काङ्ग्रेसले देखेका सरकारका ‘असफलता’

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मङ्गलवार एउटा पत्रकार सम्मेलन गरेर वर्तमान सरकार ‘असफल’ बनेको आरोप लगाएको छ।

उप-निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन लक्षित प्रचारप्रसारका सामग्रीहरू सार्वजनिक गर्ने क्रममा उसले “गएको २१ महिनामा सरकार असफल भएका २१ वटा बुँदाहरू” सार्वजनिक गर्दै सरकारप्रति विभिन्न आरोप पनि लगाएको छ।

झण्डै दुई तिहाई बहुमतका साथ वर्तमान सरकार गठन भएको बुधवार २१ महिना पूरा हुँदैछ।

प्रतिपक्षी काङ्ग्रेसले “आगामी उप-निर्वाचन सरकार बदल्ने नभए पनि सरकारको शैली परिवर्तन गर्न भूमिका खेल्ने” निर्वाचन भएको भन्दै “असफलताका बुँदाहरू” सार्वजनिक गरेको हो।

उक्त पत्रकार सम्मेलनमा बोल्दै काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मतदाताले अपेक्षा गरेअनुसार अहिलेको सरकारले काम गर्न नसकेको आरोप लगाए।

उनले प्रमुख प्रतिपक्षीका रूपमा काङ्ग्रेसको भूमिका भने सफल रहेको दाबी गरे।

उनले सरकारले कालापानी विवाद सुल्झाउनका निम्ति राजनीतिक तथा कूटनीतिक पहल गरेर भूमि फिर्ता गराउन विफल भएको आरोप लगाए।

काङ्ग्रेसले सरकार असफल बनेको भन्दै सार्वजनिक गरेका २१ बुँदाहरू:

  • राष्ट्रियताका मामिलामा वर्तमान सरकार असफल बनेको काङ्ग्रेसको आरोप छ। उसले प्रतिपक्षले साथ दिएका बेला पनि कालोपानी, लिपुलेक र लिम्पियाधुराको विवाद सुल्झाउन सरकारले कुनै पनि कूटनीतिक पहल गर्न नसकेको जनाएको छ। पहिले आफ्नो पालामा देशभित्रै अस्थिरता रहेकाले यो मुद्दामा काङ्ग्रेसले केही गर्न नसकेको तर अहिले सरकारले समेत प्रतिपक्षको जस्तो सञ्चार खपतका लागि प्रतिक्रिया दिएर बसेको काङ्ग्रेसको आरोप छ।
  • काङ्ग्रेसले सरकारले संविधानको दायरा बढाउन असफल भएको आरोप लगाएको छ। अहिलेको सरकारले मधेसवादीहरूसँग संविधान संसोधनको प्रतिबद्धता गरेर त्यो पनि नगरेको काङ्ग्रेसले बताएको छ। त्यसले संविधानप्रतिको अपनत्व खुम्चिएको उसको बुझाइ छ।
  • काङ्ग्रेसले सत्ताको सैद्धान्तिक चरित्र निर्मणमा सरकार असफल बनेको आरोप लगाएको छ। पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले यो सरकारले सत्ताको चरित्र नै निर्माण गर्न नसकेको आरोप लगाएका हुन्।
  • संविधानको बाँकी काम गर्न पनि सरकार सफल हुन नसकेको काङ्ग्रेको आरोप छ। उसले संघीयता कार्यान्वयनलगायतका कुरामा संविधानको थप कामहरू सरकारले नगरेको आरोप लगाएको हो।
  • नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई नियन्त्रण गर्न वा राजनीतिक तवरबाट उक्त समस्या समाधान गर्न पनि सरकार असफल भएको काङ्ग्रेसले आरोप लगाएको छ।
  • कूटनीतिकमा पनि सरकार असफल भएको काङ्ग्रेसको दाबी छ। प्रवक्ता शर्माले कूटनीतिक हिसाबले गएको २१ महिनामा सरकार कुनै पनि ढङ्गले सफल हुन नसकेको आरोप लगाए।
नेपाली काङ्ग्रेस
  • प्रतिपक्षी काङ्ग्रेसले सरकारको अर्को असफलताका रूपमा शान्तिसुरक्षालाई औल्याएको छ। विभिन्न क्षेत्रमा भएका हत्या, बलात्कारलगायतका अपराधहरूको उदाहरण दिँदै उसले मुलुकमा शान्ति सुरक्षा दिन सरकार असफल भएको दाबी गरेको हो।
  • गएको २१ महिनामा सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको काङ्ग्रेसको मूल्याङ्कन छ। उनसले मूल्यवृद्धि सगरमाथाको उचाइमा पुगेको दाबी गरेको छ।
  • त्यस्तै सरकारले विभिन्न क्षेत्रमा भएका भ्रष्ट्राचाराको नियन्त्रण पनि गर्न नसकेको काङ्ग्रेसले आरोप लगाएको छ। उसले नेपाल वायु सेवा निगमको वाईडबढी जहाज खरिदमा भएको भनिएको भ्रष्ट्राचारलाई अनुसन्धान गर्ने निकाय हुँदाहुँदै त्यसलाई ढाकछोप गर्न खोजिएको दाबी गरेको छ।
  • स्वदेशी लगानीमा नै जलाशययुक्त बूढी गण्डकी आयोजना बनाउने भनिएको सरकारी योजनामा पनि सरकार असफल भएको काङ्ग्रेसको ठहर छ। उसले पेट्रोलियम पदार्थबाट उपभोक्तासँग उठाइएको रकम जम्मा गरेर अन्त्यमा उक्त आयोजना चिनियाँ कम्पनीलाई दिएर “राष्ट्रघात” गरेको आरोप लगाएको छ।
  • आफ्नो पालामै ९० प्रतिशत निर्माण सम्पन्न गरेर १० प्रतिशत मात्र काम बाँकी राखिएको मेलम्ची आयोजना सम्पन्न गर्न नसकेको आरोप पनि काङ्ग्रेसको छ। अहिलेको सरकारले विभिन्न लोभ लालचमा मेलम्चीमा ढिलाइ गरेको उसको दाबी छ।
  • बाराको निजगढमा निर्माण गरिने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको योजना अघि बढाउन पनि सरकार असफल भएको काङ्ग्रेसको दाबी छ। उसले त्यसका लागि त्यहाँ ठूलो सङ्ख्यामा रूखहरू काट्न लागिएको र विवाद सिर्जना भएको आरोप लगाएको छ। त्यसलाई समाधान गर्न सरकार सफल हुन नसकेको काङ्ग्रेसले जनाएको छ।
  • चिकित्सा शिक्षा क्षेत्रमा देखिएको विकृतिलाई सरकारले हल गर्न नसकेको काङ्ग्रेसको ठहर छ। उसले डा. गोविन्द केसीका मागहरू सम्बोधन नभएको र अझै पनि अभिभावकहरू सरकारले तोकेको भन्दा बढी शुल्क तिर्न बाध्य भएको आरोप लगाएको छ।
नेपाली काङ्ग्रेस
  • प्रमुख प्रतिपक्षी दलका नेता समेत सदस्य रहने संवैधानिक परिषद् सरकारको नियतका कारणले असफल जस्तै बनेको काङ्ग्रेस प्रवक्ता शर्माले बताए। उनले सरकार परिषद्लाई असफल बनाउने दिशामा अघि बढेको दाबी गरे।
  • प्रमुख प्रतिपक्षी काङ्ग्रेसले सरकारले शब्दमा प्रेस स्वतन्त्रता भने पनि व्यवहारमा निरंकुशता देखाएको आरोप लगाएको छ। उसले सञ्चारमाध्यमको शिरमा तरबार झुन्ड्याउने काम भएको दाबी गरेको छ।
  • धर्मका नाममा सरकारको चरित्र पनि फरक देखिएको काङ्ग्रेसको आरोप छ। उसले ‘होली वाइन प्रकरण’ सम्झाउँदै सरकारप्रति प्रश्न उठाएको हो।
  • गुठीलाई व्यवस्थित गर्ने नाममा सरकारले नेपाको धर्म र संस्कृतिमाथि प्रहार गरेको र त्यसले गर्दा असफल बनेको काङ्ग्रेसले दाबी गरेको छ।
  • सामाजिक सुरक्षा कोष आफ्नै पालामा स्थापना भएको भए पनि वर्तमान सरकारले त्यसको जस लिन खोजेको काङ्ग्रेसको आरोप छ। उसले सामाजिक सुरक्षाका हकमा सरकारले जनतालाई ढाटेको दबी गरेको हो।
नेपाली काङ्ग्रेस
  • बालुवाटारमा सरकारी जग्गालाई व्यक्तिका नाममा लगिएको भनिएको प्रकरणमा पनि सरकार विफल भएको शर्माले बताए। त्यसमा अनावश्यक रूपमा काङ्ग्रेलाई पनि जोडिएको उनको तर्क छ। त्यसलाई पनि काङ्ग्रेसले सरकारी असफलताका रूपमा देखाएको छ।
  • यो सरकार बनेपछि सेयर बजार ओरालो लागेको काङ्ग्रेसले आरोप लगाएको छ। अर्थतन्त्रको गति नाप्ने भनिएको सेयर बजार नै ओरालो लाग्नुलाई उसले सरकारी असफलता भनेको छ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कहिले “जाइलाग्नु” त कहिले “अरिङ्गाल बन्नु” भन्ने अभिव्यक्ति दिएको भन्दै काङ्ग्रेसले सरकारले राजनीतिक सहिष्णुता नदेखाएको आरोप लगाएको छ। त्यसलाई पनि उसले सरकारको असफलता मानेको छ।

काङ्ग्रेसले सरकार असफल भएको भन्दै लगाएको आरोपलाई सरकारी अधिकारीहरूले भने खण्डन गरेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कालापानीको विवादबारे सरकारले सबैको कुराहरू पनि सुनेर कूटनीतिक पहल गर्न सरकार लागि परेको बताए।

उनले काङ्ग्रेसले लगाएका आरोपहरू “तथ्यहीन” भएको बताए।

उनले भने, “सरकारले गरेका राम्रा कामहरूबाट जनताको र दुनियाँको ध्यान अन्यत्र मोड्ने गरि एउटा भ्रमको पुलिन्दाको रूपमा त्यो आएको छ।”

बीबीसी


ताजा खबर