्पेक्टर सहित ५०, भक्तपुरमा ३० र ललितपुरमा १३ गरी ९३ जना प्रहरी अधिकृत तथा जवानहरु सादा पोशाकका रुपमा खटिएका हुन् ।

दशैं, तिहार, छठ, नेपाल सम्बत अवधिभर उनीहरुलाई फिल्डमै तैनाथ गराइने जनाइएको छ । प्रहरी मूख्यालयदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)को नेतृत्व रहने वडा/इलाका प्रहरी कार्यालय स्तरका युनिट इन्चार्जसम्मले चाडपर्व बाहेक नै घुमुवा तैनाथ गराउँदै आएका छन् ।

‘चाडपर्व सुरक्षा योजना अन्तर्गत उपत्यकामा ९३ सादा पोशाकका प्रहरीलाई खटाइएको छ,’ स्रोतले भन्यो, ‘सार्वजनिक यातायातका टिकट काउन्टर, बैंक/वित्तीय क्षेत्र, गहना पसल र दशैंबजार क्षेत्रमा सादा पोशाकका सुरक्षाकर्मी बढी केन्द्रीत हुने छन् ।’

दसैं/तिहार, छठ, नेपाल सम्वतलगायत पर्व सुरक्षा योजना अन्तर्गत महानगरीय प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै ५ एसपी र १७ डीएसपी सहित ६ हजार १ सय ५२ जना प्रहरी खटाइसकेको छ ।

 


ताजा खबर