तरकारी र फलफूल आयात: भारत र चीनका सबै नाकामा विषादी परीक्षण उपकरण राखिने

तरकारी र फलफूलमा विषादी परीक्षण गर्न सबै सीमा नाकामा उच्च प्रविधिका उपकरण राख्न लागिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल र भारत एवम् नेपाल र चीनको सिमानामा गरी १२ वटा नाकामा उपकरण राखिने विभागको भनाइ छ।

सीमामा प्रयोगशाला नहुँदा अहिले टाढाका स्थानमा रहेका कृषि प्रयोगशालामा नमुना लगेर परीक्षणका निम्ति जानु पर्ने बाध्यता रहेको छ।

विदेशबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना हुने गरेको छ।

हाल भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादीको मात्रा परीक्षणको विषयलाई तत्कालका लागि सम्बोधन गर्ने गरी कृषि प्रयोगशालामा विषादी अवशेषको सामान्य चेकजाँच गरी भित्र्याउने व्यवस्था छ।

यस्तो व्यवस्थाले नमुना लिएर टाढा जानु पर्ने कारण फलफूल र तरकारी छिटो सड्ने वस्तु लामो समयसम्म नाकामै अल्झिने गुनासो व्यवसायीहरूले गर्दै आएका छन्।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग विभिन्न क्षेत्रबाट भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेको जनाएको हो।

तरकारी फलफूलको विषादी परीक्षण

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार उच्च प्रविधिका उपकरण राखेर विषादी परीक्षण गर्ने गरी खरिद प्रक्रिया अगाडि बढाइएको छ।

“भन्सारमै विषादी परीक्षण गरिनुपर्छ भन्ने जुन कुरा उठिरहेका छन् त्यसका आधारमा विभागले परीक्षण गर्न सकिने खाले उपकरण राख्ने र अनुगमन गर्ने तयारी गरिएको हो,” महर्जनले भने।

“हाल ती उपकरण खरिद गर्ने प्रक्रिया अघि बढाइएको छ।”

झन्डै १० करोड रुपैयाँको लागतमा खरिद गरिने यस्ता उपकरणहरू मध्ये एउटा अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने छ भने नौवटा भारतीय नाकामा र दुईवटा चिनियाँ नाकामा राखिने छन्।

तरकारी फलफूलको विषादी परीक्षण

त्यस्तै केन्द्रीय प्रयोगशालाको क्षमतालाई पनि बढाइने बताइएको छ।

उपकरण आउँदासम्म जनशक्ति तयार पार्ने गरी तालिम समेत भइरहेको प्रवक्ता महर्जनले बताए।

महर्जनले भने, “तालिमका लागि केही साथीहरूलाई भारत पठाइएको छ।”

“हाल जुन किसिमका विषादी हेर्न सक्ने हाम्रो अवस्था छ त्यसभन्दा थप जटिल परीक्षण गर्न सक्ने खाले तालिम उनीहरू लिइरहेका छन्।”

धेरैजसो फलफूल र तरकारी भारतीय नाका हुँदै आयात हुने भएकाले भारतीय नाकामा विषादी परीक्षणलाई प्रभावकारी बनाउन सकिएमा नेपालमा विषादीयुक्त खानेकुरा भित्रिन निकै कम हुने ठानिएको छ।

बीबीसी


ताजा खबर