नेपालमा वामपन्थी आन्दोलन : विकास कि विसर्जन ?

        भिमप्रसाद अधिकारी

सन १९९० को दशकमा सोभियत सत्ताको पतन भएपछि विस्व कम्युनिष्ट आन्दोलन स्वतह प्रतिरक्षात्मक अवस्थामा पुग्यो । विस्वमा पूँजीवादको एकछत्र हैकम कायम भयो । गरिब सर्वहारा मजदुर वर्गको आशा र भरोशाको केन्द्र ढल्यो । समाजवादी सत्ताको पतनसँगै शीतयुद्धको अन्त्य भयो र पूँजीवादले विस्वविजयको शंखनाद गर्‍यो । ठीक त्यहीबेलामा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेका लोकप्रिय नेता मदन कुमार भण्डारीले तमाम प्रतिकूलताका बाबजुद पनि साम्यवादको सान्दर्भिकता समाप्त भएको होइन, साम्यवादीहरुको जडसूत्रवादी सोच खराब भएको हो र नयाँ ढङ्गबाट कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सकिन्छ भनेर कम्युनिष्ट आन्दोलनलाई मार्गदर्शन प्रदान गरे र आज नेपालमा कम्युनिष्ट जनमत सबैभन्दा बलियो भएर उभिएको छ । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले विवाद र विभाजनका पीडाहरु झेल्दै २०३५ सालमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी माले र मनमोहन अधिकारीद्वारा नेतृत्व प्रदान गरिएको नेपाल कम्युनिष्ट पार्टी मार्कसवादीका बीचमा २०४७ सालमा एकता भई निमार्ण भएको नेपाल कम्युनिष्ट पार्टी एमाले नै देशको वामपन्थी धारको मुख्य संगठन भएकोमा कुनै विवाद छैन । यद्यपि, राज्यसत्ताको जन्म बन्दुकको नालबाट हुन्छ भन्ने सिद्धान्त बोकेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी र हालको ने क पा माओवादी केन्द्र नेपालले आफू मात्र कम्युनिष्ट पार्टी भएको जिकिर गर्दछ; तैपनि, यो पार्टीको क्रियापलाप जनयुद्धकालदेखि नै संकास्स्पद रहँदै आएको छ र यसले वामपन्थी आन्दोलनलाई विकास नगरेर विसर्जन गराउने खतरा बढेको छ । सत्तालाई केन्द्रमा राखेर हिँड्ने यो दलले वामपन्थी भूमिका बिर्सिएर सत्ताको भागबण्डा गरेर देशलाई गिजोल्ने नीति लिएको देखिन्छ । नेतृत्वका कैयौं कमी कमजोरी त्रुटी भुल गल्ती अकर्मण्यताका बीचमा पनि नेपालमा कम्युनिष्ट पार्टी एमाले नै यो देशको बामपन्थी विचारधारा बोक्ने जनविस्वास जित्न सफल भएको पार्टी हो । यसको भविस्य अझै पनि उज्ज्वल छ । दुनियाँभरका पूँजीवादपन्थीहरुको टाउको दुखाइको कारण नै नेपाल कम्युनिष्ट पार्टीप्रति अडिग रहिरहेको र नघटेको जनविस्वास हो । तर तैपनि नेपालमा कम्युनिष्ट नामधारी संगठनहरु मनग्य रहेको र सबैले आफ्नो संगठन सच्चा कम्युनिष्ट भएको दावी गर्दे आएका छन् । झट्ट हेर्दा साँच्चै कम्युनिष्ट जस्तै लाग्ने र मीठा मीठा कुरा गर्ने संगठनहरु थुप्रै छन् । तिनका कुरामा विस्वास गरेर पछिपछि हिँड्ने समर्थकको संख्या पनि छ । यसबाट जनमानसमा निकै भ्रम पर्न गएको छ । यिनले साम्यवादी आन्दोलनको विकास गर्छन् कि विसर्जन गर्छन् भन्ने विषय नै आजको बहसको मुख्य विषय हो । यस लेखमा क्रान्तिकारी आवरण भित्रका अवसरवादी चरित्रहरुको शव परीक्षण र साम्वादी आन्दोलनको वर्तमान अवस्थाको समीक्षा गर्ने प्रयास गरिएको छ ।
१. नेपालमा साम्यवादी आन्दोलनको सान्दर्भिकता : साम्यवाद कार्लमार्कस द्वारा प्रतिपादित सर्वहारा श्रमिक वर्गको राज्य सत्ता स्थापना गर्ने राजनैतिक सिद्धान्त हो । यसले वर्गीय समाजको अन्त्य र वर्गविहीन समाजको परिकल्पना गर्दछ । वर्गविहीनताको अवस्था नै साम्यवाद हो । समानता स्वतन्त्रता न्याय नै साम्यवादको सार हो । मलाई समानता आवश्यक पर्दैन । म स्वतन्त्रता चाहन्न । न्याय हुनु हुँदैन । यो भन्छ कसैले ? होइन, यो भन्दैन कसैले पनि । तर, यसो हो भन्दैमा सबैले समानता कायम गर्छन् त ? स्वतन्त्रता प्रदान गर्छन् त ? न्याय दिलाउँछन् त ? प्रश्न यही हो । साम्यवादी आन्दोलन त्यो बेलासम्म आवश्यक पर्छ जुन दिनसम्म समाज वर्गीय चरित्रको हुन्छ । समाजमा असमानता कायम रहन्छ । अन्याय र बेथीतिको राज चल्छ । साम्यवादका कट्टर आलोचकहरु छन् । यसका कट्टर विरोधीहरु छन् । आलोेचकहरु छन् । विरोधीहरु छन् । यिनीहरु हुँदैमा । यिनीहरु रुँदैमा साम्यवाद झुटो हुने होइन । यिनले नचाहँदैमा यसको आवश्यकता नहुने भन्ने होइन । सिद्धान्तमा यस्तो हुँदैन । कसैले विरोध गरेन भने त्यो सिद्धान्त नै भएन । जुन सिद्धान्तमा तागत हुन्छ त्यसको विरोध हुन्छ । समाजमा साम्यवाद नचाहनेहरु हुँदैनन् भन्ने होइन । छन् पनि । समाजमा सबै प्रकारका मान्छे हुन्छन् । शोषण गर्ने शोषक वर्ग यही समाजको उत्पति हो । उसको स्वार्थ नै शोषण गर्नुमा छ । ऊ रमाउँछ शोषण गर्नमा । उसको सारा खुशी सन्तुष्टि शोषणमा अडिएको हुन्छ । अनि उसले साम्यवादको प्रशंसा कसरी गरोस् । शोषित पीडित वर्गलाई जीवन जिउन निकै कठिन हुन्छ । दवाव तनाव हेपाइ तिरस्कार गाली अपमान सबै प्रकारका प्रतिकूलताहरु झेलेर बाँच्नुपर्छ उसले । सर्वहारा वर्ग बोल्न सक्दैन । खुल्न सक्दैन । आन्दोलनमा अघि लागेर कुद्न सक्दैन । मध्यम वर्ग ढुलमुले चरित्रको हुन्छ । पूँजीपति वर्ग असाध्यै चतुर र चलाख हुन्छ । आप्mनो पूँजीको रक्षा गर्नका लागि आवश्यक पर्दा ऊ क्रान्तिकारी कम्युनिष्ट पनि भइदिन्छ । हुन कति सजिलो छ । सर्वहारा वर्ग जे पनि हुन जान्दैन । कि त ऊ विगतको बाउ बाजेको संस्कार अनुसार मालिकको सेवक भएर बाँच्न चाहन्छ कि त ऊ क्रान्तिको झण्डा बोकेर मुक्तिको बाटोमा हिँड्दछ । मुक्तिको झण्डा बोक्न योग्य मान्छेहरु समाजमा धेरै छन् । यी मान्छेहरु समाजमा भएसम्म साम्यवादी आन्दोलनको सान्दर्भिकता रहन्छ । नेपालमा साम्यवादी आनदोलनको सान्दर्भिकता छ । साम्यवादी आन्दोलनको विकास हुन सक्ने राजनैतिक आधार प्रशस्त छ । तर , यसको प्रयोग जडसूत्रवादी ढङ्गबाट होइन, सिर्जनात्मक ढङ्गबाट हुनुपर्दछ । नेपाल कम्युनिष्ट पार्टी एमालेका तत्कालीन नेता मदन कुमार भण्डारीको धारणा यही थियो । मार्कसवादको सिर्जनात्मक प्रयोगको आवश्यकता सम्बन्धी मदन भण्डारीको दृष्किोण बहुदलीय जनवादसँग सम्बन्धित छ । बहुदलीय जनवाद मार्कसवादको सिर्जनात्मक प्रयोग सम्बन्धी अवधारणा हो । बाटो यही हो । यस बाहेक अर्को बाटो छैन । अन्य बाटोबाट साम्यवादको लक्ष्य हासिल गर्न सकिँदैन । किनभने साम्यवाद एकैछिनमा हासिल हुने लक्ष्य होइन । एकैदिनमा हिँडेर पुगिने गन्तव्य होइन । हवाइ जहाज चढेर साम्यवाद आउँदैन । विरोधीले मोटरमा चढेर साम्यवाद आउँछ भन्ने भ्रम छरेका छन् । विरोधीले हल्ला गरेको जस्तो ओछ्यान ओछ्यान खाना पुगाइ दिने व्यवस्था साम्यवाद होइन । साम्यवाद भयो भने बसी बसी खान पाइन्छ भन्ने पनि होइन । चुनावमा विजयी भएर सरकारमा पुग्दैमा साम्यवाद आउँछ भन्ने पनि होइन । दुईतिहाई त के संसदका सबै सिट साम्यवादी दलले जिते पनि त्यो साम्यवाद होइन । साम्यवादसम्म पुग्नका लागि अनेकौं चरणहरु पार गर्नुपर्छ । अनेकौं आन्दोलनहरु गर्नुपर्ने हुन्छ । साम्यवाद हठात क्रान्तिबाट बाहेक अन्य माध्यमबाट प्राप्त हुँदैन । यसका बारेमा कमरेड मदन भण्डारीले आन्तरिक प्रशिणमा निकै प्रष्ट पारेका छन् । बहुदलीय जनवाद साम्यवाद होइन तर साम्यवादसम्म पुग्ने बाटो हो । अहिले प्राप्त भएको राजनैतिक सुविधा नै जनताको मुक्ति होइन मुक्तिका लागि आधार सम्म हो । जनताको मुक्तिको लक्ष्य पूरा गर्ने बाटो हो । मुक्ति त्यो हो जतिबेला जनताले कसैसँग डराएर लुगलुग काम्नु पर्दैन । आफ्नो विचार र आस्था प्रकट गर्न डराउँनु पर्दैन । सचेत जनताले स्वविवेक प्रयोग गर्नसक्ने अवसर नै स्वतन्त्रता हो । विगतको एमाले माओवादी तालमेल वा गठबन्धन नै साम्यवाद होइन र त्यो बेला प्राप्त भएको जनमत साम्यवाद स्थापना गर्नका लागि थिएन, सुशासन कायम गर्नका लागि थियो तर दुर्भाग्यवश दुवै दलको आ–आफ्नै आन्तरिक विवादका कारण जनतालाई सुशासन दिनसम्म पनि यिनीहरु सफल हुन सकेनन् । सफलता हासिल हुन सकेन भनेर सुशासनको आवश्यकता छैन भन्ने होइन । ओलीसाहेवलाई यसको ज्ञान थिएन होला भन्न सकिन्न र अर्का नेता प्रचण्ड साहेवलाई पनि यसको ज्ञान थिएन भन्न मिल्दैन । ज्ञान हुँदा हुँदै पनि नियन्त्रण गर्न नसकिएको अवस्था हो । नियन्त्रण हुन नसक्नाको पनि कारण छ । कारण यो छ कि दुवै दलले राजनैतिक आन्दोलन पूरा भएको अभिव्यक्ति दिए जुन पूरा भएको थिएन र अझै पनि छैन । यो त निरन्तर चलिरहन्छ । साम्यवाद स्थापना नभए सम्म । चीनमा चीनियाँ क्रान्ति सम्पन्न भएपछि माओले सांस्कृतिक क्रान्ति चलाएनन् र ? संघीय गणतन्त्रलाई संस्थागत गर्नका लागि संविधान निमार्ण र निर्वाचनमार्फत आफू अनुकूलको जनमत प्राप्त भएपछि क्रान्तिको अभिभारा पूरा भयो भन्नु गलत थियो । वास्तवमा यहाँ क्रान्ति नै भएको होइन भने पनि हुन्छ । राजा आफ्नै भूमिका र देशको अवस्थाका कारण कमजोर भए । उनले सहमति गरे र दरबार सजिलै खालि गरिदिए । अनि गणतन्त्र आयो । राजाले म राजा हुँ भनेर नमानेको भए ? राजाले आफ्ना मान्छेको कुरा सुनेको भए ? शेनापतिको कुरा सुनेको भए ? आफूसँग भएको अन्तिम शक्तिको प्रयोग गरेको भए ? केही वर्षलाई नडराइदिएको भए ? कुरा यति सजिलो थिएन । गणतन्त्र यति सजिलै आउँदैन थियो । यो गणतन्त्र ख्यालख्यालमा आएको हो । संविधानमा रहेका कतिपय प्रावधानहरु गलत छन् । ती प्रावधानहरु मओवादीको लहैलहैमा लागेर राखिएको हो । अहिले देशमा माओवादी एजेण्डा कार्यान्वयनमा रहेको छ । तर, शासन सत्तामा उसको बलियो नियन्त्रण छैन । जनमतका हिसाबले माओवादी कमजोर छ । माओवादी मन्त्रीहरु सत्तामा बसेर भत्ता बुझेर सन्तुष्ट छन् । निर्वाचन अत्यन्तै महङ्गो भएको छ । प्रचण्ड साहेवले दिएका अभिव्यक्तिहरुमा यसको बारेमा स्पष्ट छनक पाइन्छ । प्रचण्ड साहेवको यो चिन्ता हो कि चुनाव जित्न पैसा जम्मा गर्न गरिएको आवह्वान हो । यो चाहिँ स्पष्ट छैन । यदि पैसा नै चुनाव जित्ने बलियो साधन हो भन्ने भ्रमबाट नेतृत्व माथि उठ्न सकेन भने नेतृत्व भ्रष्ट हुन्छ र भ्रष्टाचार नेतृत्व तहबाटै संस्थागत हुँदैजान्छ । यी विषयमा माओवादी स्पष्ट छैन । हामीलाई गणतन्त्र भइगयो । यही सबैथोक हो भन्ने भयो भने साम्यवाद सम्म पुग्नै सकिन्न । गणतन्त्र नै प्रर्याप्त भएको हो भने कम्युनिष्ट नै भनिरहनु परेन । बाबुराम जस्तो । उनी प्रष्टिए । यसरी सबै प्रष्टिन सक्नुपर्छ । प्रष्टिन खोज्दै छन् प्रचण्ड माधब नेपाल झलनाथ र बामदेवहरु पनि । उनीहरु समाजवादी केन्द्र स्थापना गर्ने भन्दैछन् । यो बाटो विकासको होइन, विसर्जनको बाटो हो ।
२. विकास वा विसर्जन : दुईमध्ये एक हुन्छ । भन्न त यो लाटाले पनि भन्छ । जान्न त यो लाटाले जान्दछ । दार्शनिक ढङ्गबाट सोच्नै पर्दैन । सामन्य हिसाबबाटै बुझिन्छ । बुझिएको पनि छ । तर, यसमा व्याख्या र बहस चाहिँ हुनुपर्छ । कम्युनिष्ट पार्टी बिग्रिएकोमा यसका शुभचिन्तकलाई मात्रै दुख लागेको पक्कै पनि होइन होला । दुख नेता कार्यकर्ता जनता सबैलाई लागेको हुनुपर्छ । माया हुनेलाई । विस्वास र आस्था हुनेलाई । दायित्व र कर्तव्य सम्झिनेलाई । जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्ने सबैलाई । यो दुख मान्ने बेला हो किनभने कम्युनिष्ट आन्दोलनमा समस्या उत्पन्न भएको छ । साधारण समस्या होइन यो । माधब प्रचण्ड झलनाथ बामदेवहरुले पनि सारा जीवन कम्युनिष्ट पार्टीको लागि समपर्ण गरेको हुनाले यो दुख उनीहरुलाई पनि लागेको हुनुपर्छ । यद्यपि, माधब प्रचण्ड बामदेव झलनाथ अहिले सत्ता गठबन्धनमा छन् र उनीहरुलाई त्यसबाट प्राप्त हुने सुविधा र हासिल हुने उपलब्धि थोरबहुत मिलेकै होला अनि उनीहरुका प्रतिस्पर्धी ओली साहेवलाई सत्ताच्युत गर्न सफल भयौं भन्नेमा खुसी लागेको पनि होला । देब्रे आँखामा दुखको आँशु होला । दाहिने आँखामा सुखको आँशु होला । आधा दुख होला । आधा खुसी होला । सुख भन्ने कुरा क्षणिक हुन्छ । यो टिक्दैन । अस्थायी सुख हो । वास्तवमा कम्युनिष्ट पार्टीमा आएको विचलन र समस्याले सबैको मन दुखाएको होला ।

कम्युनिष्ट पार्टीको सफलताबाट खुसी हुने दुखित होलान् । दुखित हुने खुसी होलान् । नेपालमा कम्युनिष्टहरुको अस्तित्व छ, यसकारण दुनियाँभरका पूँजीवादपन्थीहरु बिरामी छन् । नेपालमा कम्युनिष्ट आन्दोलन मजबुत हुँदा विस्व रुन्छ । कमजोर हुँदा विस्व हाँस्छ ।

दुनियाँमा चीन, उत्तर कोरिया, भियतनाम, क्युवा आदि थोरै देशमा मात्रै कम्युनिष्ट पार्टी सत्तामा छ । बाँकी दुनियाँ पूँजीवादको हाइँफाईँ गर्नमा व्यस्त रहेको छ । भएका कम्युनिष्ट सत्ताहरु पनि प्रतिरक्षात्मक अवस्थामा छन् । टिक्न मुस्किल छ । कैयौं अवरोधहरुको सामना गरेर अडिनु परेको छ । आड भरोसा दिने शक्ति छैन । ७२ वर्षमा रुसमा साम्वादी सत्ता उखेलियो । नेपालमा पनि कम्युनिष्ट पार्टीको स्थापना भएको ७२ वर्ष नाघिसकेको छ । के नेपाल रुस हुन खोजेको हो त ? ओली साहेव मिखाइल गुर्भाचोभ हुन लागेका हुन् त ? माधब प्रचण्डहरु बोरिस यल्सिन हुन खोज्दै त होइनन् नि ? आशंका छ । नारायणकाजीहरु जुगानोभको भुमिकामा आए पनि ढिलो भइसकेपछि केही लाग्दैन । तर, आपसमा प्रतिशोध पालेरै बस्ने हो भने यो हुने निश्चित छ । विवाद र विभाजन झेल्दै आएको कम्युनिष्ट पार्टी विसर्जनको बाटोमा आइसकेको छ । भिरको डिलमा पुगिसकेको बूढो गोरु ज्यूँदै फर्किएर आइदेला भन्नेमा कमै मात्र आशा गर्न सकिन्छ ।
३. निश्कर्ष : दुई विकल्पमध्ये एक हुनु नै छ । यो रोकेर रोकिँदैन । टारेर टर्दैन । महाभारतको युद्ध रोक्न कति प्रयास गरियो तर पहिला नै तय भइसकेको हुनाले युद्ध भएरै छाड्यो र परिणामत: वंश विनाशको दर्दनाक कथामा सिमित हुन पुग्यो । नेपालमा कम्युनिष्ट पार्टी प्रशिद्धिको उचाइमा पुगेको बेला संयमतापूर्वक नेतृत्वले निर्णय लिन जानेन भने महाभारत हुँदै वंशविनाशमा रुपान्तरण हुने लगभग तय भइसकेको छ । कम्युनिष्ट पार्टीमा आएको यो समस्या नेतृत्व वर्गले विवेक गुमाएका कारणले उत्पन्न भएको हो । कार्यकर्ताको त्याग र बलिदानी भावबाट मात्रै कम्युनिष्ट पाटी बन्दैन । बन्ने भए माओवादीको यो हालत हुने नै थिएन । उसका हजारौ. कार्यकर्ताले क्रान्तिको नाममा बलिदानी दिएका छन् । पार्टी चलाउन नेतृत्व वर्गले जानेको भए माओवादीले गठबन्धन गर्दै यताउता भौंतारिनै पर्दैनथ्यो । अवसर पाएको थियो । गुम्यो आप्mनै कारणले । आप्mनै शैली र व्यवहारले । माओवादीको रोग एमालेमा सरेको छ । एमालले अवसर पायो पुर्नसंगठित हुने र भयो पनि तर नेतृत्वको चाल, शैली र व्यवहारले एमालेका कार्यकर्ता र शुभचिन्तक जनता जतिसुकै इमानदार भएपनि पार्टी बचाउन नसक्ने अवस्थामा पुग्छन् । यो तय भइसकेको छ । समस्या नेतृत्वको हो । शैली र संस्कारको हो । कारण प्रतिशोध र बदलाको भावना बन्न गएको छ । यही परिस्थिति रहे हाम्रो मायाले मात्रै पार्टी रहँदैन । विवेक गुमाए विर्सजनको डिलमा पुगेको पार्टीलाई थेगेर राख्ने सामथ्र्य कार्यकर्ताले राख्दैनन् । यहाँ बुझ्नु जरुरी के छ भने सत्ता प्राप्ति मात्रै कम्युनिष्ट पार्टीको लक्ष्य होइन । यसरी गठबन्धन गरेरै सत्ता सुख भोग गर्नु थियो भने यति कष्ट गर्नै पर्दैनथ्यो । हजारौं कार्यकर्तालाई मुक्तिको नाममा आगोको ज्वालामा हामफाल्न आदेश गर्नै पर्दैनथ्यो । देशलाई खरानी बनाउनै पर्दैनथ्यो । सरकारमा हुनु नै उपलब्धि होइन । सत्तामा नहुन नै समापत हुनु होइन । जस्तो एमाले सत्तामा छैन तर एमाले नै सबैको टाउको दुखाइको कारण छ अहिले । प्रचण्ड माधव साहेवहरु सत्तामा छन् तर शक्तिमा छैनन् र रहँदैनन् पनि । नेपालको वामपन्थी आन्दोलनको पर्याय हो एमाले । एमाले रहेन भने बामआन्दोलन स्वतह कमजोर हुन्छ । प्रचण्ड माधव साहेवहरु गलिसके । प्रचण्ड माधव साहेवहरु ढलिसके । ढलेको सिमलको मुढो कुहिएर मलमा रुपान्तरण हुन्छ । वेतको झ्याङ ढले पनि बौरिएर उठ्न सक्छ । संभावना दुवै छ । विकास हुन पनि सक्छ । विसर्जन भएर जान पनि सक्छ । हेरौं र पर्खौं । नेपाल पश्चिम बङ्गाल नहोस् जहाँ ज्योति बसु साहेवले छोड्ने बित्तिकै भारतीय कम्युनिष्ट पार्टी मार्कसवादीको नामनिशाना केही बाँकी रहेन । बत्तीस वर्षको भाकपा मार्कसवादीको सत्ता बिपत्ता भयो ।
समाप्त

२०७९ साउन १२ गतेको सफल नेपाल साप्ताहिकमा प्रकाशित


ताजा खबर