ऋषि व्यासको प्रश्न र भगवान गणेशजीको शर्त

~मुकुन्द प्रसाद दहाल

भगवान व्यास महर्षि परासरका किर्तिमान पुत्र थिए । चारै वेदहरुलाई क्रमबद्ध गरेर तिनको संकलन गर्ने श्रेय यिनलाई नै मिलेको छ । पवित्र ग्रन्थ महाभारत भगवान व्यासको नै देन हो ।

हुन त महाभारत व्यासले रचना गरेको साहित्य हो वा कुनै समयको घटित घतनाको आधारमा लेखिएको पुस्तक हो त्यो अहिले खोजि र बहसको विषय बनेको छ ।

महाभारतको कथा व्यासजिको मानसपटलमा अङ्कित भइसकेको थियो । तर उनलाई यो कथा संसारलाई कसरी दिने हो भन्ने चिन्ता पर्न गयो । यसप्रकार सोच गर्दागर्दै उनले ब्रह्माको ध्यान गरे । ब्रह्मा प्रत्यक्ष हुनु भयो । व्यासजिले उहाँलाई ढोग गर्नुभयो र हात जोडेर विन्ती गर्नुभयो–

भगवान ! एउटा महान ग्रन्थको रचना मेरो मानस पटलमा हुन गएको छ । अब चिन्ता यस कुराको भइरहेछ, यसलाई कसले लेखिदेला ?

यो सुनेर ब्रह्मा बहुतै प्रशन्न हुनुभयो । उहाँले व्यासजिको ज्यादै प्रसंसा गर्नु भयो र भन्नुभयो– हेर छोरा ! तिमीले गणेशजिलाई प्रसन्न गर । उनै तिम्रो ग्रन्थलाई लेखिदिन समर्थ हुनेछन् ।

यति भनेर ब्रह्मा जी अन्तर्ध्यान हुनुभयो । महर्षि व्यासले गणेशजीको ध्यान गरे । प्रसन्न भएर गणेशजी व्यासजीका सामु प्रकट हुनु भयो । महर्षिले उनको विधिबत् पूजा गरे र उनलाई प्रसन्न मुद्रामा देखेर भने–

हे गणेश, एउटा महान ग्रन्थको रचना मेरो मगजले गरेको छ । तपाइ सँग मेरो प्रार्थना छ यसलाई लिपिबद्ध गरिदिने कृपा गर्नुहवस् ।

गणेशजीले व्यासजिको प्रार्थना स्वीकार त गरे, तर गणेश भन्दछन्– तपाइको ग्रन्थ लेख्न म तयार छु, तर मेरो एउटा शर्त छ, त्यो के हो भने मैले लेख्न थालेपछि फेरी मेरो लेखनी एकछिन पनी रोकिनु हुन्न ।

यदि लेखाउदा लेखाउदै अलिकता पनि थामिनु भयो भने मेरो लेखनि पनि रोकिन जान्छ र फेरी अगाढी बढ्दैन । के यो तपाईबाट हुन सक्ला र गणेश जी को शर्त अलि कठिन थियो तापनि व्यासजीले तुरुन्त मान्नु भयो र भन्नु भयो–

तपाइको शर्त मलाइ मंजुर छ । तर विध्नहरण मेरोपनि एक शर्त छ ! त्यो के हो भने लेख्न थालेपछि प्रत्यक श्लोक को अर्थ ठीक–ठिक बुझेर मात्र लेख्नु होला ।

व्यासजीको यो कुरा सुनेर गणेशजी हाँस्न थाल्नु भयो । भन्नु भयो–तथास्थु ! यसपछि व्यासजी र गणेशजी आमुन्ने सामुन्ने भएर बसे । व्यासजी भन्दै जानु हुन्थ्यो गणेश जी लेख्दै जानुहुन्थ्यो । गणेश जि को लेख्ने गति छिटो थियो, त्यसकारण व्यासजीले विच विचमा श्लोकहरु जटिल गरिदिने हुँदा गणेशजीलाई बुझन केही बेर लाग्यो र उनको लेखपनि केहीवेर रोकीन्थ्यो । यसै अवधिमा भित्र यता व्यासजिले अरु कयौ श्लोकहरुको मनमनै रचना गरिहाल्थे । यस प्रकार महाभारको कथा व्यासजीको ओजपूर्ण बाणीद्वारा प्रवाहीत भयो । र गणेशजीको अथक लेखनिद्वारा लिपीमा परिणत भयो । दुई जना मिलेर यसरी बढो मेहनत र लगाव पूर्वक महाभारतलाई लिपिबद्ध गर्ने कार्य सम्पन्न भयो ।

ग्रन्थ तयार भएपछि, अब व्यासजीको मनमा त्यसलाई सुरक्षीत राख्ने र प्रचार गर्ने कुराको प्रश्न उठ्यो । ति दिनहरुमा छापाखानाहरु थिएनन अर्को एउटा ग्रन्थ तयार गर्न पहिलो लाई जत्तिकै मेहनत गरेर लेख्नु पर्दथ्यो जुन साहै कठिन थियो । मानिसहरु यस्ता ग्रन्थलाई कण्ठस्थ गर्ने र त्यसलाई स्मरण शक्ति द्वारा त्यसको सुरक्षा गर्थे । व्यासजिले पनि त्यहि अभिप्रायले महाभारतको गणेश जि ले लिपिबद्ध गर्नुभएको कथा सवैभन्दा पहिले आफ्ना पुत्र शुकदेवलाई कष्ठस्थल गराए र पछि आफ्ना शिष्यहरुलाई पनि कष्ठस्थ गराए ।

देवताहरुलाई नारदमुनिले महाभारतको कथा सुनाएका थिए । यो कथा सुकदेव जिले गन्धर्वहरु, राक्षसहरु तथा यक्षहरुमा प्रचार गरेका थिए । मानव जातीमा महाभारको कथाको प्रसार महर्षि बैसम्पायनद्वारा भएको थियो भन्ने पौराणिक धार्मिक ग्रन्थहरु र अभिलेखहरु बाट प्रष्ट हुदै आएको छ । बैसम्पायन व्यासजिका मुख्य शिष्य थिए । उनि वडा विद्ववान र धर्मनिष्ट थिए ।
महाराज परिक्षितका छोरा जनमेजयले एक महान यज्ञ गरे त्यसमा उनले बैसम्पायनलाई महाभारको कथा भन्ने अनुरोध गरे । र उनले महाराजको प्रार्थना स्वीकार गर्दै विस्तार पूर्वक महाभारतको कथा सुनाइ दिएका थिए ।

यस महायज्ञमा सुप्रसिद्ध पौराणिक सुतजी पनि उपस्थित थिए । महाभारको कथा सुनेर उनि अत्यन्तै प्रभावित भए । भगवान व्यासको यस महाकाव्यद्वारा मनुष्य मात्रको लाभ पुर्‍याउन सक्छ भन्ने विचार उनमा जागृत भयो । उनले नौमिषाख्याममा सम्पूर्ण ऋषिहरुको सभा गराए । महर्षि शौनक सभाका अध्यक्ष भए ।

महाराज जनमेजयको नाग यज्ञको अवसरमा बैसम्पाएनले व्यास जीको आज्ञापाएर त्यो कथा सुनाएका थिए । यो पवित्र कथा मैले सुनेर तीर्थाटन गर्दै कुरुक्षनेत्रको युद्ध भूमि पनि गएर हेरे । सुतजीले ऋषिहरुको सभामा महाभारतको कथा भन्न थाल्नुभयो ।
महाराज सन्तनु पछि उनका पुत्र चित्राङ्द हस्तीनापुरको गद्दिमा बसे । उनको अकाल मृत्यु भैदिनाले भाइ विचित्रविर्य राजा भए । तिनका दुइछोरा थिए धृतराष्ट्र र पाण्डु । जेठा छोरा जन्मैदेखि अन्धा थिए त्यसै कारण पाण्डुलाई गद्दिमा राखियो । पाण्डुले धेरै वर्ष राज्य गरे । उनका दुइ रानीहरु थिए । कुन्ति र माद्री । आफ्नो कुनै अपराधको प्रायश्चित गर्नको लागि तपस्या गर्न पाण्डु जंगल तर्फ गए दुई रानी पनि साथ गएका थिए । वनवासकै समयमा कुन्ति र माद्रीले पाँच पाण्डवलाई जन्म दिए । केही समयपछि पाण्डुको पनि मुत्यु भयो । माद्रि सती गईन । पाँचै नावालकहरुको जिम्मेबारी कुन्तिले लिएकी थिइन पालन पोषण शिक्षा दिक्षा आदी तपस्वि ऋषि मुनिहरुले पाँचै कुमारलाई हस्तिनापुर लगेर भिष्म पिताम्महको जिम्मा लगाईदिए ।

पाँँचै जना पाण्डवहरु बुद्धिमा तेज र शरीरले बलिया थिए । बालकै अवस्थामा यिनले वेद वेदाङ्ग लगायत सारा शास्त्रहरुको अध्ययन गरि सकेका थिए । क्षत्रियोचित शस्त्र विद्याहरुमा पनि उनिहरु निपुर्ण भई गएका थिए । तेज बुद्धि र मधुर स्वभावले गर्दा सबै मोहित हुन्थे । यो देखेर धृतराष्ट्रका छोरा कौरवहरु पाण्डवहरुसँग डाहा गर्न थाले र तरह तरहका दु:ख पाण्डवहरुलाई दिन लागे ।

दिनदिनै कौरवहरु र पाण्डवहरुका बीच बैमनस्य बढ्दै गयो । अन्त्यमा पिताम्मह भीष्मले दुवैलाई कुनै किसिमबाट सम्झाएर उनीहरुका विचमा सन्धि गराए । भिष्मका आदेशानुसार कुरु राज्यको दूइ भाग गरियो । कौरब हस्तिनापुरमै राज्य गरेर बसे र पाण्डवहरुलाई एउटा छुट्टै राज्य दिइयो, जो पछि गएर इन्द्रप्रस्तको नाउँबाट प्रसिद्ध भयो । यसप्रकार केही दिन शान्ति हुन गयो ।
ति दिनहरुमा राजहरुका विच पासा खेल्ने चलन थियो । पासामा राज्य सम्मको हानाथाप हुन्थ्यो । चलन अनुसार एक पटक पाण्डव र कौरवले पासा खेले । कौरवहरुको तर्फबाट कुटिल शकुनिले खेल्यो । उसले धर्मात्मा युधिष्ठिरलाई हराइदियो । फलस्वरुप पाण्डवहरुको राज्य खोसियो र तेह्र वर्षको बनवास भोग्नु पर्‍यो । त्यसमा एउटा सर्त पनि थियो की बाह्रवर्षको बनवास पछि एक वर्ष गुप्तवास गर्नुपर्ने । त्यसपछि मात्रै उनिहरुको राज्य फिर्ता गरिने ।

द्रौपदीका साथ पाँचै पाण्डवहरु बाह्र वर्ष बनवास र एक वर्ष गुप्तवास विताएर फिर्ता आए । तर लोभी दुर्योधनले लिएको राज्य फिर्ता गर्न मंजुर गरेन । त्यसै कारणले पाण्डवहरुले आफ्नो राज्यका लागि युद्ध गर्नुपर्‍यो । युद्धमा सारा कौरवहरु मारिए, त्यसपछि पाण्डव त्यो विसाल साम्राज्यको स्वामी हुन पाए । यसपछि ३६ वर्ष सम्म पाण्डवहरुले राज्य गरे । पछि आफ्नो पनाती परीक्षितलाई राज्य दिएर द्रौपदिका साथ तपस्या गर्न हिमालय पर्वत तीर गए । संक्षेपमा यहि नै महाभारतको कथा हो ।

महाभारतको गणना भारतीय साहित्य भण्डारको सर्वश्रेष्ठ महाग्रन्थहरुमा गनिएको छ । यसमा पाण्डव कौरवहरुका कथाका साथै अनेक उपकथाहरु छन् । विच विचमा श्लोकहरु र उपदेशहरुको उज्जवल रत्नहरु जडिएका छन् । महाभारत एक विशाल महासागरको अनमोल मोती र रत्न भरिएका छन् । रामायाण र महाभारलाई भारतीय संस्कृति र धार्मिक विचारको मूल श्रोत मान्ने गरिन्छ ।
सफल नेपाल साप्ताहिक साउन १९ गतेको अंकबाट


ताजा खबर