सहि तरिकाले स्तनपान गराउँदा प्रतिरोधात्मक क्षमता बढ्छ

~ बिनोद अधिकारी

सन्दर्भः विश्व स्तनपान दिवस-२०२२

आगामी अगष्ट एक तारिख, संसारभर बिभिन्न कार्यक्रम गरी विश्व स्तनपान दिवस मनाइँदै छ । नेपालमा पनि स्तनपान सम्वन्धी विविध जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापीरुपमा मनाइँदै छ ।

संसारभर एकदेखि सात अगष्टसम्म मनाइने विश्व स्तनपान दिवस को यस बर्षको नारा हामी सबैको जिम्मेवारी, स्तनपान सचेतना , साथ र संरक्षणमा सबै बढौ अगाडि रहेको छ ।

स्तनपान भनेको आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौति दूध बच्चाको लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँदछ ।

स्तनपानलाई परिवार नियोजनको एउटा माध्यमको रूपमा पनि लिइन्छ । आमाले जति धेरैपटक शिशुलाई दूध चुसाउँछिन् त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ ।

सबै स्तनधारी प्राणीहरूमा स्तनपान साधारण क्रिया हो । स्तनपानले शिशुको लागि स्वास्थ्य रक्षाको काम समेत गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन उनीहरुले आमाको दूधबाट यो शक्ति प्राप्त गर्दछन् ।

आमाको दूधमा रोगाणु नाशक तत्वहरु हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमामा फलाम तत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरीरमा उब्जने बिभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् ।

बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जिवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन्, शरिरले ति विशेष रोगाणुको बिरुद्ध प्रतिरोधात्मक तत्वहरु बनाउँदछ । यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाहरूको पेटमा पुग्दछ । यसरी शिशुहरु आमाको दूध नियमित रुपमा खाएर स्वस्थ रहन्छन् ।

बाल्यकालमा पर्याप्तरूपले आमाको दूध खान नपाएका शिशुरुमा बाल्यकालमा शुरू हुने प्रकृतिको मधुमेह रोग लाग्ने सम्भावना अधिक रहन्छ । उनीहरुमा अपेक्षाकृत बुद्धि विकास समेत नहुने हुन्छ ।

यदि बच्चा महिना नपुगि जन्मेको छ भने त उसलाई नेक्रोटाइजिङ एन्टोरोकोलाइटिस जस्तो घातक रोग समेत हुनसक्छ । त्यसैले छ देखि आठ महिनासम्म शिशुहरूका लागि आमाको दूध उत्तम आहारमात्र हैन, यो जीवनरक्षक आहार पनि हो ।

स्तनपान सम्वन्धी गलत धारणा

केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणाहरु रहेको पाइएपनि यो सत्य भने होइन । आधुनिक विज्ञानले यी धारणाहरुलाई गलत पुष्टि गरिसकेको छ ।

नियमित र निश्चित अवधिसम्म गराइएको स्तनपानले शिशुको उपचार र खाना खर्चमा ५० प्रतिशतले बचत हुने गरेको बिभिन्न अध्ययनहरुले देखाएको छ । शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुश हुन्छ ।

त्यसैगरी उनले मानसिक रूपमा आफू स्वस्थ भएको अनुभूति गर्ने हुनाले उनलाई आत्मसन्तुष्टि समेत प्राप्त हुन्छ ।

स्तनपानका फाइदाहरु

आमाको दूध पोषणका लागिमात्र नभएर यसले आमा र बच्चाहरूको स्वास्थ्यमा अत्यन्त सकारात्मक प्रभाव पार्दछ । शिशुलाई जन्मेको छ महिनासम्म स्तनपानमात्र गराउनु पर्दछ ।

आमाको दूध सुपाच्य हुन्छ र यसले शिशुको पेट गडबड हुने डर हुँदैन । आमाको दूध शिशुको नाक र घाँटीमा प्रतिरोधी तह बनेर बस्दछ । त्यसले रोग प्रतिरोधक क्षमता बढाउन पनि सहायता गर्दछ ।

स्तनपानले दम र कानको रोग शरिरमा लाग्नबाट जोगाउँछ । केही शिशुलाई गाईको दूधले एलर्जी हुनसक्ने संभावना रहन्छ तर आमाको दूध खानु शतप्रतिशत सुरक्षित छ ।

नियमित र निश्चित अवधिसम्म स्तनपान गर्ने शिशुहरूलाई पछि अन्न खुवाउँदा पनि असुहाउँदो र अस्वाभाविक रुपमा मोटो हुँदैनन् । स्तनपान गर्ने शिशुहरुमा शुरूदेखि नै आवश्यकताभन्दा अधिक खाने बानी नपर्ने हुँदा उनीहरुमा अस्वाभाविक रुपमा मोटोपना नदेखिने बिभिन्न अध्ययनहरुले देखाएका छन् ।

निश्चित अवधिसम्म स्तनपान गर्ने शिशुहरूलाई जीवनका पछिल्लो चरणहरूमा पनि रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरुको खतरा तुलनात्मक रुपमा निकै कम हुन्छ । स्तनपानले शिशुको बौद्धिक क्षमता समेत बृद्धि हुन्छ ।

स्तनपान गराउने आमा र शिशुको बीच भावनात्मक सम्बन्ध धेरै बलियो हुन्छ । यसका अलावा आमाको दूधमा धेरै प्रकारका प्राकृतिक रसायनहरु पनि रहेका हुन्छन् जसले शिशुको शारिरीक तथा मानसिक बिकासमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

स्तनपानलाई प्रोत्साहन

विश्वका विभिन्न देशहरूले स्तनपानका लागि प्रोत्साहन गरेका हुन्छन् । विगत १९ वर्षदेखि स्तनपानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अगस्ट महिनाको पहिलो हप्तालाई स्तनपान सप्ताहको रूपमा घोषणा गरेको छ ।

चीनले भने स्तनपानलाई शिशुको महत्वपूर्ण अधिकारका रुपमा सुरक्षित गरेको छ र बट्टाको दूध शिशुलाई खुवाउन पूर्णरुपमा कानूनी प्रतिवन्ध लगाएको छ, जुन आफैमा प्रशंसनीय र अनुकणीय कदम हो ।

स्तनपानका लागि सहि स्थिति

स्तनपान बच्चाको लागि अनिवार्य आवश्यकता हो । तर स्तनपान गराउँदा बच्चालाई कसरी राख्ने भन्ने कुरामा विशेष ख्याल राख्नुपर्दछ । अन्यथा बच्चालाई आमाको दूध अमृत समान हुँदा हुँदै पनि नकारात्मक असर पर्दछ ।

जब स्तनपानका लागि सहि स्थितिको प्रश्न उठ्छ यसमा दुईवटा कुराहरु अत्यन्त महत्वपूर्ण हुन्छ । पहिलो कुरा बसाइ आफूलाई शारिरीक रुपमा आरामदायी र सहज हुनुपर्छ । दोश्रो कुरा बसाईको स्थिति सहज बनाउनुसँगै शिशुलाई आफ्नो स्तनसम्म सहजरुपमा पुर्‍याउन सक्ने गरी बस्नुपर्छ ।

तपाईंका लागि कुन चाहीँ स्थिति उपयुक्त छ भन्ने कुरा शिशुलाई दूध चुसाउन कुन किसिमको बसाई सहज हुन्छ भन्ने कुरामा निर्भर हुन्छ ।

तपाइले जुनसुकै स्थिति रोजेपनि दूध चुस्ने बेलामा शिशुले आफ्नो टाउको थोरै पछाडि तिर तान्न सक्ने कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ ।

 स्तनपान गराउने तरीकाः

आफ्नो र शिशुको शरीरलाई समानान्तर राखेर- सुतेर र पल्टिएर बस्न सक्नुहुनेछ ।

Breast-Feeding 1

तपाईंको शिशुले जुन स्तनबाट दूध चुसिरहेको छ त्यसको अर्को तर्फको हातले शिशुलाई काखमा लिएर समातेर राख्ने र सहज हुनेगरी बस्ने ।

Breast-Feeding-2

शिशुले दूध पिइरहेको स्तनपट्टकिै हातले समातेर अर्को हातले टाउको अड्याएर छड्के पारेर बोकेर सजिलोसँग बस्ने ।

Breast-Feeding-3

पलेटी कसेर बसेर शिशुलाई दूध चुसिरहेको स्तनतिरको हातले अड्याएर उसको गोडा तल तिर पर्नेगरी सुताउने ।

Breast-Feeding-4

यदि जुम्ल्याहा बच्चाहरु छन् र एकसाथ दूध चुसाउनु छ भने पलेटी कसेर बसी एउटा नरम तकीयाको सहायतामा दुबै स्तनमा एक-एक वटा शिशुलाई एकसाथ स्तनपान गराउन सकिन्छ ।

Breast-Feeding-5

सफल अस्पताल प्रशासकका रुपमा परिचय बनाइसक्नुभएका अधिकारी नेपाली स्वास्थ्य क्षेत्रका विविध विषयहरुमा कलम चलाउनुहुन्छ ।
—————————————————————————————————————————
#WBW2022 #WABA  #ProtectBreastfeeding  #SharedResponsibility  #breastfeeding #SDGs  #worldbreastfeedingweek2022 #ProtectBreastfeedingaSharedResponsibility #protectbreastfeedingtogether  #buildingbackbetter  #warmchain4breastfeeding #breastfeeding4publichealth
—————————————————————————————————————————

ताजा खबर