‘लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ’

प्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्तालाई थप उत्प्रेरित र आकर्षण गर्न सरकारको तर्फबाट गर्नुपर्ने सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

उहाँले मुलुकमा दिगो पूर्वाधार निर्माणको आवश्यकता परिपूर्ति गर्न लगानी बोर्डमार्फत भइरहेका कार्य र उपलब्धिको प्रशंसा गर्दै ठूला र राष्ट्रिय महत्त्वका परियोजनालाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन समेत दिनुभएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पेस गर्नुभएको आर्थिक वर्ष २०७८/०७९ को कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्नुहुँदै उहाँले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक तथा वित्तीय परिदृश्यहरू चुनौतीको रूपमा देखापरेको परिप्रेक्ष्यमा ठूला लगानी आकर्षण तथा परिचालनका लागि बोर्डबाट थप कार्य कुशलता प्रदर्शन गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष देउवासमक्ष लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले आज गत आवको कार्यसम्पादन प्रतिवेदन पेस गर्नुभएको हो । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबिच २०७८ साल साउन ३२ गते आव २०७८/०७९ का लागि ४२ वटा क्रियाकलापमा समय सारिणी सहितको मापनयोग्य सूचकका आधारमा कार्यसम्पादन करार भएको थियो ।

प्रधानमन्त्री देउवासमक्ष प्रतिवेदन पेस गर्दै प्रमुख कार्यकारी अधिकृत भट्टले लगानी बोर्डले लगानी आकर्षण, परियोजनाको सम्पूर्ण चक्रमा सहजीकरणका साथै लगानी बोर्डको कार्यालयलाई ‘पीपीपी सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्न प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । –रासस


ताजा खबर