युइएफए सुपरकपको उपाधी रियल मड्रिडले जित्यो

स्पेनिश क्लब रियल मड्रिडले युइएफए सुपरकपको फाइनल उपाधी हात पारेको छ । आज बिहान सम्पन्न खेलमा च्याम्पियन्स लिग विजेता रियल मड्रिडले युरोपा लिग विजेता आइनट्राक्ट फ्र्याङ्कफर्टलाई २-० गोलले पराजित गर्दै सिजनको सुरुवाती उपाधी हात पारेको हो ।

फिनल्याण्डको हेलसिन्कीमा भएको खेलको पहिलो हाफको ३७औं मिनेटमा क्यासमिरोको पासलाई सेन्टर ब्याक डेभिड आलाबाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६५औं मिनेटमा सेन्टर फरवार्ड कप्तान करिम बेन्जेमाले दोस्रो गोल गर्दै रियलको जीत निश्‍चित बनाएका थिए । रियलले यो जीतसँगै आफूलाई सर्वाधिक सुपरकप विजेताको सूचीमा समावेश गराएको छ ।

यसअघि बार्सिलोना र एसी मिलानले सर्वाधिक पाँच-पाँच पटकको उपाधी हात पारेका थिए भने रियल र लिभरपुलले चार-चार पटक उपाधी जीतेका थिए ।

रियलले फाइनलमा लिभरपुललाई पराजित गर्दै च्याम्पियन्स लिग विजेता बनेको थियो । नयाँ सिजन सुरु हुनुअघि च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेता बीच सुपरकपका लागि प्रतिस्पर्धा गर्ने प्रावधान रहेको छ । -रोयटर्स/रासस


ताजा खबर