काँग्रेसको चुनावी सभा शुरु : शीर्ष नेताहरुले सम्बोधन गर्ने

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी देशका १० सहरमा चुनावी सभाको आयोजना गर्दैछ । काँग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी वैशाख २१ बुधबारदेखि २७ गतेसम्मको चुनावी सभाको तालिका सार्वजनिक गरिएको छ । 

नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार चुनावी सभा तय भएको बताउनुभयो । वैशाख २१ गते मोरङको विराटनगरमा हुने सभालाई प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूले सम्बोधन गर्नुहुनेछ । 

वैशाख २२ गते चितवनको भरतपुरमा चुनावी सभा आयोजना हुनेछ । सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री महालक्ष्मी उपाध्याय डिनासहितका नेताहरूले सम्बोधन गर्नुहुनेछ । वैशाख २३ गते काठमाडौँमा चुनावी सभाको आयोजना गरिनेछ । उक्त सभामा सभापति देउवा, वरिष्ठ नेता पौडेलसहितका वक्ताहरूले सम्बोधन गर्नुहुनेछ । 

मुख्यसचिव पौडेलका अनुसार वैशाख २४ गते बिहान ११ बजे रुपन्देहीको बुटवलमा आयोजना हुने सभालाई सभापति देउवा, नेता पौडेल, महामन्त्री गगनकुमार थापासहितका वक्ताले सम्बोधन गर्नुहुनेछ । वैशाख २४ गते दिउँसो १२ः३० बजे तनहँुको दमौलीमा हुने चुनावी सभामा सभापति देउवा, नेता पौडेल, प्रवक्ता डा. प्रकाशशरण महतसहितका नेताहरूले सम्बोधन गर्नुहुनेछ । त्यस्तै, वैशाख २४ गते दिउँसो २ बजे धनुषाको जनकपुरधामको चुनावी सभामा सभापति देउवा, नेता पौडेलसँगै सहमहामन्त्री भीष्मराज आङ्देम्बे, महेन्द्र यादवसहितका नेताहरूले सम्बोधन गर्नुहुनेछ ।

वैशाख २५ गते बिहान ११ बजे कास्कीको पोखरामा आयोजना हुने सभालाई सभापति देउवा, नेता पौडेल, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियारलगायतले सम्बोधन गर्नुहुनेछ । वैशाख २५ गते दिउँसो २ बजे दाङको तुलसीपुरमा आयोजना हुने चुनावी सभालाई सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री किशोरसिंह राठौरलगायतले सम्बोधन गर्नुहुनेछ ।

वैशाख २६ गते कैलालीको धनगढीमा आयोजना हुने कार्यक्रमलाई सभापति देउवा, नेता पौडेल तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितका नेताहरूले सम्बोधन गर्नुहुनेछ । वैशाख २७ गते डडेल्धुरामा चुनावी सभाको आयोजना गरिने छ । सभालाई सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री बद्री पाण्डेसहितका नेताहरूले सम्बोधन गर्नुहुनेछ ।

केन्द्रीय सचिवालय गठन

काँग्रेस उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय गठन गर्नुभएको छ । सचिवालयको संयोजकमा काँग्रेस केन्द्रीय सदस्य नानु बास्तोला रहनुभएको छ । सदस्यहरूमा डा. सुरेश आचार्य, डा. प्रभु बुढाथोकी, राजेन्द्रप्रसाद पौडेल, कृष्ण केसी र गेजा शर्मा वाग्ले रहनुभएको छ ।

मुख्यसचिव पौडेलका अनुसार सचिवालयले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति र उपसमितिहरूले गरेका निर्णयको कार्यान्वयनको अवस्थाको अध्ययन गर्नेछ । साथै काँग्रेसका विभिन्न साङ्गठनिक संरचनाले निर्वाचनसम्बन्धी अभियानलाई सफल बनाउनका लागि गरिरहेका कामको जानकारी लिने र संयोजकको परामर्शमा समन्वय र संयोजनसहितको काम गर्नेछ ।


ताजा खबर