बिल गेट्स फेरि बने संसारकै धनी : सम्पत्ति ११० अर्ब अमेरिकी डलर अर्थात् १२५ खर्ब ४० अर्ब रूपैयाँ

बिल गेट्स फेरी संसारको धनी व्यक्ति बनेका छन् । माइक्रोसफ्ट कम्पनीका संस्थापक गेट्सको सम्पत्ति ११० अर्ब अमेरिकी डलर अर्थात् १२५ खर्ब ४० अर्ब रूपैयाँ पुगेको छ ।

अमेरिकाको ब्लूमवर्ग पत्रिकाका अनुसार ६४ वर्षे गेट्स अमेजनका मालिक जेफ बेजोसलाई उछिन्दै दुई वर्षपछि फेरी संसारकै धेरै सम्पत्ति हुने व्यक्ति बनेका हुन् ।

दुई वर्षअघि सन् २०१७ मा बेजोसले गेट्सलाई उछिनेका थिए ।

यो वर्ष जेफ बेजोस दोस्रो नम्बरमा परेका छन् । उनीसँग १०९ अर्ब अमेरिकी डलर अर्थात्  १२४ खर्ब २६ अर्ब रूपैयाँ बराबरको सम्पत्ति छ ।

गेट्स र जेफ बेजोस दुवै अमेरिकी नागरिक हुन् । विश्वका १० धनीको सूचीमा ८ जना अमेरिकी नागरिक परेका छन् ।

फ्रान्सका बर्नाड अरनल्ट तेस्रो नम्बरमा परेका छन् । उनीसँग १०३ अर्ब अमेरिकी डलर छ ।

वारेन वफेट ८६.६ अर्ब अमेरिकी डलरसहित चौथो नम्बरमा छन् भने फेसबूकका संस्थापक मार्क जुकरवर्ग ७४.५ अर्ब अमेरिकी डलरसहित पाँचौ नम्बरमा परेका छन् ।

अमेरिकी रक्षा विभागले माइक्रोसफ्टलाई २५ अक्टोबरमा १० अर्ब अमेरिकी डलरको ‘क्लाउड कम्प्यूटिङ कन्ट्रयाक’ दिने घोषणा गरेको थियो । जसले गर्दा माइक्रोसफ्टको शेयर ४ प्रतिशतले बढेको छ ।

ब्लूमवर्गका अनुसार यो वर्ष माइक्रोसफ्टको शेयर ४८ प्रतिशतले बढेको छ भने सोही अवधिमा अमेजनको २ प्रतिशतले घटेको छ ।

बेजोसको सम्पत्ति घट्नुको अर्को कारण सम्बन्ध विच्छेद पनि भएको ब्लूमवर्गले जनाएको छ । गत जनवरीमा जेफ बेजोस र म्याकिन्जी बेजोसबीच सम्बन्धविच्छेद भएको थियो ।

त्यतिबेला जेफले आफ्नो सम्पत्तिको २५ प्रतिशत श्रीमतीलाई दिएका थिए ।

बिल गेट्सले भने सन् १९९४ देखि ‘बिल एन्ड मिडिला गेट्स फाउन्डेशन’लाई ३५ अर्ब अमेरिकी डलर सहयोग गरिसकेका छन् ।

बीबीसी


ताजा खबर