श्रीलंकाको कठिन परिस्थितिमा मिलेर काम गर्न प्रधानमन्त्रीको आह्वान

श्रीलंकाका लागि अहिले कठिन समय रहेको प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताउनुभएको छ । उहाँले देशको आर्थिक अवस्था केही महिनादेखि नै सङ्कटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले सोमबार साँझ एक सन्देशमा भन्नुभएको छ– यतिखेर देश निकै नै अप्ठेरो अवस्थामा छ, हामी सबैले यस्तो अवस्थामा मिलेर काम गर्नुपर्ने अवस्था छ ।दक्षिण एसियाली मुलुक यतिखेर आर्थिक तथा राजनीतिक सङ्कटमा गुज्रिएको छ । तर यहाँ राजनीतिक सङ्कटका समयमा पनि आन्दोलन भने जारी नै रहेको छ । उता श्रीलंकामा सोमबारदेखि नौ घण्टे कर्फ्यू आदेश जारी गरिएको छ ।

सरकारले घोषणा गरेको कफ्र्यु सोमबार बेलुका ८ बजेदेखि लागू भइ बिहान पाँच बजेसम्म कायम रहने भएको छ । विभिन्न आरोपमा झण्डै २०० मानिसलाई पक्राउ गरेको भोलिपल्ट सरकारले कर्फ्यू आदेश जारी गरेको हो ।

विषेश गरेर आर्थिक सङ्कट बढेपछि महंगी र अभाव पनि बढेको थियो र त्यही कारणले आम नागरिक आन्दोलित भएका थिए ।

केही दिनअघि राष्ट्रपति गोटावाय राजापाक्षले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघेले चाडै नै मुलुकको आर्थिक तथा राजनीतिक सङ्कट समाधानको खाका तयार पार्ने अठोट व्यक्त गर्नुभएको छ ।


ताजा खबर