निम बहुउपयोगी जडीबुटी र २१औं शताव्दिको रुख

मध्यपहाड र तराईका विभिन्न जिल्लामा बहुउपयोगी जडीबुटी तथा गैरकाष्ठ वन पैदावार निम पाइने गर्छ।

निमलाई अङ्ग्रेजीमा मारगोसा ट्रि भनिन्छ र यसको वैज्ञानिक नाम अजाडिरक्टा इन्डिका हो। मेलिएसी वानस्पतिक परिवारमा पर्ने यो वनस्पति १५ देखि २० मिटरसम्म उचाइ हुने सदावहार रुख वर्गमा पर्दछ। बहुउद्देशीय बिरुवा निम धेरै पहिलेदेखि पहिचान भएको र समाजमा विभिन्न रोगको उपचारका लागि प्रयोग हुने गरेको छ।

यसको सबै भाग जरा, काण्ड, बोक्रा, पात, फूल र फल परापूर्वकालदेखि औषधिका रूपमा प्रयोग गरिँदै आएको छ। यसको महत्त्व  र बहुउपयोगका कारणले संयुक्त राष्ट्रसङ्घद्वारा निमलाई २१औँ शताब्दीको रुख घोषणा गरिएको छ।

निमका २० देखि ४० सेन्टिमिटर आकारका पिन्नेट पात हुन्छन्। भारत र म्यानमार उद्गमस्थल रहेको निम उष्ण जलवायु भएका नेपाल, अस्ट्रेलिया, अफ्रिका, इन्डोनेसिया, बङ्गलादेश, थाइल्यान्ड, सुडान फिजी, हैटी तथा दक्षिण अमेरिकी देशमा पाइन्छ। समुद्र सतहदेखि नौ सय मिटर उचाइसम्म धेरै घाम लाग्ने ठाउँमा निम पाइने गर्छ। नेपालको तराई तथा मध्य पहाडी क्षेत्र अर्थात् तातो हावापानी भएको ठाउँमा निम निकै सप्रिने गरेको छ।

निममा विभिन्न किसिमको माटोमा हुर्कन सक्ने गुण हुन्छ। यो बिरुवा चिस्यान, सुक्खा ठाउँ, ढुङ्गा मिसिएको माटोमा तथा पीएच १० सम्म भएको माटोमा राम्रोसँग सप्रन सक्छ। यसले जमिनको उर्वरशक्ति बढाउनुका साथै जमिनमा चिस्यान कायम राख्दछ। यसको जरा जमिनभित्र धेरै तलसम्म जाने र आफूलाई चाहिने पानी लिन सक्ने भएको हुँदा सुक्खा ठाउँमा यो राम्रोसँग हुर्किन्छ।

निमको खेती गर्दा बीउबाट बिरुवा तयार गरी रोप्ने प्रचलन रहेको छ। रुखमा पाकेर हरियो/पहेँलो भएका बीउ सङ्कलन गरी केही घण्टा पानीमा भिजाएर बाहिरको गुदी फालेपछि प्राप्त बीउलाई तीन दिनदेखि पाँच दिनभित्र नर्सरीमा राखिसक्नु पर्दछ। साथै यसको प्रसारण गर्दा बिरुवालाई असर नपर्ने गरी साना साना बाहिरी जरा काटेर जराको कलमीबाट तथा काण्डबाट पनि बिरुवा उत्पादन गर्न सकिन्छ।

सोझै बीउ छरेर निम खेती गर्ने प्रचलन पनि रहेको छ तर सबैभन्दा सफल तरिका भनेको नर्सरीमा बिरुवा उमारी खेती गर्नु नै हो। निम रोपेको वर्ष दुई पटक र दोस्रो वर्ष एक पटक गोड्नु आवश्यक हुन्छ। सुक्खा ठाउँमा रोपिएका बिरुवालाई केही वर्षसम्म आवश्यकताअनुसार सिँचाइ पनि गर्नुपर्दछ।

निमले रोपेको पाँच वर्षदेखि फल दिन सुरु गर्दछ। एउटा छिप्पिएको रुखबाट सरदर तीन सय ५० किलोग्राम पात र ५० किलोग्रामसम्म फल उत्पादन हुने गर्दछ। निमको सम्पूर्ण भाग औषधिका रूपमा प्रयोग गर्न सकिन्छ। यसका पातमा क्याल्सियम, म्याग्नेसियम, फलाम, फस्फोरस, प्रोटिन, भिटामिन ए आदिका साथै एजाडिटिन, क्वारेसेटिन, नोमिसिनल आदि क्षाराभ पाइन्छन्। यसका पातबाट आँखा, मिर्गौला, छालासम्बन्धी रोगमा प्रयोग गरिने औषधि बनाइन्छ भने पेटको जुका बाहिर निकाल्न, कमलपित्त तथा घाउ खटिरा आदि निको पार्न, साबुन बनाउन पनि प्रयोग गरिन्छ।

यसको मुख्य काण्डको बोक्रा ज्वरो, बान्ता आउने, छालाको रोगको साथै बिच्छी र सर्पले टोक्दा प्रयोग गरिने औषधि बनाउन प्रयोग हुने गरेको छ। साथै निममा १० प्रजातिका कीरा मार्ने गुण भएकाले जैविक कीटनाशक औषधि बनाउन यसको उपयोग हुने गरेको छ।

तरकारी, फलफुल आदिका बिरुवामा हानिकारक कीरा तथा रोग आदि निवारण गर्न कीटनाशक औषधिका रूपमा पनि निमको प्रयोग गरिन्छ।


ताजा खबर