रोजगारीकालागि भ्रमण भिसामा विदेश नजान अनुरोध

गृह मन्त्रालयले आज एक सूचना जारी गरी पछिल्लो समयमा भ्रमण भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फर्कनुपर्ने लगायतका समस्या देखिएको भनी गुनासो आएको भन्दै मन्त्रालयले रोजगारीको मनसाय राखी भ्रमण भिसामा विदेश नजान अनुरोध गरेको हो ।

मन्त्रालयले भ्रमण भिसामा जाने व्यक्तिले प्रचलित कानुनअनुसार श्रम स्वीकृत लगायतका प्रक्रिया पूरा गरेर मात्र जान अनुरोध गरेको छ ।

स्थानीय तहले समेत आफ्नो क्षेत्रका नागरिकले विदेश भ्रमण वा रोजगारीमा जाँदा आवश्यक कानुनी प्रक्रियाको सहजीकरण तथा परामर्श प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

साथै, गैरकानुनी रुपमा विदेश गई समस्यामा परेकालाई उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा बीमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन समेत नेपाल सरकारसँग कुनै कानुनी आधार नरहने पनि मन्त्रालयले जनाएको छ ।


ताजा खबर