बैङ्क तथा वित्तीय संस्थामा पनि दुई दिन बिदा हुने

नेपालका बैङ्क तथा वित्तीय संस्थाहरूमा पनि शनिवार र आइतबार दुई दिन बिदा हुने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरू, पूर्वाधार विकास बैङ्क, नेपाल क्लियरिङ हाउस लिमिटेडलाई परिपत्र गर्दै १ जेठदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने जानकारी दिएको छ ।

राष्ट्र बैङ्कले सोमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म हुने गरी तय गरेको छ । तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म हुने राष्ट्र बैङ्कले बताएको छ ।

०७९ सालको लागि निर्धारण गरिएको दशैं र तिहारका सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि अत्यावश्यकीय बैंकिङ्ग सेवालाई नियमित गर्न आवश्यकता अनुसार कर्मचारी खटाई आवश्यक सेवा, राजस्व कारोबार गर्ने शाखा/काउन्टरहरू एवम् बैङ्कका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरू र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।

इजाजत पत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूबाट सेवाग्राहीले एकै दिनमा पाउने सेवाको लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चितता गर्न पनि राष्ट्र बैङ्कले भनेको छ । -रासस


ताजा खबर