त्रिवि व्यवस्थापन विभागका विद्यार्थीले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउने

नेपाल बैंक लिमिटेड र  त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धानसम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

प्रमुख प्रशासकीय  अधिकृत एवम् प्रवक्ता प्रकाशकुमार अधिकारी उक्त सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय  विभागमा अध्ययनरत विद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउने जानकारी दिनुभयो । साथै, सो विभागका विद्यार्थीहरु र प्राध्यापकहरु मार्फत बैंकले आर्थिक तथा बैंकिङ्ग क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु सञ्चालन गर्ने छ ।

बैंकको प्रधान कार्यालयमा सम्पन्न सो सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सहप्राध्यापक नवराज अधिकारी र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादु खड्काले हस्ताक्षर गर्नुभएको छ ।

बैंकको अनुसन्धानसम्बन्धी कार्यको लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउने छ र सो सूचीअन्तर्गतका प्राध्यापकहरुलार्ई आवश्यकताअनुसार बैंकले अनुसन्धानको लागि विषय विज्ञका रूपमा नियुक्त गर्ने छ ।

यसैगरी, बैंकले  गरेका अनुसन्धानसम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबिए र एमबिएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट(जिआरपी)अन्तर्गत शोधपत्र लेखनका लागि छात्र वृत्ति स्वरूप न्यूनतम पाँचजना विद्यार्थीहरूलाई बैंकले प्रति विद्यार्थी नगद तीस हजार रुपियाँ प्रदान गर्ने छ ।

बैंकले व्यवस्थापन विभागमा एमविए ईन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका एक–एक जना छात्र र छात्रा गरी दुईजना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडलसहित “नेपाल बैंक कर्पोरेट लिडरसिप अर्वाड” समेत प्रदान गर्ने छ ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले त्रिवि व्यवस्थापन केन्द्रीय विभागसँगको सहकार्यले नेपाल बैंकको अनुसन्धानसम्बन्धी कार्यमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका निम्ति विभागीय प्रमुख सहप्राध्यापक अधिकारीले नेपालको पहिलो बैंकसँग आफ्ना विद्यार्थी र प्राध्यापकहरुले अनुसन्धानात्मक कार्यमा सहकार्य गर्नु गर्वको विषय रहेको धारणा व्यक्त गर्नुभयो ।

यैगरी त्रिवि व्यवस्थापन विभागका एमविए प्रोगाम डाइरेक्टर सहप्राध्यापक ज्ञान मणी अधिकारी, सह–प्राध्यापक डा.धुब्रलाल पाण्डेय, डा.बलराम दुवाल र डा.भरतसिंह थापाको समेत उपस्थिति रहेको थियो ।

साथै, बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल, कम्पनी सचिव केशब भण्डारीलगायतको उपस्थिति रहेको थियो ।


ताजा खबर