विचौलियाले भनेको आधारमा उपचार गर्ने ठाँउ र चिकित्सक रोज्न उचित हुँदैन : प्रा.डा. भगवान कोइराला

सुपर स्पेसलाइज चिकित्सा क्षेत्रको विकास भइरहेको वर्तमान अवस्थामा रेफरल सिस्टम अति आवश्यक हुन्छ । तर हाम्रो देशमा स्वास्थ्य सेवा प्रणालीको दृष्टिकोणले हुनुपर्ने व्यवस्थित रेफरल सिस्टम भएको पाइँदैन । प्राइमरी हेल्थ सेन्टरबाट जिल्ला अस्पताल, जिल्ला अस्पतालबाट कम्प्लिकेसन डिल गर्ने विशेषज्ञ अस्पतालमा बिरामी रेफर गर्नुपर्छ । यो हुन सकेको छैन ।

विशेषगरी शहरहरुमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरुमा इन्सेन्टिभ्सको आधारमा रिफरल प्रणाली विकसित भएको छ । बिरामीको आवश्यकता र स्वास्थ्य प्रदायकको क्षमताको आधारमा बिरामी रेफर गर्नुपर्छ । बिरामीको उत्कष्ठ उपचार हुने ठाउँ पहिचान गरेर राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीले तोकेबमोजिमको अस्पतालमा पठाउने व्यवस्था मिलाउनुपर्छ । तर इन्सेन्टिभ्सको आधारमा रेफरल सिस्टम मौलाउँदै गएको छ । यसलाई हामी सबैले सामुहिक आवाज उठाउनुपर्छ र प्रोफेसनल निर्णयको आधारमा मात्र रेफरल सिस्टम शुरु गर्नुपर्छ । यसले देशको भलो हुन्छ । बिरामीले उत्कृष्ठ उपचार सेवा प्राप्त गर्छन् । हामी सबैले गुणस्तरीय उपचारलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

अन्यौलमा बिरामी
बिरामीहरु अहिले अन्योलमा छन् । गाउँबाट उपचारका लागि राजधानी लगायत देशका विभिन्न शहरी क्षेत्रमा पुग्दा कुन अस्पताल जाने ? कुन डाक्टरसँग उपचार गराउने ? त्यो डाक्टर कस्तो हो ? भन्ने अन्योलता छाएको पाइन्छ । सिमित आर्थिक अवस्थाबाट गुज्रियर आएका बिरामीहरु विदेश जान सक्दैनन् । स्वदेशका अस्पतालहरुमध्ये कहाँ राम्रो छ ? भन्ने उनीहरुलाई पत्तो हुँदैन ।
यो अन्योलता चिर्नुपर्छ । डाक्टर कति हदसम्म दक्ष र विरामी प्रति कमिटेड छ भन्ने कुरालाई सार्वजनिकरण गर्नुपर्छ । यसबारेमा सबैलाई सु—सुचित गर्दै जानुपर्छ । विचौलियाले भनेको आधारमा उपचार गर्ने ठाँउ र चिकित्सक रोज्न उचित हुँदैन । विज्ञ अस्पताल र चिकित्सकको सार्वजनिक जानकारी भएको अवस्थामा कसैले पनि प्रलोभनमा परेर गलत ठाउँमा बिरामी रेफर गर्न सक्दैनन् ।

प्रा.डा. कोइराला मनमोहन कार्डियोभास्कुलर सेन्टरमा कार्यरत हुनुहुन्छ ।

ताजा खबर