स्थानीय निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको अनुरोध

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन सबैमा अनुरोध गर्नुभएको छ ।

उहाँले, स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार र सङ्घीय शासन प्रणालीको आधारस्तम्भ भएकाले हरेक नागरिकका सुखदुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र स्थानीय तह भएको बताउनुभएको छ । 

नेपाली काँग्रेसको नेतृत्वमा दशकौँसम्म भएका लोकतान्त्रिक सङ्घर्षका बाबजुद थुप्रै आरोह, अवरोह र चुनौती पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैँ बनाउने अवसर प्राप्त गरेकाले निर्भयताका साथ सहभागी भई मतदान गर्न नागरिकमा आग्रह गर्नुभएको छ ।

नागरिकको प्रत्यक्ष संलग्नतामा संविधानसभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको अपमान गरी संसद् विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्न खोजेका कारण नेपाली काँग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा गर्न पाँच दलीये उहाँले प्रष्ट पार्नुभयो । 

नेपाली कांग्रेस एउटा राष्ट्रिय सङ्कल्प, स्पष्ट दूरदृष्टि, इमान्दार अठोट, सूचना–ज्ञान र प्रविधिका जानकार जनशक्ति र राजनीतिक एवं शासकीय स्थिरताका लागि प्रतिबद्ध भएको बताउँदै उहाँले कृषिमा व्यवसायीकरण र आधुनिक प्रविधिको प्रयोग, सर्वसुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवर्द्धन, जलविद्युतको उत्पादन, पूर्वाधार विकास, रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने लगायतका सङ्कल्प नेपाली काँग्रेसले लिएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ । 

आफ्नो नेतृत्वमा सरकार बनेपछि आम नागरिकलाई २०७८ चैत्रभित्र कोभिड—१९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता समयमै पूरा गरेको र अन्योलमा रहेको मेलम्चीको खानेपानी यही वैशाखभित्र वितरण गरी काठमाडौँ नगरवासीको आकाङ्क्षा पूरा गर्न सरकार सफल भएको बताउनुभयो । 

संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुल्नुका साथै भ्रष्टाचारलाई निरुत्साहित गर्दै सु–शासनका पक्षमा उल्लेखनीय काम भइरहेको समेत प्रधानमन्त्रीले बताउनुभएको छ । 

आम नागरिक तथा राजनीतिक दलहरूको विश्वासमा नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयनमा फेरि एक पटक इँटा थप्ने अवसर प्राप्त गरेको उल्लेख गर्नुहुँदै उहाँले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गमा सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनमा सहभागी भई मतदान गर्न  अपिल गर्नुभएको छ । -रासस


ताजा खबर