लालबन्दीको मेयरमा काँग्रेसका बासुदेव अधिकारी विजयी

लालबन्दी नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसका बासुदेव अधिकारी विजयी हुनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को गठवन्धनलाई पराजित गर्दै लालबन्दीको नगरप्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको हो । नगरप्रमुखमा कांग्रेसका बासुदेव अधिकारी प्रतिस्पर्धी भन्दा एक हजार ६७८ मतान्तरले विजयी हुनुभएको छ । अधिकारीले ९ हजार ५६१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का गोविन्द महतले सात हजार ८८३ मत प्राप्त गर्नुभएको छ । 

May be an image of one or more people, people standing and crowd

यस्तै, माओवादी र समाजवादीको गठवन्धनबाट नगरप्रमुखका उम्मेदवार माओवादी केन्द्रका प्रल्हाद बुढाथोकीले छ हजार १७५ मत मात्रै ल्याउनुभएको छ । उपप्रमुखतर्फ कांग्रेसकै कल्पना पाख्रिन ६९१ मतान्तरले विजयी हुनुभएको छ । 

उपप्रमुखमा विजयी पाख्रिनले आठ हजार ८५० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी सनसरिमाया थिङले आठ हजार १५९ मत मात्रै ल्याउनुभएको छ । माओवादी–समाजवादीको तर्फबाट उपप्रमुखका उम्मेदवार समाजवादीका गोविन्द अधिकारीले तीन हजार ६४१ मत मात्रै ल्याउनुभएको छ । 

लालबन्दीका १७ वटा वडामध्ये नेपाली कांग्रेसले ७, माओवादी केन्द्रले ६, नेकपा एमालेले ३ र एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडा नं. १ मा स्वतन्त्र उम्मेदवार, वडा नं. ३, ४, ५, ७, ९, १० र १३ मा नेपाली कांग्रेस, वडा नं. २, ८, १२, १५, १६ र १७ मा नेकपा माओवादी केन्द्र र वडा नं. ६, ११ र १४ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।


ताजा खबर