आर्थिक विधेयकसहीत तीन वटा विधेयक पारित

प्रतिनिधि सभाको आजको बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ लाई पारित गरेको छ ।

बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले ती तीन वटै विधेयकलाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावहरूलाई बैठकले बहुमतबाट पारित गरेको हो ।

यसअघि ती विधेयकहरू माथि भएको छलफलमा सांसदहरुले अचाक्ली रुपमा कर वृद्धि गरिएको, जनतालाई राहत दिनुको सट्टा ढाड सेक्ने काम भएको, मूल्य वृद्धि नियन्त्रणको प्रयास नभएको लगायतका विषयमा कुरा उठाउनु भएको थियो ।

बैठकमा सांसदहरुले छलफलका क्रममा उठाएका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री शर्माले देश कसरी सबल हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर बजेट ल्याइएको बताउनुभयो ।

अर्थमन्त्री शर्माले खर्च धान्नका लागि राजस्व सङ्कलन अपरिहार्य भएकाले चुरोट, सुर्ती जस्ता वस्तु र विलासिताका बस्तुहरूमा कर बढाइएको भएपनि दैनिक उपभोग्य वस्तु र स्वदेशी उद्योगलाई मार पार्ने काम भने नगरिएको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री शर्माले नेपाललाई विकसित राष्ट्रमा पुर्‍याउने लक्ष्य राखिएकाले ऋण लिनु अपरिहार्य भएको बताउनुभयो ।

अर्थमन्त्री शर्माले समृद्धि हासिल गर्नका लागि आर्थिक स्रोतको महत्त्व हुने भएकोले आन्तरिक स्रोतका साथै ऋणको आवश्यकता पर्नु स्वाभाविक भएको स्पष्ट पार्नुभयो ।

यसैगरी प्रतिनिधिसभाको आजको बैठकमा “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ पेश गरिएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो ।

त्यसमाथिको छलफलमा भाग लिँदै सांसदहरुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) लगायतका विधेयकहरूमा थाती रहेकाले  अति आवश्यक विधेयकहरूलाई चाँडो निष्कर्षमा पुर्‍याउनुपर्ने धारणा राख्नुभयो ।

यस्तै प्रतिनिधिसभाको आजैको बैठकमा कानून न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले “कानून न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७९” पेश गर्नुभयो ।

यसअघि बैठकको प्रारम्भमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण सरकारले सदनमा जानकारी गराउनुपर्ने माग गरेको थियो ।

नेकपा एमाले संसदीय दलका तर्फबाट सांसद पद्माकुमारी अर्यालले मूल्यवृद्धिको कारण सदनमा जानकारी गराउन रुलिङको माग गर्दै चित्त बुझ्दो जवाफ नआए सदन अघि बढ्न नसक्ने बताउनुभएको थियो ।

लगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरू आफ्नो स्थानबाट उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले मूल्यवृद्धिप्रति सरकारलाई रुलिङ गर्दै मूल्य वृद्धिको सत्य तथ्य सदनमा पेश गर्न सरकारलाई निर्देशन दिनुभएको थियो ।

बैठकमा सांसदहरुले मूल्यवृद्धि, विद्यार्थीमाथि प्रहरीले दमन गरेको, कृषि क्षेत्रमा बाढीले पुर्‍याएको क्षति, दोलखाको एक घरमा भएको लुटपाट, मल अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक भोलि असार ७ गते दिनको १ बजे बस्नेछ ।


ताजा खबर