गाउँमा स्वास्थ्य चौकीको अभाव ,अस्पताल जाने अधिकांश महिला बाटोमै सुत्केरी

मार्तडी, मंसिर १ गते । बाजुरा जिल्लाका अधिकांश स्थानीय तहका महिलाले स्वास्थ्य चौकी नपुग्दै बीच बाटोमै बच्चा जन्माउनु परिहरहेको छ । व्यथा लागेर घरबाट स्वास्थ्य चौकी लैजान खोज्दा बीच बाटोमै बच्चा जन्मनुलाई बाजुरामा सामान्य
घटना भइसकेको छ ।

केही साताअघि मात्र बडिमालिका नगरपालिका ७ की २२ वर्षकी फूलमाया सुनारले स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा बच्चा जन्माउनुभएको थियो । स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै सुनारले छोरी जन्माएको स्थानीय सन्तोषी रावलले बताउनुभयो ।
जिल्ला अस्पताल बाजुरा लैजाँदै गर्दा फूलमाया ले बडिमालिका ८, गडखेतमा बच्चा जन्माउनुभएको थियो, रावलले बताउनुभयो । जिल्ली गाउँबाट जिल्ला अस्पताल बाजुरा पुग्न झन्डै तीन घण्टा लाग्ने गर्छ । सुनारलाई व्यथा लाग्ने बित्तिकै घरबाट छिमेकीको सहयोगमा हिँडरे आउँदै गर्दा बाटोमै बच्चा जन्माएको सुनारकी छिमेकी सुना विकले बताउनुभयो ।

बाटोमै बच्चा पाउनुभएकी फूलमाया लाई जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले उद्धार गरेर जिल्ला अस्पताल बाजुरामा पु¥याएको प्रहरी जवान उमेश अवस्थीले बताउनुभयो । बाटोमै बच्चा जन्माएर अलपत्र अवस्था रहेको खबरपछि उद्धार गरेर अस्पताल पु¥याएको उहाँले बताउनुभयो । फूलमाया का श्रीमान् अर्की महिलालाई भगाएर भारत गएका छन् । मेरो घरमा अरू कोही छैनन्, गाउँलेको सहयोगमा अस्पताल आउन लागेको बेला बाटोमै बच्चा जन्माउने बाध्यता आयो, फूलमाया ले बताउनुभयो । हिँड्दाहिँड्दै बाटोमा बच्चा खस्यो, छिमेकी महिलाहरूको सहयोगले बाँच्न पाएँ, उहाँले बताउनुभयो । दुई दिन अगाडि व्यथा लागेको भए पनि अस्पतालसम्म जान सहयोगी नपाएको र घरमा कोही नभएका कारणले यस्तो समस्या भएको उहाँले बताउनुभयो ।

फूलमाया भन्दा अगाडि खप्तड छेडेदह गाउँपालिका ५ बस्ने लक्ष्मीदेवी नेपालीले पनि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै बच्चा जन्माउनुभएको थियो । स्वास्थ्य कार्यालयका अनुसार बडिमालिका नगरपालिका ७, ढम्कनेकी राजकलला धामीले पनि चुथी स्वास्थ्य चौकी जाँदै गर्दा बीच बाटो खम्मडाँडा भन्ने ठाउँमा बच्चा जन्माउनुभएको थियो । उहाँजस्तै बाजुराका धेरै महिला स्वास्थ्य चौकी टाढा भएकाले बाटोमा बच्चा जन्माउने गरेका छन् । हिमाली गाउँपालिका रुगिन, बिच्छ्याका गुम्बा, बौडी, कोट, बच्छ्या, गौमूल गाउँपालिका र जगन्नाथ गाउँपालिकालगायत बाजुराका दुर्गम गाउँका सुत्केरी महिलालाई समस्या हुने गरेको स्वास्थ्यकर्मी बताउनुहुन्छ । स्वास्थ्य चौकी पुग्न नै एक दिन लाग्ने गरेको छ, अनि कसरी सुत्केरी सेवा पाउनु बिच्छ्याकी धनसरा बुडाथापाले बताउनुभयो ।

बाटोमा र घरमै बच्चा जन्माउनुपर्ने मुख्य कारण चेतनाको अभाव र भौगोलिक विकटताले गर्दा हो, जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख अशोक सिंहले बताउनुभयो । समयमै स्वास्थ्य चौकी जानुपर्छ भन्ने चेतना पनि कम भएकाले यस्तो समस्याहरू आउने गरेको निमित्त प्रमुख सिंहले बताउनुभयो ।

रासस


ताजा खबर