बर्सेनि करिब साढे पाँच लाख पुरुषलाई लाग्छ मूत्रथैलीको क्यान्सर

-डा प्रतिक मान सिङ् गुरुङ

क्यान्सरको रोकथामका लागि पर्याप्त मात्रामा सागपात, फलफूल, भिटामिन सी युक्त अमिलो खालका फल खाने गर्नुपर्छ …

सन् २०१८ को तथ्याङ्क हेर्दा विश्वमा करिब १६ लाख मानिस मूत्रथैलीको क्यान्सरबाट पीडित थिए । बर्सेनि करिब साढे पाँच लाख मानिसलाई यो क्यान्सर लाग्दछ भने करिब दुई लाख मानिसको यसकै कारण मृत्यु हुन्छ ।

प्रायः ६५ देखि ८५ वर्षको उमेर समूहका मानिसमा यो क्यान्सर लाग्ने गरेको पाइएको छ । तुलनात्मक रूपमा पुरुषवर्ग यस क्यान्सरबाट पीडित हुने गरेका छन् । दक्षिणी तथा पश्चिमी युरोप एवं उत्तर अमेरिकाका बासिन्दामा यो क्यान्सर बढी लाग्ने गरेको पाइएको छ ।

नेपालमा सन् २०१३ देखि २०१५ सम्म गरिएको एक अध्ययनअनुसार नेपाली पुरुषमा मूत्रथैलीको क्यान्सर समग्र क्यान्सरमध्ये स्थान सातौँ नम्बरमा पर्दछ ।

मूत्रथैलीको क्यान्सर मूत्रथैलीको तन्तुबाट सुरु हुन्छ । पिसाबमा रगत देखा पर्ने, पिसाब रोक्नै नसक्ने, तारन्तार पिसाब लागेजस्तो हुने, ढाड दुख्ने यसका मुख्य लक्षण हुन् ।

File:Bladder Cancer.jpg

पिसाबमा रगत देखिने समस्या सूक्ष्मदर्शक यन्त्रबाट मात्र पत्ता लाग्नेदेखि रातै पिसाब हुनेसम्मको हुन्छ । यो लक्षण करिब ८० देखि ९० प्रतिशतसम्म बिरामीमा देखिने गर्छ । त्यसो त मिर्गौला वा मूत्र प्रणालीमा कतै पत्थरी हुँदा, मूत्र प्रणालीमा सङ्क्रमण हुँदा, मिर्गौलाको समस्या, मिर्गौलाको क्यान्सर, मूत्रथैली वरिपरिका रक्तनलीको खराबीका कारण पनि रातो पिसाब हुनसक्छ ।

यी सबैमा पिसाब गर्दा पीडा हुने, पोल्ने हुन्छ भने मूत्रथैलीका क्यान्सरमा पीडारहित रातो पिसाब हुन्छ । पिसाब रातो नभए पनि पीडादायी पिसाब हुनसक्ने अन्य समस्यामा प्रोस्टेटको समस्या, मूत्रथैलीको सङ्क्रमणमा हुन सक्छन् । मूत्रथैलीको क्यान्सर बढ्दै गएपछि हड्डी दुख्न थाल्ने (विशेषतः तल्लो कम्मरको), गोडा सुन्निने, कम्मर वरिपरि दुख्ने गर्छ ।

THE Bladder cancer – Health Home

धूमपान, वंशाणुगत, विकिरणको प्रभाव एवं कतिपय रासायनिक तìवको सम्पर्कमा आएका, पेसागत जोखिम, बारम्बार मूत्रथैलीको सङ्क्रमण मूत्रथैलीको क्यान्सर हुनाका कारणमा पर्दछन् । मूत्रथैलीको क्यान्सरबाट पीडित आधाभन्दा बढी पुरुष र एक तिहाइ महिलाले विगतमा धूमपान गर्ने गरेको पाइएको छ । चुरोटको सङ्ख्या एवं पिएको अवधि र मूत्रथैलीको क्यान्सर हुने सम्भावनाबीच गहिरो सम्बन्ध रहेको हुन्छ ।

चुरोट पिउन छोडेसँगै मूत्रथैलीको क्यान्सर हुने जोखिम पनि घट्दै जाने पाइएको छ । यस्तो सम्भावना धूमपान गर्न छाडेको तीन–चार वर्षमै ३० प्रतिशतले घटेको देखिन्छ भने २५ वर्षमा ६० प्रतिशतले घटेको विश्लेषण छ ।  तापनि धूमपान गर्दै नगर्ने भन्दा धूमपान छाडिसकेका र धूमपान नगरे पनि निरन्तर रूपमा धूमपान गर्नेहरूको नजिक बस्ने मानिस पनि जोखिममा हुन्छन् ।

त्यसैगरी मूत्रथैलीको क्यान्सर हुने सम्भावना अफिम सेवन गर्ने व्यक्तिमा तीन गुणाले बढ्ने एवं धूमपान र अफिम दुवै सेवन गर्नेहरूमा पाँच गुणाले बढ्ने देखिएको छ ।

रङ र रबर उद्योगमा काम गर्ने, आर्सेनिकयुक्त पानी उपभोग गर्र्ने, रेजिनको सम्पर्कमा आउने मानिसमा पनि यो क्यान्सरको जोखिम उच्च हुन्छ । त्यसैले गाडी चालक, रबर उद्योगमा काम गर्ने कामदार, पेन्टर, मोटर मेकानिक, छालासम्बन्धी काम गर्ने व्यक्ति, हेयर सैलुनमा काम गर्ने मानिस मूत्रथैलीको क्यान्सरको जोखिममा रहेका हुन्छन् ।

मध्यपूर्व एसिया र अफ्रिकामा व्याप्त सिस्टोसोमियासिस नामक परजीवीको सङ्क्रमण समेतले यो क्यान्सरको खतरा बढाउँछ । लामो समयदेखि मूत्रथैलीमा पत्थरीको समस्या भएका तथा पिसाब नलीमा पाइप (क्याथेटर) राखेकाहरूमा समेत यो क्यान्सरको खतरा बढ्छ ।

निदानका लागि मूत्रथैलीमा दूरबिन छिराएर मूत्रथैली भित्रको जाँच (सिस्टोस्कोपी) गर्नुपर्ने हुन्छ । त्यही समयमा मासु निकाली मासुको जाँच (बायोप्सी) गरेर क्यान्सर भए, नभएको यकिन गर्न सकिन्छ ।

Cystoscopy: How to Advance the Cystoscope Through Urethra • Video • MEDtube.net

सिस्टोस्कोपी एउटा सामान्य परीक्षण हो, जसले यस्तो क्यान्सर पहिचान गर्न सकिन्छ । यो परीक्षण गर्दा दूरबिनयुक्त चिकित्सा उपकरणलाई पिसाब नलीको माध्यमबाट मूत्रथैलीसम्म पु¥याइन्छ । त्यसपछि मूत्रथैलीको भित्री तहको परीक्षण गरिन्छ ।

यस क्यान्सरको उपचारको हकमा शल्यक्रिया, विकिरण (बिजुलीले सेक्ने), केमोथेरापी, इम्युनोथेरापी मुख्य विधिमा पर्दछन् तर मूत्रथैलीको क्यान्सर निदान भएको समयमा उपचारको अवस्था क्यान्सर कुन चरणमा पुगिसक्यो भन्नेमा पनि निर्भर हुन्छ । क्यान्सरको चरण निक्र्योल गर्नका लागि मूत्रथैलीको भित्री तहको बायोप्सी एवं सीटी स्क्यान, एमआरआईलगायतका जाँच गर्नुपर्दछ ।

शल्यक्रिया गर्दा मूत्रथैलीको भित्री तह खुर्किनेदेखि आंशिक वा पूर्ण रूपमा मूत्रथैली निकाल्नेसम्म गरिन्छ । प्रारम्भिक अवस्थामा शल्यक्रिया गराउँदा यसको नतिजा धेरै राम्रो हुन्छ । शल्यक्रियापछि पनि यो क्यान्सर बल्झिने सम्भावना रहन्छ । यस्तो परिस्थितिमा फेरि खुक्र्यो भने ठीक हुन्छ ।

क्यान्सर अलि जटिल भएको अवस्थामा शल्यक्रियाका अतिरिक्त  केमोथेरापी, रेडियोथेरापीसहितको मिश्रित उपचार दिने गरिन्छ । समयमै उपचार गरेको खण्डमा बिरामी कम्तीमा पाँच वर्ष बाँच्ने सम्भावना ७७ प्रतिशतसम्म हुन्छ तर विकसित मुलुकमा ९० प्रतिशत यस्ता रोगीको पहिचान प्रारम्भिक अवस्थामै गरिन्छ भने नेपाल जस्ता विकासोन्मुख देशमा ९० प्रतिशत बिरामी अन्तिम अवस्थामा उपचारका लागि आउने गरेका छन् ।

यस क्यान्सरको रोकथामका लागि पर्याप्त मात्रामा सागपात, फलफूल, भिटामिन सी युक्त अमिलो खालका फल खाने गर्नुपर्छ । दस वर्षसम्म गरिएको एक अध्ययनअनुसार दैनिक छ कप पानी पिउने व्यक्तिमा मूत्रथैलीको क्यान्सर हुने सम्भावना कम हुने पाइएको छ ।

रोबोटिक सर्जन डाक्टर गुरुङ् ॐ हस्पिटलमा कन्सल्ट्यन्ट युरोलोजिस्टका रूपमा कर्यरत हुनुहुन्छ ।

#मूत्रथैलीको_क्यान्सर


ताजा खबर