पृथ्वीमा अन्तरिक्षमा आधारित सौर्य ऊर्जाको प्रयोग

कुनै दिन पृथ्वीमा हामीले अन्तरिक्षमा उत्पादन गरेको बिजुली प्रयोग गर्न पाउने छौँ। यसको सैद्धान्तिक पक्ष स्पष्ट छ र अन्तरिक्षमा बिजुली उत्पादन गर्न सकिन्छ, त्यो पनि तुलनात्मक रूपमा यहाँको भन्दा धेरै। मुख्य समस्या भनेको पृथ्वीसम्म बिजुली ल्याउनुमा छ।

सौर्य ऊर्जाबाट उत्पादन गरेको बिजुली पृथ्वीमा पठाउने दौडमा वैज्ञानिक छन्। वैज्ञानिकका अनुसार विश्वमा अहिले देखिएको ऊर्जा सङ्कट समाधानको उत्तम विकल्प अन्तरिक्ष ऊर्जा नै हो। यो कुनै काल्पनिक कुरा होइन, यस विषयमा विश्वका वैज्ञानिक दिनरात लागिपरेका छन्। उनीहरूको दाबीअनुसार भविष्यमा हामी अन्तरिक्षको बिजुली प्रयोग गर्न पाउने छौँ।

यो विषय पहिलो पटक सुन्दा नयाँ र अचम्म लाग्न सक्छ तर यो नयाँ विषय भने होइन। यस प्रकारका वैज्ञानिक अनुसन्धान सन् १९७० को दशकदेखि विश्वमा भइरहेको छ। अन्तरिक्षबाट पृथ्वीमा ऊर्जा पठाउन सकिन्छ भन्ने दौडमा जापान, चीन, रुस, भारत, बेलायत, अमेरिका लगायत विश्वका विकसित मुलुक छन्।

सन् २००८ मा जापानले एक आधारभूत अन्तरिक्ष कानुन पारित गरेको थियो। जसले अन्तरिक्ष सौर्य ऊर्जालाई राष्ट्रिय लक्ष्यका रूपमा स्थापित ग-यो। यस्तै सन् २०१५ मा चाइना एकेडेमी फर स्पेस टेक्नोलोजी (कास्ट)ले अन्तर्राष्ट्रिय अन्तरिक्ष विकास सम्मेलनमा अन्तरिक्ष ऊर्जासम्बन्धी आफ्नो मार्गचित्र प्रस्तुत गरेको थियो। सन् २०२२ मा चीन र बेलायतले स्पेस स्टेसनका लागि सौर्य ऊर्जा प्लान्ट परीक्षणको प्रक्षेपण गर्ने घोषणा गरेका छन्। यी दुई विकसित राष्ट्रले अन्तरिक्षमा सौर्य ऊर्जा प्लान्ट परीक्षणको प्रक्षेपण गर्ने घोषणा गरेसँगै पुनः अन्तरिक्षमा सौर्य ऊर्जा उत्पादन गर्ने र त्यसरी उत्पादित बिजुली पृथ्वीमा पठाउने विषय (स्पेस बेस्ड सोलार पावर–एसबीएसपी)को चर्चा चुलिएको छ।

बाह्य अन्तरिक्षबाट सौर्य ऊर्जा सङ्कलन गरी पृथ्वीमा पठाउने गृहकार्यमा लागेको बेलायतले अन्तरिक्षमा सौर्य ऊर्जा केन्द्र निर्माणका लागि १६ अर्ब पाउन्ड प्रस्ताव गरेको छ। बेलायतले सन् २०३५ सम्ममा अन्तरिक्षमा सोलार पावर प्लान्ट निर्माण सम्पन्न गर्ने योजनामा काम गरिरहेको छ।

बेलायत सरकारका अनुसार अन्तरिक्षमा आधारित सौर्य ऊर्जा सरकारको नेट जिरो इनोभेसन पोर्टफोलियोमा समावेश हुने प्रविधिमध्ये एक हो। यो एक सम्भावित ऊर्जा समाधानका रूपमा पहिचान गरिएको र बेलायतलाई सन् २०५० सम्म नेट शून्य प्राप्त गर्न सक्षम बनाउने छ।

यस्तै चीनले पनि हालसालै स्पेस स्टेसनका लागि सौर्य ऊर्जा प्लान्ट परीक्षणको प्रक्षेपण गर्ने घोषणा गरेको छ। यो महत्त्वाकाङ्क्षी परियोजना चार चरणमा पूरा हुनेछ। जसमध्ये पहिलो चरणको काम सन् २०२८ मा सुरु गरिनेछ। यो परियोजना पूरा भएसँगै अन्तरिक्षबाट पृथ्वीमा सजिलै बिजुली पठाउन सकिने दाबी चीनको छ। यसका लागि चीनले पृथ्वीको सतहबाट चार सय किलोमिटरमाथि वायरलेस पावर ट्रान्समिसन विधि प्रयोग गर्नेछ।

सन् २०५० सम्ममा चीनको यो परियोजना पूर्ण रूपमा सम्पन्न हुने र दुई गिगावाट बिजुली उत्पादन हुनेछ। चाइना एकेडेमी फर स्पेस टेक्नोलोजी (कास्ट)को अन्तरिक्षबाट पृथ्वीमा बिजुली पठाउने परियोजनाको ‘रेट्रो डाइरेक्टिभ माइक्रो वेभ पावर विम स्टेरिङ टेक्नोलोजी अफ स्पेस सोलार पावर स्टेसन’ विषयक शोधपत्र चाइनिज स्पेस साइन्स एन्ड टेक्नोलोजी जर्नलमा छापिएको छ।

त्यसो त दुई दशकअघि नासाले यस्तै प्रकारको ऊर्जा उत्पादन गर्ने परियोजना प्रस्ताव गरेको थियो। तर यस विषयमा काम हुन सकेन। जुन परियोजनालाई अहिले चीन र बेलायतलगायतका अन्य विकसित मुलुक मूर्त रूप दिने प्रयासमा जुटेका छन्। यस्तो ऊर्जा उत्पादन हुन थाल्यो भने अहिले विश्वमा देखिएको ऊर्जा र इन्धन सङ्कटको समाधानका लागि यो वरदान साबित हुनेछ।

अन्तरिक्षमा आधारित सौर्य ऊर्जा के हो ?

अन्तरिक्षमा आधारित सौर्य ऊर्जा (एसबीएसपी, एसएसपी) सोलार पावर स्याटेलाइट (एसपीएस) मार्फत बाह्य अन्तरिक्षमा सौर्य ऊर्जा सङ्कलन गरी पृथ्वीमा वितरण गर्ने अवधारणा हो। सूर्यका किरण बाह्य अन्तरिक्षमा सधैँ प्रवाहित भइरहेका हुन्छन्, तिनमा छेकबार हुँदैन। पृथ्वीमा जस्तो दिउँसो घाम लाग्ने राति अँध्यारो हुने अवस्था नहुने भएकाले अन्तरिक्षमा चौबीसै घण्टा सौर्य किरणबाट बिजुली उत्पादन गर्न सकिन्छ। ती किरणको प्रचण्डता यहाँको भन्दा निकै धेरै पनि हुन्छ।

अन्तरिक्षमा जडित सौर्य ऊर्जा प्रणालीले सूर्यको प्रकाश ऊर्जालाई माइक्रोवेभ तथा लेजरमा परिणत गर्नेछ। त्यसपछि ऊर्जा तरङ्गलाई पृथ्वीमा पठाइने छ। यो विधि नै अन्तरिक्षमा आधारित सौर्य ऊर्जा हो।

के यो सम्भव छ भन्ने प्रश्नमा वैज्ञानिकले अन्तरिक्षमा आधारित सौर्य ऊर्जा प्राविधिक रूपमा सम्भव भएको बताउँछन्। यो कुरा सम्भव छ भन्नुका पछाडि विकास भएका नवीन प्रविधि नै हुन्। पहिलो कुरा त हलुका सोलार सेल नै प्रमुख कारण हुन्। अरू कुरा हुन् वायरलेस पावर ट्रान्समिसन र स्पेस रोबोटिक्स। – रोयटर्स


ताजा खबर