इमर्जिङ्ग कप क्रिकेट : बङ्गलादेशबाट आठ विकेटको भारी अन्तरले पराजित नेपाल प्रतियोगिताबाट बाहिरियो

काठमाडौं, मंसिर २ गते । नेपाल बङ्गलादेशबाट आठ विकेटको भारी अन्तरले पराजित भएको छ । बङ्गलादेश विरुद्धको खेलमा नेपालले निराशाजनक प्रदर्शन गरेर हार बेहोरेसँगै प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । बङ्गलादेश भने तीन खेलमध्ये तीनैमा जित हात पारेर छ अङ्कसहित सेमीफाइनलमा स्थान सुनिश्चित गरेको छ ।

त्यस्तै समूह बी को अर्को खेलमा भारतले हङकङमाथि १ सय २० रनको विशाल अन्तरको जित हात पारेको छ । जितसँगै भारतले पनि सेमीफाइनलमा स्थान तय गरेको छ । सेमीफाइनलमा बङ्गलादेशले अफगानिस्तानको र भारतले पाकिस्तानको सामना गर्नेछ । समूह ए बाट ओमान र श्रीलंका बाहिरिएको छ । पाकिस्तानले तीन खेलमध्ये तीनैमा जित हात पारेर समूह विजेता बन्दै सेमीफाइनलमा समूह बी को उपविजेता भारतसँगको भेट पक्का गरेको छ । अफगानिस्तानले भने तीनमध्ये दुई खेलमा जित हात पारेर उपविजेता रहँदै समूह बी को विजेता बंगलादेश विरुद्धको भेट सुनिश्चित गरेको हो । बंगलादेश प्रतियोगिताको दाबेदार टोली हो ।

इमर्जिङ्ग कपको तेस्रो खेलमा नेपालले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य बङ्गलादेशले सहजै भेटायो । उसले मात्र दुई विकेटको क्षतिमा २४ ओभरमा १ सय ४० रन बनाएर जित हात पार्यो । बङ्गलादेशको जितमा कप्तान नजमुल शान्टोले उत्कृष्ट अद्र्धशतकीय पारी खेल्नुभयो । उहाँले ५६ बलको सामना गर्दै ५९ रनमा अविजित रहनुभयो ।
ओपनर सौम्य सरकार मात्र ११ रनको योगदान गरेर पेभेलियन फर्किदा नेपालले दबाब सृजना गर्ने अवसर पाएपनि बङ्गलादेशको अनुभव प्राप्त ब्याटिङ्ग क्रम समक्ष नेपाली बलर नीरिह साबित भए । सुशन भारीले अर्का ओपनर नइम शेषलाई ४५ रनमा दिपेन्द्र सिंह ऐरीको हातमा क्याच आउट गराउँदा नेपालले खेलमा वापसी गर्न अत्यन्तै ढिला गरिसकेको थियो । यासिर अलि चौधरी १८ रनमा अविजित रहनुभयो ।

यसअघि बङ्गलादेशको बलिङ्ग आक्रमण समक्ष ब्याटिङ्ग क्रम धराशायी हुँदा नेपाल १ सय ३८ रनमा समेटिएको थियो ।
टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपालले ४४.३ ओभरमा मात्र १ सय ३८ रनमा समेटियो । २८ औं ओभरमा ८५ रनमा आठ विकेट गुमाएको नेपालले एक सय रनभित्रै समेटिने अनुमान गरिएको थियो । तर ९ औं विकेटका लागि करण केसी र सोमपाल कामीले अद्र्धशतकीय साझेदारी गर्नुभयो र नेपालको योगफल १ सय ३८ रनसम्म पुर्याउनुभयो । उक्त साझेदारी नै नेपाली इनिंग्सको सबैभन्दा ठूलो साझेदारी रहन गयो । सोमपालले सर्वाधिक ३८ रनको पारी खेल्नुभयो । करण केसी १८ रन बनाएर पेभेलियन फर्किनुभयो ।

कमजोर सुरुवात गर्दै आएको नेपाललाई ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलको ओपनिङ्ग जोडीले ३३ रनको साझेदारी गरेर औसत सुरुवात दिलाउनुभयो । कप्तान मल्ल १० र भुर्तेल २२ रन बनाएर पेभेलियन फर्किदा मध्यक्रम चल्न सकेन । यसअघिको दुबै खेलमा मध्यक्रमले नेपाललाई औसत योगफलसम्म पुर्याउँदै आएको थियो । तर बङ्गलादेशको बलिङ्ग समक्ष मध्यक्रममा शरद भेषवाकार, दिपेन्द्र सिंह ऐरी, मोहम्मद अरिफ शेष, पवन सर्राफ, सुन्दीप जोरा र विनोद भण्डारी टिक्न सेकनन् । भेषवाकार १, ऐरी ६, अरिफ शेष ११, सर्राफ ९, जोरा शुन्य, भण्डारी ८ रनमै पेभेलियन फर्किनुभयो ।

बङ्गलादेशका लागि सुमोन खान र साएद मिनहजुल अबेदिनले सामान तीन तीन तथा मोहम्मद तनवीर इस्लाम र मेहदी हसनले सामान दुई दुई विकेट लिनुभयो ।

रासस


ताजा खबर