टी–२० खेलमा जिम्बाबे ‘ए’माथि नेपालको सहज जित

नेपालले पाहुना टोली जिम्बाबे ‘ए’ सँगको तेस्रो तथा अन्तिम टी–२० खेलमा सहज जित दर्ता गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाबे ‘ए’लाई नेपालले ८ विकेटले हराएको हो। 

टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले दिएको १३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा दुई विकेटको क्षतिमा पूरा गरेको हो।

 नेपालको जितका लागि आसिफ शेखले ८७ रनको अर्धशतकीय इनिङ खेल्नुभयो। नेपालका लागि कुशल भुर्तेलले ३४ रन बनाउँदा बसिर अहमेदले १० रन जोड्नुभयो। 

जिम्बावेका लागि रोय कियाले सर्वाधिक ४९ रन बनाउँदा मारुमानीले २७ र लुक जोग्वेले २३ रन बनाउनुभयो। 

जिम्बावेका लुक जोग्वे र ब्राण्डन माभुताले एकएक विकेट लिनुभयो। नेपालका कप्तान सन्दीप लामिछानेले २ विकेट लिनुभयो भने सोमपाल कामी र बसिरले एकएक विकेट हात पार्नुभयो। 

पहिलो खेलमा नेपाल जिम्बाबे ‘एसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेल वर्षाले रद्द भएको थियो। बुधबारको जितसँगै नेपाल र जिम्बाबे ‘ए’बीचको तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ।

अब नेपालले जिम्बाबे ‘ए’सँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ क्यानले यसअघि नै एकदिवसीय खेलका लागि टिमको घोषणा गरिसकेको छ।  


ताजा खबर