सार्वजनिक शौचालयको अवस्था नाजुक : सार्बजनिक शौचालयको सुधार गर्नेतर्फ कसैको ध्यान पुगेन

काठमाडौँ, मङ्सिर ३ गते  – सन्दर्भ बिश्व शौचालय दिवस :  काठमाडौँ उपत्यकामा रहेका सार्वजनिक शौचालयको अवस्था ज्यादै दयनीय छ । आगामी वर्ष २० लाख पर्यटक ल्याउन महत्वाकाङ्क्षी लक्ष्यसमेत अगाडि सारिरहेका बेला शौचालय सुधार अनि जरुरी नै भएको छ । तोकेको शुल्क तिरेर प्रयोग गर्नुपर्ने शौचालयको सुधार गर्नेतर्फ कसैको ध्यान पुगेको नदेखिए पनि स्मार्ट शौचालय बनाउने तयारी भने सार्वजनिक भएको छ ।

काठमाडौँ महानगरपालिकाले स्मार्ट शौचालयको अवधारणा अगाडि सारेको छ । निजी संस्थासँगको सहकार्यमा काठमाडौँ महानगरपालिकाले स्मार्ट शौचालय निर्माण गर्ने तयारी गरिरहेको जानकारी सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले दिनुभयो । उहाँले सार्वजनिक हित र सहरी सरसफाइमा सहयोग पु¥याउन सार्वजनिक शौचालय थप्ने र स्थान अभाव भएको स्थानमा स्मार्ट शौचालय निर्माण गर्न आयोगले नक्सा तयार गरिसकेको जानकारी दिनुभयो ।

तीव्र सहरीकरण र बढ्दो जनसङ्ख्याका कारण काठमाडौँका धेरै नयाँ ठाउँमा सहरी गतिविधि बढिरहेको छ । सरसफाइका लागि सार्वजनिक शौचालयको आवश्यकता बढ्दो छ । मुलुकलाई खुला दिसामुक्त घोषणा गरिएको छ । यस अभियानलाई फोहोर पानी र दिसाजन्य फोहोरको प्रशोधनसहितको शौचालयको हरेक नागरिकको पहुँच पुगे मात्र सफल हुने देखिन्छ ।
सन् २०१३ देखि नै विश्व शौचालय दिवस नोभेम्बर १९ मनाउने गरिएको छ । नेपालमा पनि यस सन्दर्भमा विविध कार्यक्रम आयोजना भइरहेका छन् । यस वर्ष यो दिवस ‘कोही नछुटौँ’ भन्ने नारासहित मङ्सिर ३ गते नेपाललगायत विश्वभर मनाइँदै छ ।

गन्धले झन्डै बेहोश भएँ
जितपुरफेदी निवासी ६० वर्षीय गङ्गा श्रेष्ठ आफ्नो कपडा पसलका लागि नयाँ सडक र महाबौद्धमा कपडा किन्न आउनुभयो । कपडा किनेर घर फर्कने बेला उहाँलाई पिसाबले बेस्सरी च्याप्यो । त्यसपछि सार्वजनिक शौचालय खोज्दैमा उहाँलाई निकै समय लाग्यो । सार्वजनिक शौचालय प्रयोग गरेपछि गोरखापत्र समाचारदातासँग कुरा गर्दै श्रेष्ठले भन्नुभयो, “अँध्यारो, फोहोर, पानी पोखिएर प्यानसम्म पुग्नै मुस्किल, बल्ल, बल्ल फड्किँदै पुगेँ । चुकुल लाग्दैन, पिसाब फेरुन्जेल गन्हाएर नाक च्यापेँ तर आँखाबाट आँसु नै चुहियो, गन्धले झन्डै बेहोश भएँ । ”

टुँडिखेलवरिपरि मानिसको चाप सबैभन्दा बढी हुन्छ । नेपाल वायुसेवा निगम क्षेत्रमा त सबैभन्दा बढी मानिसको भीड लाग्छ तर त्यहाँ शौचालयको अभाव छ । पुलमुनि नागरिक सेवा कक्ष तथा सार्वजनिक शौचालय होइन अनेक थरीका पसल राखिएका छन्।

रत्नपार्क बसपार्कको शौचालय पनि दुर्गन्धका कारण प्रयोगकर्तालाई अत्यन्त सास्ती छ । त्यस शौचालय प्रयोग गरी बाहिरिएका सेवाग्राही दीपक जैसीले अन्त कतै नपाएपछि नाकमुख थुनेरै शौच गर्नुपर्छ, त्यसमाथि पैसा तिरेर । शौचालयको कुरा गरेको जस्तो तर वास्तविकता ज्यादै नराम्रो रहेको भनाइ उहाँको छ । ती शौचालयले काठमाडौँ उपत्यकाको सार्वजनिक शौचालयको अवस्थाको प्रतिनिधित्व गर्छन् । रत्नपार्कस्थित सहरी सेवा केन्द्रले सञ्चालन गरेको सार्वजनिक शौचालय भने हात धुने पानी, साबुनसहित सफा छ । काठमाडौँ, ललितपुर महानगरपालिका, मध्यपुर थिमि, कीर्तिपुर नगरपालिकाले सार्वजनिक शौचालयको अवस्था सुधारका लागि पहल भने थालेको छ ।

संस्था गुथिका प्राविधिक प्रकाश अमात्यलगायतको सहयोगमा सार्वजनिक शौचालयको अवस्थाबारे गरिएको सर्वेक्षणमा काठमाडौँ महानगरपालिकाका १५१, ललितपुर महानगरपालिकाका ५४, मध्यपुर थिमी नगरपालिकाका १७ र कीर्तिपुर नगरपालिकाका १८ वटा गरी २४२ वटा शौचालय छन् ।

पानी र सरसफाइ अभियानकर्मी प्रकाश अमात्यले स्थानीय तहका उपप्रमुखहरूको पनि सहभागितामा सर्वेक्षण गरिएकाले सार्वजनिक शौचालयको अवस्था सुधार गर्न योजना बनाउन सजिलो हुने बताउनुभयो ।

डा. रुवि वज्राचार्यले दिसापिसाब धेरै समयसम्म रोकेर बस्दा कब्जियत, पाइल्स, पिसाबको सङ्क्रमणका साथै किड्नी खराबसमेत हुन सक्ने जानकारी दिनुभयो । “सार्वजनिक शौचालय प्रयोगयोग्य र सबैको पहुँचमा पु¥याएर राज्यले सार्वजनिक हित र नागरिकको स्वास्थ्यका लागि सहयोग गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ ।

सार्वजनिक शौचालय प्रयोगमैत्री बनाउन
 पानीको सुविधा हुनुपर्ने
 अपाङ्गतामैत्री सुविधा, ह्विलचियर लान मिल्ने ¥याम्प, उनीहरूले प्रयोग गर्न सक्ने सुविधाको कमोट व्यवस्था हुनुपर्ने
 प्रकाशको राम्रो व्यवस्था
 चुकुललगायत सुरक्षाको राम्रो प्रबन्ध हुनुपर्ने
 निरन्तर सरसफाइ
 लैङ्गिक, ज्येष्ठ नागरिकमैत्री व्यवस्था हुनुपर्ने

रासस


ताजा खबर