हङ्‌कङ आन्दोलन:पोलिटेक्निक विश्वविद्यालयको ढल निकासबाट भाग्ने प्रदर्शनकारीको प्रयास

हङ्‌कङमा प्रहरीले घेरा हालेर राखेको एउटा विश्वविद्यालयमा बाँकी रहेका केही आन्दोलनकारीले गिरफ्तारीबाट जोगिन ढल निकासको बाटोबाट भाग्ने प्रयास गरेका छन्।

सरकारीविरोधी आन्दोलनमा सहभागी भएका सयौँ प्रदर्शनकारीहरू पोलिटेक्निक यूनिभर्सिटी (पोलियू) बाहिर निस्किसकेका छन्। तर अहिले पनि दर्जनौँको सङ्ख्यामा प्रदर्नकारीहरू त्यहीँ छन्।

पाँच महिनादेखि चलेको आन्दोलनका क्रममा उक्त विश्वविद्यालयमा आन्दोलनकारीहरू भेला भएका थिए। केही दिन त्यहाँ झडपको शृङ्खला चल्यो।

विश्वविद्यालयलाई घेराबन्दी गरेका सुरक्षाकर्मीहरूले भाग्न खोज्ने युवालाई पक्राउ गरिरहेका छन्।

ढलभित्रबाट भाग्न खोज्ने छ जनालाई प्रहरीले बुधवार पक्राउ गरेको थियो।

प्रहरीका अनुसार तीमध्ये दुई पुरुष भूमिगत ढल निकासबाट बाहिरिँदै थिए र एक महिलासहित चार जनाले ढलको ढक्कन खोलेर तिनलाई भाग्न सघाउन ढलभित्र डोरी झारेका थिए।

“ढल निकै अप्ठेरो र त्यसको तलसम्म अँध्यारो थियो, म यथाशक्य चाँडो घर जान चाहन्थेँ,” ढलबाट भाग्ने असफल प्रयास गरेका एक युवाले भने।

हङ्‌कङ पूरै अस्तव्यस्त हुनेगरी सरकारविरोधी प्रदर्शन सुरु भएको पाँच महिना भयो।

मुख्य भूमि चीनलाई सन्दिग्ध व्यक्ति सुपुर्दगी गर्न अनुमति दिने एउटा विधेयक सरकारले पारित गर्ने योजना बनाएपछि हङ्‌कङ आन्दोलित भएको थियो। विधेयक फिर्ता भए पनि सरकारविरोधी प्रदर्शन जारी छ।

हङ्‌कङ सन् १९९७ सम्म ब्रिटेनको उपनिवेश थियो। त्यहाँ अहिले चीनको ‘एक राष्ट्र, दुई प्रणाली’ नीतिअन्तर्गत शासनव्यवस्था चल्छ।

तर चीनको प्रभावविरुद्ध र प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै आन्दोलन चर्किएको छ।

गत सातादेखि हङ्‌कङका पाँच विश्वविद्यालयलाई आन्दोलनकारीले आफ्नो नियन्त्रणमा राखेका थिए। तर अहिले पोलियूमा मात्र उनीहरूको उपस्थिति छ।

सुरक्षाकर्मीसँग हिंसात्मक झडप भएको केही दिनपछि अहिले त्यहाँ १०० जनाभन्दा कम आन्दोलनकारीहरू बाँकी छन्।

कैयौँ प्रदर्शनकारीले प्रहरीसमक्ष आत्मसमर्पण गरिसकेका छन् भने केहीलाई उपचारको निम्ति अस्पताल लगिएको छ। केही प्रदरश्नकारी विभिन्न तरिकाले भाग्न सफल भएका छन्।

अहिलेसम्म १०० जना भन्दा बढी पक्राउ परेका छन्। अठार वर्षभन्दा कम उमेरका प्रदर्शनकारीलाई घर जान अनुमति दिइएको छ, तर सुरक्षानिकायले उनीहरूको विस्तृत विवरण राखेको छ।

हुलदङ्गा गरेको अभियोगमा पक्राउ परेमा वर्षौँ लामो जेल सजाय भोग्नुपर्ने भएकाले प्रदर्शनकारीहरू ससाना समूहमा ढलबाट भाग्ने खतरनाक प्रयास गरिसकेका छन्।

उनीहरू ढल निकासभित्र ग्यास मास्क र टर्चलाइट लिएर पसेको बताइएको छ।

आकस्मिक अवस्थामा खटाइने अग्निनियन्त्रकहरूले त्यस्तो बहिर्गमन रोक्न अहिले पोलियू परिसरमा भएका ढलहरूको मुख्य द्वार बन्द गरिदिएका छन्। केही प्रदर्शनकारी फसेको हुन सक्ने अनुमान गरेर मङ्गलवार र बुधवार भूमिगत निकासभित्र खोजी गरिएको थियो। तर कोही पनि भेटिएनन्।

अहिलेसम्म कोही ढलबाट भाग्न सफल भएका छन् कि छैनन् अझै अस्पष्ट नै छ।

बुधवार समातिएका दुई जना ढलबाटै विश्वविद्यालय परिसरबाट आधा किलोमिटर परसम्म पुगेका थिए। तर बाहिर निस्किएपछि उनीहरू पक्राउ परे।

त्यस्तै एक प्रयास गरेका २१ वर्षका विद्यार्थी बोवईले समाचारसंस्था रोएटर्सलाई भन‍िन्, “ढल निकै दुर्गन्धित थियो, त्यहाँ धेरै साङ्ला र सर्प थिए। प्रत्येक कदम अतिकष्टप्रद थियो। मैले बाँच्नका निम्ति कुनै दिन ढलभित्र लुक्नुपर्ला वा ढलको बाटो भाग्नुपर्ला भनेर कहिल्यै सोचेको थिइनँ।”

उनको समूहले दुर्गन्धित पानीमा डुबेर एक घण्टा बिताउनुपरेको थियो। उनका अनुसार बाहिर आएपछि आफूहरू अझै विश्वविद्यालयको परिसरभित्रै भएको थाहा भयो।

हताश भएका प्रदर्शनकारीहरूले ढलको बाटो भएर भाग्ने योजना अचानक बनाएका थिए।

सोमवार दर्जनौँ प्रदर्शनकारीहरू पुलमा डोरी बाँधेर राजमार्गमा ओर्लिएर तल पर्खिरहेका मोटरसाइकल चढेर भागेका थिए।

प्रहरीले बताएअनुसार तीमध्ये ४० जना पक्राउ परेका छन्।

केहीले अँध्यारोको मौका छोपेर भाग्ने प्रयास गरेका थिए।

अन्य कैयौँले प्रहरीको घेरा तोडेर भाग्ने कोसिस गरेका थिए। तर पक्राउ पर्नुअघि केहीलाई कुटपिट गरिएको थियो।

बीबीसी

 


ताजा खबर