इन्धनको तत्काल मूल्य घटाउन नसकिने निगमको भनाई

नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य घटाउन नसकिने बताएको छ । निगमले यस अघि बुधबार विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा रहेकाले तत्काल मूल्य नघट्ने प्रष्ट पारेको हो ।

निगमले इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आए पनि बक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने विज्ञप्तिमा उल्लेख गरेकाे छ । निगमको घाटा अझै २३ अर्ब रहेकाले मूल्य यथावत् नै राख्नुपर्ने निगमले जनाएको छ ।

सरकारले पेट्रोलियम पदार्थको कर घटाउने बताए पनि नघटाएर शोध भर्ना दिँदा पेट्रोलियम पदार्थको मूल्य घटाउन समस्या भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले पेट्रोलियम पदार्थमाथिको कर घटाउने भने पनि अहिलेसम्म नघटाएर शोधभर्ना दिइरहेको छ, जसकार कारण लागत नै बढी पर्ने र निगमको घाटा उच्च रहेकाले मूल्य घटाउन समस्या भएको हो ।’

निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यमा पेट्रोलमा २ रुपियाँ ७८ पैसा नाफा, डिजेलमा ९ रुपियाँ ३७ पैसा घाटा, मट्टितेल तथा हवाई इन्धनमा केही नाफा तथा एलपी ग्याँसमा प्रति सिलिण्डर ४९९ रुपियाँ ५७ पैसा घाटा रहेको छ ।

पहिले पनि पेट्रोलियम पदार्थको मूल्य बढेर आउँदा कम मात्र मूल्य बढाएका थियौँ, अहिले केही घटेर आउने वित्तिकै मूल्य नघटेको हो, उहाँले भन्नुभयो ।

गत असार ११ गते उद्योगमन्त्री दीलेन्द्रप्रसाद बडुले पत्रकार सम्मेलन गरेर सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैँया कर कटौती भएको बताउनुभयो । तर, न पेट्रोलियम पदार्थमाथिको कर घटेको छ न त आयल निगमको घाटा नै कम भएको देखिएको छ ।

त्यसबेला मन्त्री बडुले अन्तराष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने बताउनुभएको थियो । तर, अन्यत्र दुईपटक मूल्य घटे पनि नेपालमा मूल्य घटेको छैन ।

एकातर्फ निगमको घाटा बढिरहेको छ भने अर्कोतर्फ वस्तुको ढुवानी लागत बढ्दा सर्वसाधारणले चर्को मूल्यवृद्धिको सामना गरिरहेका छन् । तर, कर घटाए ठूलो राजश्व रकम गुम्ने खतरा रहेको देखेपछि शोध भर्ना गरिरहेको निगमको बुझाई छ ।

पेट्रोलियम पदार्थमा लगाइएको करलाई घटाईदिने हो भने मूल्य घटाउन सजिलो हुने उपाध्याय बताउनुहुन्छ । गत आवमा करिब ५० अर्व रुपिँया निगमलाई नोक्सानी भएको निगमका प्रवक्ता उपाध्याय बताउनुहुन्छ ।

हाल निगमलाई १५ दिनमा नै ६३ करोड ५८ लाख रुपियाँ घाटा हुने स्थिति देखिएको निगमले जनाएको छ ।


ताजा खबर