सिन्धुलीका कवि ‘यात्री’को ‘बूढो समय’ लोकार्पण

सिन्धुलीका कवि बाबुराम श्रेष्ठ ‘यात्री’को कवितासंग्रह ‘बूढो समय’ को लोकार्पण भएको छ।काठमाडौंको माइतीघरस्थित ट्रान्जिट रेस्टुरेन्टमा आयोजित कार्यक्रममा डा. कृष्णहरि बराल, ज्ञानु अधिकारी, महेश पौडेल, सुरेश किरण र कवि ‘यात्री’ ले सो कृतिको लोकार्पण गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि डा.बरालले कवि यात्रीका कविताले प्रगतिवादी धार अँगालेको बताए। उनले कवितामा वैदेशिक रोजगारीका पीडा, राजनीतिक विसंगति र माओवादी युद्धले पारेको प्रभाव समेटिएको पनि बताए।

समालोचक ज्ञानु अधिकारीले उनको कविता निकै चाखलाग्दो भएको बताइन्। कवि सुरेश किरणले उनको कवितामा घनीभूत रूपमा मौलिकपन भएको बताए।

त्यसैगरी कवि महेश पौडेलले कवितामा ग्रामीण भेकको अनुभूति समेटिएको बताए।

शिक्षण पेसामा आबद्ध सिन्धुलीका कवि यात्रीको २०६३ सालमा ‘देशस्वप्न’ कवितासंग्रह प्रकाशित भएको थियो। उक्त लोकार्पण कार्यक्रमको सञ्चालन रामगोपाल आँशुतोषले गरेका थिए।


ताजा खबर