नातीकाजी राष्ट्रीय सङ्गीत पुरस्कार २०७७ प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि समाजको सभ्यताको स्तरलाई कला, साहित्य र सङ्गीतले प्रतिविम्वित गर्ने गरेको बताउनुभएको छ ।

नातिकाजी स्मृति समाजले शीतल कार्यालयमा आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजको सकारात्मक रूपान्तरणमा कला, साहित्य र सङ्गीतको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताउनुभयो ।

नेपाली सङ्गीत आकाशका उज्ज्वल नक्षत्रका रूपमा नातिकाजी रहनुभएको स्मरण गर्नुहुँदै राष्ट्रपति भण्डारीले स्रष्टाहरूको अथक साधनाबाट सिर्जित मौलिक सिर्जनाले राष्ट्रको पहिचानसमेत स्थापित हुने गरेको बताउनुभयो । 

राष्ट्रपति भण्डारीले कलाकारहरू सभ्यताका बाहकहरू भएका र तिनका सृजनाहरू राष्ट्रका अमूल्य निधि र सम्पदा भएको पनि बताउनुभयो ।

राष्ट्रपति भण्डारीले देशको सामाजिक आर्थिक समृद्धिको यात्रामा सर्जकहरूले समेत आ–आफ्नो क्षेत्रबाट आमजनतालाई विकासको अभियानमा थप जागरूक र उत्साहित पार्न भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले स्वर्गीय नातिकाजी श्रेष्ठलाई नेपाली सङ्गीतको इतिहासमा स्वर्णिम युग स्थापना गर्ने अग्रणी सङ्गीतकार तथा गायकका रुपमा स्मरण गर्नुहुंदैे नेपाली सङ्गीतको मानक स्वरूप निर्माण गर्न नातिकाजीले महत्त्वपूर्ण भूमिका खेल्नुभएको बताउनुभयो । 

May be an image of 4 people, people standing and indoor

समारोहमा नेपालको कला,साहित्य र सङ्गीत क्षेत्रका स्रष्टाहरूलाई सम्मान गरिएको थियो । नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान २०७७ बाट  गायन विधामा नुपुर बनर्जी भट्टचार्य, वाद्य बादनमा नारायणदास कार्की ढली, साउन्ड इन्जिनियरमा प्रदीप उपाध्यक्ष, गायनमा उमेश पाण्डे, कुन्ती मोक्तान र सीताराम पोखरेल, अर्केष्ट्रा–सङ्गीतमा राजकुमार श्रेष्ठ तथा शास्त्रीय सङ्गीतमा प्रभु ढकाललाई नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान २०७७ बाट सम्मानित गर्नुभएको छ ।

रचनामा एस.पी. कोइराला, बी.बी. थापा, सहदेव ढुङ्गाना, शिला पन्त, ज्ञानेन्द्र गदाल, हरिभक्त बुढाथोकी र शीतल कादम्बिनी सम्मानित हुनुभएको छ ।

नातिकाजी राष्ट्रिय योगदान सम्मान तथा प्रशंसापत्र १४ जनाले प्राप्त गरेका छन् ।

समाजसेवातर्फ धुर्वकुमार श्रेष्ठ, सुनिल शर्मा, ठाकुरप्रसाद ढुङ्गाना, डा. कल्याणराज शर्मा, चिरन्जिवी थापा, डण्डपाणि कडेल (डि.पी), द्विराज शर्मा शिवाकोटी र नवराज केसी सम्मानित हुनुभएको     छ ।

नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७७ मार्फत् रचनामा डि.पि दाहाल, सङ्गीतमा अर्जुन पोख्रेल तथा गायनमा सिन्धु मल्ल र अजर जंगम सम्मानित हुनुभएको छ ।

नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार २०७७ मार्फत शास्त्रीय सङ्गीतमा अमृतहरि तुलाधर योगी र नातिकाजी राष्ट्रिय लोकसङ्गीत पुरस्कार २०७७ मार्फत लोकसङ्गीत विधामा कृष्ण कँडेल सम्मानित हुनुभएको छ । -रासस


ताजा खबर