‘मङ्सिर ४ गते निर्वाचन गर्न आयोग तयार छ’

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि तयार रहेको जनाएको छ ।

आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढङ्गमा सम्पन्न गर्न आयोगले आन्तरिक तयारी गरिरहेको र थप काम तत्कालै सुरु गर्ने बताउनुभयो ।

आयोगलाई निर्वाचन गराउन सामान्यतः १२० दिन समय लाग्ने भए पनि सरकारले घोषणा गरेको मितिले १०७ दिनको समयावधि आयोगलाई उपलब्ध र सय अवधिकै कारण आयोगलाई कुनै अप्ठेरो नरहेको बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले वर्तमान प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरूको पदावधि आगामी मङ्सिर २१ गतेसम्म कायम रहने गरी सरकारलाई लेखी पठाएको जानकारी गराउनुभयो ।

निर्वाचनमा छुट्टाछुट्टै मतपत्र र छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिने प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता नामावली सङ्कलन कार्य भोलिदेखि स्थगित हुने जानकारी दिनुभयो ।

निर्वाचनका लागि आवश्यक जनशक्ति र बजेट व्यवस्थाका लागि आयोगले यथाशक्य सरकारलाई योजना पठाइने तयारी गरेको प्रवक्ता पौडेलले बताउनुभयो ।

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोगले सबै पक्षबाट सहयोगका लागि आग्रह गरेको छ ।

निर्वाचन आयोगको पत्रकार सम्मेलन (भिडियो )

 


ताजा खबर