ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना भुक्तानी अब कुमारी बैंकको क्युआर कोडबाट

काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी कार्यालयसँग सम्बन्धित सबै किसिमका शुल्क तथा जरिवाना कुमारी बैंकको क्युआर प्रणालीबाट सिधैँ भुक्तानी गर्न सकिने भएको छ ।

कुमारी बैंकसँगको सहकार्यमा काठमाडौं ट्राफिक प्रहरीले सबै खाले शुल्क तथा जरिवाना सिधैँ भुक्तानी गर्न सकिने भएको हो। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरिक्षक उमेश राज जोशीले विधिवत रुपमा सेवा सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्य योजना सफल बनाउन यस प्रणालीको सुरुवातले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।  यो सेवाले अब नगद रहित तथा झन्झट बिनाको सेवा छोटो समयमै सुनिश्चित भएको छ भने राजस्व संकलनमा सहज समेत भएको उहाँको तर्क छ ।

कार्यक्रमका कुमारी बैंकका डिजिटल बैकिङ विभागका प्रमुख अनिश ताम्राकारले समयसँगै प्रविधिमैत्री सेवा विस्तार गर्न बैंक सधैं अघि बढिरहने कुरामा जोड दिँदै डाइनामिक क्युआर प्रविधिबाट राजस्व संकलन गर्ने प्रणालीको सुरुवात एउटा नयाँ आयाम भएको बताउनुभयो । बैंकले आगामी दिनमा अन्य कार्यालयबाट पनि यस प्रकारका सेवा सुरू गरिने योजना रहेको समेत उल्लेख गर्नुभयो। 

यस प्रणाली अन्तर्गत सेवाग्राहीले राजस्व रकम भुक्तानी गर्दा क्युआर कोड स्क्यान गर्नासाथ रकमसहित सम्पूर्ण विवरण सेवाग्राहीले प्राप्त गरी सिधैं भुक्तानी गर्न सकिने जानकारी गराए।

कार्यक्रममा उपस्थित फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले जुनसुकै बैंकमा रहेको खाताबाट क्युआर स्क्यान गरी सुरक्षित डिजिटल प्रणालीबाट भुक्तानी गर्न सकिने सुविधा यस प्रणालीमा रहेको बताए।

स्मरणिय छ कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिङ इकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधाहरू दिँदै आएको छ।


ताजा खबर