नेपाल र जिम्बावेबीचको तेस्रो टी–२० खेल आज हुँदै

नेपाल र पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेल आज (बुधबार) हुँदैछ । कीर्तिपुर स्थित त्रिवि मैदानमा दिउँसो १:०० बजे हुने खेलमा नेपाल जिम्बावेलाई हराउँदै सिरिज बराबरी गर्ने दाउमा छ ।

यता जिम्बावे पनि नेपाललाई हराएर सिरिज जित्ने दाउमा छ । अहिले जिम्बावे १-० ले अगाडि छ । सिरिजको पहिलो खेलमा नेपाल जिम्बालेसँग ६ विकेटले पराजित भएको थियो । सोमबार भएको दोस्रो खेल लगातार बर्षाका कारण बीचमै स्थगित भएको हो । काठमाडौँको बिहानी मौसम हेर्दा आज पनि बर्षाले खेल नहुने सम्भावना उतिकै छ ।

नेपालले टी–२० पछि जिम्बावेसँगै वैशाख २३, २४ र २६ गते एकदिवसीय सिरिज खेल्नेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा हुने अमेरिका र ओमानसँग त्रिदेशीय सिरिजको तयारीका लागि जिम्बावेसँग सिरिज खेलेको हो । 

लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौँ स्थानमा छ । नेपालले १२ खेलमा ६ जित र ६ वटै हार खेपेको छ । नेपालसहित ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पपुवा न्युगिनी (पीएनजी) गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।


ताजा खबर