‘ओहो ! आँप कस्तो चीज हो भनेर त बल्ल पो बुझेँ !’ 

~डा.प्रेमराज ढुङ्गेल

हामीले ज्ञान प्राप्त ग-यौँ तर आफूले आफैँलाई चिन्ने ज्ञानलाई हासिल गरेनौँ भने सबै कुरा अधुरै रहनेछन् । यदि हामीले हरेक चीजका बारेमा अनुभव गरेर अघि बढ्यौँ भने यस जीवनमा वास्तविक सुख र शान्ति प्राप्त हुनेछ । तर, आँखा बन्द गरेर हिँड्यौँ भने कतै न कतै गएर ठोकिनु पर्नेछ ।

जीवनमा सबैभन्दा आवश्यक कुरा अनुभव हो । अनुभवबिना सबै कुराहरू अपूरा हुन्छन् । हामीले खोजिरहेको चीजलाई आफ्नो मन–बुद्धिले बुझ्ने कोसिस गर्दर्छौं । त्यो चीजलाई मन या विचारद्वारा बुझ्न सकिँदैन । किनभने, त्यो अनुभव गर्ने कुरा हो । सृष्टिकर्ताले मानिसलाई ‘अनुभव’ गर्ने सबैभन्दा उत्कृष्ट गुण दिएका छन् । मानिसलाई अनुभव भएपछि प्रश्नको सहारा लिन आवश्यक हुँदैन । उसका सबै प्रश्नहरू सकिन्छन् । त्यसपछि कुरा स्पष्ट हुन्छ । तपाईंको जीवनमा पनि त्यो कुरा स्पष्ट हुनुपर्दछ । यदि तपाईंमा प्रश्न छन् तर उत्तर छैन भने तपाईंले कुनै चिजलाई प्राप्त गर्नुभएको छैन । त्यो चिज प्राप्त भएपछि त्यस दिन तपाईंका सबै प्रश्नहरू केही नगरी उत्तरमा परिणत हुनेछन् ।

जस्तै: तपाईंलाई भोक लागेपछि तपाईंले केही खाने कुरा छ भनेर सोध्दा मैले खाने कुराका बारेमा भन्न थालेँ भने तपाईंको मुखमा पानी त अवश्य आउला तर तपाईंको भोक कदापि मेटिँदैन । भोक त केही खाएपछि मात्रै मेटिनेछ । त्यसै गरी जुन तपाईंभित्रको शान्ति छ त्यो परिभाषाको विषय होइन । शान्ति त अनुभूत गर्ने कुरा हो । त्यसलाई अनुभव गर्नु आवश्यक हुन्छ । मानिसले आफ्नो जीवनमा शान्तिको अनुभव नगरेसम्म उसका लागि हरेक चीज अधुरो रहनेछ ।

एउटा कथा छ । एकजना मानिस थिए । उनलाई सुगा पाल्ने एकदमै धेरै सोख थियो । उनले तीनवटा स–साना सुगाका बच्चा (चल्ला) किनेर ल्याए । बाल्यावस्थादेखि नै ती सुगालाई उनले सबै कुरा सिकाउने कोसिस गरे । शास्त्र सिकाए, गणित पढाए, विज्ञानमा सबै कुरा सिकाए । राम्रा–राम्रा कुराहरू सिकाए ।ती सुगा ठूला भएपछि सबै कुराहरू बताउन थाले । कसैले विज्ञानका कुरा गर्न थाले, कसैले गणितका कुरामा चर्चा गर्थे त कसैले शास्त्रका कुरा भन्न थाले । ती सुगा महाज्ञानी बने ।

एक दिन ती सुगाका मालिकको मृत्यु भयो । उनका आफन्तहरू भेला भए । उनको अन्तिम संस्कारपश्चात् ती सुगालाई कहाँ राख्ने भनेर आफन्तहरूले छलफल गरे । हेरचाह कसले गर्ने ? निकै सोच–विचार गरेपछि उनीहरूले ती सुगालाई स्वतन्त्र छोडिदिने निर्णय गरे । उनीहरूले पिँजडाको ढोको खोलिदिए । ती सुगा पहिलोपटक पिँजडाबाट बाहिर निस्किए । तिनीहरूलाई अब के गर्ने भन्ने अन्योल भयो । तिनीहरू गएर एउटा रूखमा बसे । यताउता हेरे अनि फेरि ज्ञानका विषयमा चर्चा परिचर्चा गर्न थाले । त्यो रूखमा एउटा जङ्गली सुगा पहिल्यै आएर बसेको थियो । ती तीनओटैलाई देखेपछि उसले सोध्यो, ‘साथीहरू, तपाईंहरू को हुनुहुन्छ ?’

तिनीहरूले भने– ‘हजुर, हामी विद्वान् हौं । केही सोध्न चाहनुहुन्छ भने सोध्नुहोस् । हामीलाई सबै कुराको ज्ञान छ ।’जङ्गली सुगा एकदमै अचम्मित भयो । उसलाई त केही कुराका बारेमा ज्ञान थिएन, के सोध्थ्यो र ! ऊ चुपचाप बस्यो ।केही बेरपछि अचानक जङ्गली सुगाको नजर रूखको फेदतिर पुग्यो । उसले देख्यो.., एउटा बिरालो फेदबाट माथितिर त्यही रूखमा चढिरहेको छ ।
जङ्गली सुगाले ती तीन ओटैसँग सोध्यो, ‘के तपाईंहरूलाई उड्ने ज्ञान पनि छ ?’

तिनीहरूले भने, ‘उड्ने ज्ञान ? हामीलाई उडान कसरी भर्ने भन्ने ज्ञान छ । तर, हामी कहिल्यै आफ्नो जीवनमा उडेका छैनौँ । कसरी उड्नुपर्छ त्यसका बारेमा हामीलाई ज्ञान छ । हामीसँग सोध्नुहोस्, ‘गणितमा कुन सूत्र हुन्छ ? हामी तपाईंलाई बताउनका लागि तयार छौँ– कहिलेदेखि उडान भरिएको हो । राइट ब्रदर्स (दाजुभाइ) का बारेमा सोध्नुहोस् । उनीहरूले सबैभन्दा पहिला हवाइजहाज बनाए । ती सबै कुरा हामीलाई थाहा छ ।’

त्यो सुगाले फेरि भन्यो, ‘यी सबै कुराका बारेमा मैले सोधिरहेको होइन । म त के सोध्दै छु भने तपाईंहरूलाई उड्न आउँछ कि आउँदैन ?’
तिनीहरूले भने, ‘उड्न त जान्दैनौँ । यसले के फरक पर्छ र ? हामीलाई कसरी उडिन्छ भन्ने बारेमा ज्ञान छ । पन्छीले आफ्नो पखेटालाई हावामा तल–माथि गर्दा माथि कम प्रेसर अनि तल बढी प्रेसर भएपछि पन्छी उड्न थाल्छ । हामी कहिल्यै उडेका छैनौँ तर हामीलाई सबै कुराको ज्ञान छ ।’

बिस्तारै–बिस्तारै त्यो बिरालो अझै नजिक आइरहेको देखेपछि जङ्गली सुगाले भन्यो – ‘तपाईंहरूसँग यी धेरै कुराको ज्ञान रहेछ यो त राम्रो कुरा हो । तर, यदि उड्न सक्ने ज्ञान छैन भने तपाईंहरूलाई त आपतै पर्नेछ ।’यति भनेर त्यो सुगा भुर्र उडेर गयो । ती सुगाहरू एक–आपसमा कुरा गर्न थाले । यत्तिकैमा उताबाट बिरालो आएर तीनैवटालाई मारेर खाइदियो ।

हामी मानिससँग पनि यस्तै हुन्छ । अन्य सबै कुराका बारेमा त हामीले ज्ञान प्राप्त ग-यौँ तर आफूले आफैंलाई चिन्ने ज्ञानलाई हासिल गरेनौँ भने सबै कुरा अधुरै रहनेछन् । यदि हामीले हरेक चीजका बारेमा अनुभव गरेर अघि बढ्यौँ भने यस जीवनमा वास्तविक सुख र शान्ति प्राप्त हुनेछ । तर, आँखा बन्द गरेर हिँड्यौँ भने कतै न कतै गएर ठोकिनु पर्नेछ ।

आज हामी रहेको युगमा ज्ञानको अभाव छैन । तर, जीवनमा अत्यावश्यक चीजका लागि हामीले जान्नु जरुरी छ । अनि त्यो चीजलाई वास्तविक बनाउनका लागि अनुभव गर्नु आवश्यक छ जसले गर्दा त्यसलाई हामीले आफ्नो जीवनमा व्यावहारिक रूपमा लागु गर्न सकौँ ।धेरै समय पहिलाको कुरा हो । एक जना राजा थिए । एक जना व्यक्ति उनको दरबारमा आँप बोकेर आए । ती राजाले जीवनमा कहिल्यै आँप खाएका थिएनन् । त्यसकारण उनले सोधे– ‘यो के हो ?’

आँप ल्याउने मानिसले भने– ‘महाराज ! यो आँप हो । यो एकदमै मीठो फल हो । तपाईं यसलाई खाएर हेर्नुहोस् ।’राजाले भने, ‘म खाँदिन । मेरो दरबारका सबै बासिन्दालाई खुवाउनुहोस् । यिनीहरूले खाएपछि मलाई यो आँप कस्तो हुन्छ भनेर बताऊन् ।’ एक जनाले खाएपछि भने– ‘महाराज ! यो एकदमै मीठो छ ।’ राजाले भने, ‘मैले अभैm यो आँप के हो भनेर बुझेको छैन ।’उनले आफ्नो प्रधानमन्त्रीलाई दिएर भने– ‘तिमी खाऊ ।’ उनले पनि खाएपछि भने, ‘महाराज ! यो त निकै मीठो छ । यो नरम पनि छ । मीठो छ अनि यो रसिलो पनि छ ।’
राजाले भने, ‘मैले अभैm पनि यो आँप के हो भनेर बुझिन ।’

त्यो दरबारमा भएका मध्ये एक जना विद्वान्को हातमा पनि त्यो आँप प-यो । उनले आफूले खानुको साटो सीधा राजाकहाँ लगेर भने, ‘महाराज ! यसलाई हजुर स्वयम् खानुहोस् । हजुरले नखाएसम्म अरूले खाएर यो चीज कस्तो हो भनेर तपाईंलाई केही अनुभव हुनेछैन । यो त व्यक्तिगत अनुभवको कुरा हो ।’

राजाले त्यो आँप खाएपश्चात् भने, ‘ओहो ! आँप कस्तो चीज हो भनेर त बल्ल पो बुझेँ !’ यसै गरी यो संसारमा शान्तिका बारेमा चर्चा गर्ने मानिसहरू धेरै छन् । तर, मानिसले त्यो शान्ति आफैंले अनुभव नगरेसम्म केवल शब्द मात्रै हुनेछ । हामीले शान्तिको अनुभव गर्नु आवश्यक छ । चाहे हामीसँग जतिसुकै धन होओस् तर आन्तरिक शान्तिको अभावमा हामी गरिबको गरिबै हुनेछौँ । हामीभित्र सबै कुरा खाली रहेसम्म हाम्रा लागि केही पनि हुनेछैन । जुन दिन हामीभित्र शान्तिको अनुभव हुनेछ, हामीले शान्ति–शान्ति भनिरहनु आवश्यक हुँदैन ।

कोही शारीरिक रूपले निकै सक्षम र बलिया हुन्छन् । यद्यपि, यो सधैँ रहिरहँदैन । उमेर ढल्कँदै गएपछि सबैथोक अहिले भएजस्तै त्यतिखेर हुँदैन । मानिसको वास्तविक क्षमता के हो त ? एउटा यस्तो क्षमता छ जुन सबैभित्र छ, चाहे ऊ गरिब होस् या धनी । हामीले प्रयोग नै नगरेको त्यो क्षमता के हो ? त्यो क्षमता हो– आफूले आफैंलाई चिन्ने अनि वास्तविकतालाई अपनाउने ।हामी जीवित भएसम्म निराश हुन आवश्यक छैन । यो हो हाम्रो वास्तविक सामथ्र्य ! यो मानिसको साँचो क्षमता हो– आफूले आफै‌लाई चिन्नु, आफ्नो हृदयलाई शान्तिले भरिपूर्ण बनाउनु ।
‘मेरा बारेमा अरूले के सोचिरहेका छन्’ भनेर मानिसले सोच्नु हुँदैन ।

यदि तपाईं जीवनमा कुनै कारणले असफल हुनुभयो भए पनि त्यो असफलतालाई कहिल्यै स्वीकार नगर्नुहोस् । पहिला पनि तपाईंले यस्तो गर्नुभएको छ । बाल्यावस्थामा तातेताते गर्दै हिँड्न सिकिरहेको समयमा कैयौँ पटक तपाईंले उठ्ने कोसिस गर्नुभयो तर फेरि लड्नुभयो । हिँड्न नसिकेसम्म तपाईंले हारलाई स्वीकार गर्नु भएन । परिणामस्वरूप तपाईंले हिँड्न सिक्नुभयो ।हामीभित्र श्वास आइरहेको कारणले नै हामीसँग यो सामथ्र्य छ । अर्थात्, हामी जीवित छौँ । यो कुनै सानोतिनो कुरा होइन । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने जीवित भएकै कारणले मानिससँग यो क्षमता छ ।

तपाईंलाई यो वास्तविकता अवगत भएपछि तपाईँ कति शक्तिशाली हुनुहुन्छ भन्ने कुरा बझ्नुहुनेछ । सृष्टिकर्ताले उपहारका रूपमा दिएका तपाईंको वास्तविक क्षमता के हो ? कुरा के मात्र हो भने हामीले आफ्नो जीवनमा त्यसलाई स्वीकार गरिरहेका छौँ या छैनौँ ? यदि स्वीकार ग-यौँ भने त्यो क्षमता हामीबाट टाढा छैन ।

मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण: डा.प्रेमराज ढुङ्गेल ।


ताजा खबर