‘दाहालको धम्की बाँदरले रूखको हाँगो हल्लाए जस्तै’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादीलाई भोट नदिए देश दुर्घटनामा जान्छ भनेर धम्की दिनुको कुनै अर्थ नरहेको बताएका छन्।

शनिबार सुनसरीको धरानमा एमालेले आयोजना गरेको चुनावी सभामा बोल्दै ओलीले दाहालको धम्कीको कुनै अर्थ नरहेको बताएका हुन्। “बाँदरले रूखको हाँगो हल्लाएर अरूलाई तर्साउन खोज्नुलाई नेवारी भाषामा माकाफुईं भनिन्छ। यो शब्द मैले पहिले पनि काठमाडौंमा भनेको थिएँ, अहिले धरानमा भन्दै छु‚” उनले भने‚ “दाहालको धम्की बाँदरले रूखको हाँगो हल्लाए जस्तै हो।’

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भने दाहालको धम्कीले थरर कामेको दाबी गरे। दाहालको धम्कीबाट डराएर देउवाले भरतपुरमा रेणु दाहाललाई उम्मेदवार बनाउन आफूले नै प्रस्ताव गरेको बताउन थालेको बताए। ओलीले दाहाल अहिले भिजेको मुसो जस्तो भएर कांग्रेसको वरिपरि घुमिरहेकाले उनको धम्कीले कोही नतर्सिने टिप्पणी गरे।

ओलीले गठबन्धन ‘टालाटुली बटुली कति राम्री पुतली’ जस्तो भन्दै यसले देशमा विकास नगर्ने बताए। गठबन्धनका नेता १० महीनामा सरकार जोगाउने ध्यानमा मात्र लागेको र विकासका कुनै काम नगरेको टिप्पणी उनले गरे। आफूले उद्घाटन गरेका सडकहरू समेत वर्तमान सरकारले रोकेको दाबी गर्ने उनले भने, “सरकार भनेको त जनताले चुनेर बन्ने हो, तर अहिलेको सरकार त्यसरी बनेको होइन, यो अदालतबाट मुद्दा जितेर बनेको हो। संसारमा यस्तो देख्नुभएको छ?”

अध्यक्ष ओलीले निर्वाचन आयोगले मतपत्र हरियो बनाएर कांग्रेसलाई सहयोग गरेको पनि दोहोर्‍याए। उनले भविष्यमा संघ र प्रदेशमा एमालेकै सरकार बन्ने भएकाले धरानमा पनि मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम लिम्बुलाई जिताउन आग्रह गरे। 

“उहाँहरूलाई जिताउने तपाईंहरूको जिम्मा, धरानको विकास गर्ने मेरो जिम्मा‚” ओलीले भने‚ “यहाँको माहोल हेर्दा एमालेले जितिसकेको र घोषणा गर्न मात्र बाँकी छ।” उनले एमालेले जहाँ टेक्यो त्यहीं विकास आउने दाबी गरे।

‘वेदको उत्पत्ति यहीं भएको हो’

ओलीले धरान र वरपरको क्षेत्र भगवान् शिवको भूमि भएको दाबी गरेका छन्। उनले भगवान् शिवको क्रीडास्थल रहेकाले शैवहरूको महत्त्वपूर्ण भूमि रहेको बताए।

सुनसरीको चतरामा विश्वामित्र र कौशिक ऋषिमुनि बस्ने गरेको बताउँदै यही क्षेत्रमा वेदको उत्पत्ति भएको समेत जिकिर गरे। ओलीले भने, “यहीं नजिक रामले धुनी बालेको रामधुनी छ। यो विश्वको पुरानो ग्रन्थ वेदको उत्पत्ति भएको ठाउँ हो।” -रासस


ताजा खबर