नाथे ‘मान्छे’ हैन ‘ठूलोमान्छे’

~
पुर्खाले हिँडेको बाटो हिँडेर ‘मान्छे’ मात्रै बनिन्छ, त्यो मूलबाटो छोड्नुहोस्  
सर्ट्कट हान्नुहोस्, नैतिकता र विवेकबाट खुसुक्क तल–तल ओर्लनुहोस्  
धर्म, संस्कृति, सभ्यता र मानवता आदिको भ्रमजालोमा पर्दै नपर्नुहोस्
बन्चरो न बन हो न चरो हो, तर दुबैभन्दा शक्तिशाली हुन्छ; बुझ्नुहोस् !  
त्यसैले न ‘मान्छे’ न ‘ठूलो’ तर बन्चरो झैं दुबैभन्दा शक्तिशाली “ठूलोमान्छे” बन्नुहोस्
‘मान्छे’ मात्रै बनेर बाँच्न गाह्रो छ,  ‘ठूलो’ मात्रै बन्नुको झन् के अर्थ ? नबन्नुहोस्  !! 
जो बीस-पच्चिस बर्ष स्कुल-कलेज धाएर एक बिषय जानेर ‘ठूलो’ हुन्छ, 
त्यो त अरुले दिएको चुपचाप खाने र ‘ठूलामान्छे’ को मुख ताक्ने बन्छ 
तपाई जस्तो विशेष मानिसले त्यस्तो पानीमरूवा मूलबाटो छोड्नुहोस् 
त्यस्तो ‘ठूलो’ शक्तिशाली हुँदैन, तपाईँ शक्तिशाली ‘ठूलोमान्छे’ बन्नुहोस्  ! 
 
बीस पच्चिस बर्षसम्म त मोज गर्नुपर्छ, साथी–सँगाती बटुल्नुहोस् 
साथीहरू मिली यता पिट्नुहोस्, उता लुट्नुहोस्, त्यता मार्नुहोस् 
दश–बीस घटी लुटे-मारे लुटेरा या ज्यानमारा मात्रै  भन्न सक्छन् 
त्यसैले त्यस्ता हत्या–हिंसा कम्तिमा पनि  हजार घटी नगर्नुहोस् !
त्यसपछि तपाईँलाई महान् नभन्ने को ? तिनलाई निमोठ्नुहोस् 
तैपनि मानेनन् र झ्यालखाना हाले नै भने बस्नुहोस् र पढ्नुहोस्
त्यहाँ कसरी आठ–दश वर्ष बिताउनु ? — आज डाक्टरी पढ्नुहोस्, 
भोलि इन्जिनियरिङ्ग पढ्नुहोस्, पर्सि जेजे हात पर्छ, त्यैत्यै पढ्नुहोस् ।
खोरबाट निस्केपछि डाक्टरी, इन्जिनियरिंग, दर्शनशास्त्र सबै ‘जान्ने’ बन्नुहोस् 
बाहिर बसेर बीस–पच्चिस वर्ष घोटिँदै जाबो एउटो विषय मात्रै जान्ने के ठूलो ? 
आठ–दश वर्ष झ्यालखानामा बसेर सप्पैसप्पै विषयको सप्पै जान्ने बन्नुहोस्
मान्छे मात्र बन्न चाहिँ गाह्रो हुन्छ हजुर, “ठूलोमान्छे” बन्न सर्ट्कट हान्नुहोस्  ।
बाहिर आएर एउटा जत्त्था बनाउनुहोस् या भएकामा प्रवेश गर्नुहोस्   
कैद या भूमिगत बस्दा र पहिले मस्ती गर्दाका साथी सप्पै बटुल्नुहोस् 
अनि त्यो भीँड जम्मा गरेर गाउँ–शहर डुल्नुहोस्, नारा लगाउनुहोस् 
झ्यालखानामा पढेका आफ्ना ज्ञान तिनलाई भाषणमा सुनाउनुहोस् 
ताली पिटाउनुहोस्, ‘यो जिन्दाबाद, त्यो मुर्दाबाद’, ‘हाहु’ भन्न लगाउनुहोस् 
मिले देशकै झण्डा, नमिले आफ्नै झण्डा ठोक्नुहोस्, शक्तिशाली बन्नुहोस्  
झ्यालखानाभित्र सुरक्षाकर्मीदेखि चलेको झोँक बाहिर आएर पोख्नुहोस् 
तिनलाई देशको सिमानामा होइन, आफ्नै वरिपरि दिनरात उभ्याउनुहोस्
आफ्नै घर घेराउनुहोस्, अघिपछि कुदाउनुहोस्, सलाम ठोकाउनुहोस्
कैद बस्दाको रहर मेट्न मोटर कुदाउनुहोस्, हवाईजहाज उडाउनुहोस् 
झ्यालखानाको साँघुरो कोठाको रिस फेर्न भव्य महलहरू बनाउनुहोस् 
मान्छे मात्रै बनेर के काम हजुर ? सर्वशक्तिमान  ‘ठूलोमान्छे’ बन्नुहोस् !
  
 ‘ठूलोमान्छे’ बनेपछि अरुले दिएको र आफ्नो हकको खान छोड्नुहोस् 
आफैँ भान्छे बन्नुहोस्, भाँडोभित्रको मात्रै किन ? सिङ्गो भाँडै खानुहोस्, 
आफ्ना सिन्के खुट्टामाथि घ्याम्पे पेट उडुसको जस्तै पुटुस्स फ़ुलाउनुहोस्,
मान्छे मात्र भएर बाँच्न गाह्रो छ हजुर, सर्ट्कट हानेर  ‘ठूलोमान्छे’ बन्नुहोस्
त्याँ फेरि नाथे ‘मान्छे’ मात्रै बन्न मूढेबल गर्ने हैन नि, ‘ठूलोमान्छे’ नै बन्नुहोस् !

ताजा खबर