बयालपाटा अस्पतालमा बजेट अभाव हुन नदिने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री शेरबहादुर देउवाले अछाम जिल्लामा रहेको बयालपाटा अस्पतालमा बजेटको अभाव हुन नदिने बताउनुभएको छ ।

बयालपाटा अस्पतालको निरन्तरताका लागि सरोकारवालाले विभिन्न पक्षसँग आग्रह गर्दै आएका छन्  र सोही क्रममा प्रधानमन्त्री देउवासँग भेट हुँदा उहाँले सो कुरा बताउनुभएको हो ।

बालुवाटारमा पुगेर बयालपाटा अस्पताल सरोकार समितिका संयोजक तथा साँफेबगर नगरपालिका मेयर राजेन्द्र बहादुर कुँवर नेतृत्वको टोलीले अस्पतालको अवस्थाको बारेमा जानकारी गराउँदा प्रधानमन्त्री देउवाले बजेट अभावमा नमुना अस्पतालको रुपमा रहेको बयालपाटा अस्पतालले दिँदै आएको गुणस्तरीय स्वास्थ्य सेवा खस्किन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

टोलीमा सहभागी नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काले बयालपाटा अस्पतालले अछाम लगायत छिमेकी जिल्लालाई समेत सेवा दिँदै आएकोले अस्पतालको आर्थिक संकट समाधान गरिदिन आग्रह गर्नुभयो ।

पूर्व जिविस सभापति भरत कुमार स्वाँरले अस्पतालका लागि बजेट बढ्नुको साटो प्रदेश सरकारबाट वर्षेनी घट्दै गएको भन्दै आवश्यक बजेट विनियोजनका लागि आग्रह गर्नुभएको छ ।

दुर्गम क्षेत्रमा रहेर पनि अछाम सहित छिमेकी जिल्लाका स्थानीयलाई निःशुल्क विशेषज्ञ सेवा दिइरहेको अस्पतालको दिगोपनाका लागि आवश्यक बजेट व्यवस्थापनका लागि विभिन्न पक्षसँग हारगुहार भइरहेको हो ।

साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र बहादुर कुँवर सहित जिल्लाका सरोकारवालाले हालै प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीका साथै प्रधानमन्त्रीसम्मलाई भेटेर अस्पताल सञ्चालनका बारेमा अवगत गराइरहेका छन् ।

प्रदेश सरकार मातहत रहेको अस्पताललाई यो वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ४ करोड रुपैयाँ छुट्याएको छ । अस्पताल सञ्चालनका लागि वार्षिक करिब १५ करोड बढी आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री गोविन्द बोहरा, आर्थिक मामिला मन्त्री प्रकाश बहादुर रावल, राज्य मन्त्री अमर ब साउँदलाई अस्पतालको लागि आवश्यक पर्ने बजेट व्यवस्थापन गर्न आग्रह गरेको सरोकारवालाको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर समस्या राखेको हो ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चन्द्र बोहरा, मङ्गलसेन नगरप्रमुख पदम बोहरा, एमाले नेता प्रकाश शाह, अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकलगायतले अस्पतालको अवस्था र आवश्यकताबारे अवगत गराएका थिए ।

अस्पतालले गत आर्थिक वर्षमा यस क्षेत्रका ५६ हजार स्थानीयलाई सेवा दिएको जनाएको छ ।


ताजा खबर