कृति अवार्डस् १२औं संस्करण भदौ २६ मा हुने

नेपालको विज्ञापन सिर्जनशीलतालाई सम्मान गर्ने कृति अवार्डस्‌को १२औं संस्करण भदौ २६ गते हुने भएको छ।

यस वर्षको कार्यक्रमको टाइटल स्पोन्सर हिमालयन डिस्टिलरी लि.को गोल्डेन ओक ब्रान्ड रहेको छ। काठमाडौंमा आयोजित एक समारोहमा संघका अध्यक्ष सोमप्रसाद धिताल र जावलाखेल ग्रूप अफ इन्डस्ट्रिजका कार्यकारी निर्देशक सशीन जोशीले यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

हरेक वर्ष आयोजना हुँदै आएको कृति अवार्डस् कोभिड–१९ महामारीका कारण गत दुई वर्ष हुन सकेको थिएन। कृति अवार्डस् विज्ञापन क्षेत्र लगायत सम्पूर्ण मिडिया र विज्ञापनदाताको सामूहिक उत्सवका रूपमा आयोजना गरिंदै आएको छ।

यस वर्षको अवार्डका लागि २०७६ वैशाख १ देखि २०७८ चैतसम्म भएका विज्ञापन तथा प्रवर्द्धनात्मक रचना तथा कामलाई समावेश गरिने भएको छ। संघका सदस्य एजेन्सीहरूले २०७९ भदौ ४ गतेसम्म मनोनयन दर्ता गर्न सकिने जनाइएको छ।

कृति अवार्डस्‌को यस संस्करणमा विभिन्न ३१ विधामा पुरस्कार प्रदान गरिने भएको छ। छनोट तथा मूल्याङ्कनका लागि सूचना, सञ्चार, विज्ञापन र मार्केटिङ क्षेत्रका विज्ञ प्रा. विजय केसी, प्रा. भोजराज अर्याल र सुजनराजा श्रेष्ठ सहितको प्रमुख निर्णायक समिति गठन गरिएको छ।


ताजा खबर