प्रधानमन्त्री ओली र सचिन तेन्दुलकरबीच भेट : बाल हित प्रवर्द्धनमा नेपालको प्रयासको तेन्दुलकरले गरे प्रशंसा

काठमाडौं, मंसिर १ गते । प्रधानमन्त्री केपी शर्मा ओली र विश्व क्रिकेटका हस्ती सचिन तेन्दुलकरबीच भेटघाट सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई तेन्दुलकरले भेटघाट गर्नुभएको हो ।

संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय बालबालिका आपातकालीन कोष(युनिसेफ)का सद्भावना दूत समेत रहनुभएका तेन्दुलकरले भेटमा नेपालले बाल अधिकार र बालबालिकाको हित प्रवद्र्धनका निम्ति गरेको प्रयासको प्रशंसा गर्नुभयो । प्रधानमन्त्री ओलीले आइतबार अपरान्ह ट्वीट गरी भेटघाटबारे उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले ट्वीटरमा लेख्नुभएको छ, “प्रसिद्ध खेलाडी र युनिसेफका सद्भावना दूतसँगको भेटघाटले खुशी छु । बाल अधिकार र हित प्रवद्र्धनका निम्ति नेपालले गरेको प्रयासलाई तेन्दुलकरले प्रशंसा गर्नुभएको छ ।”

भेटघाटमा यूनिसेफका प्रतिनिधि, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, नवनियुक्त प्रेस सल्लाहकार सूर्य थापा लगायतको उपस्थिति रहेको थियो । उहाँ शुक्रबार राति काठमाडौं आउनुभएको थियो । शनिबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तेन्दुलकरले बाल अधिकार प्रवद्र्धनका लागि मैत्रीपूर्ण क्रिकेट खेल्नुभयो । शनिबार काभ्रेको धुलीखेलमा बिताउनुभएका तेन्दुलकर आइतबार भारत प्रस्थान गर्नुभएको छ ।

रासस


ताजा खबर