आजदेखि उपत्यकामा १७ करोड लिटर पानी वितरण

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । केयुकेएलका प्रमुुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिनुभयो । 

आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पुगिसक्ने उहाँले बताउनुभयो । वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै वितरण हुन बाँकी क्षेत्रमा पनि वितरण सुरु हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “यसअघि कतिपय ठाउँमा पानी पुग्न सकेको थिएन । वितरण प्रणालीमा १७ करोड लिटर पठाउँदा पाइप परीक्षण भइसकेका सबै ठाउँमा पानी पुग्नेछ । पानी पुग्न नसकेका ठाउँमा केयुकेएलको ‘-यापिड रेस्पोन्स टिम’ पुगी छिटोभन्दा छिटो समस्या समाधान गर्नेछ ।

” वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै अब काठमाडौँ उपत्यकामा २७ करोड लिटर पानी वितरण हुनेछ । अहिले केयुकेएलले दस करोड लिटर पानी वितरण गर्दै आएको छ । दस करोड लिटर र मेलम्चीबाट आएको १७ करोड लिटर गरेर २७ करोड लिटर पानी काठमाडौँमा वितरण हुने प्रमुख शाक्यले बताउनुभयो ।

सुन्दरीजलको प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घर–घरसम्म पु¥याउन आवश्यक संरचना निर्माण भइसकेको बताउँदै उहाँले ७७ किलोमिटर लम्बाइको थोक वितरण प्रणाली (ब्लक डिस्ट्रिब्युसन सिष्टम)मार्फत नौवटा ठाउँमा निर्माण गरिएको भण्डारण केन्द्रमा पानी पुगेको र त्यहाँबाट घर–घरमा पुग्नेगरी संरचना निर्माण गरिएको जानकारी दिनुभयो । 

मेलम्चीबाट आउने १७ करोड लिटर पानीमध्ये तीन करोड २० लाख लिटर पानी पाइप परीक्षणका लागि प्रयोग गरिनेछ । उहाँले भन्नुभयो, “पाइप परीक्षणका लागि प्रशस्त मात्रामा पानी चाहिन्छ । ट्याङ्करको पानीले पुग्दैन । १७ करोड लिटर पानी प्रवाहसँगै बाँकी रहेका पाइप परीक्षण गरिनेछ ।”

४१० किलोमिटरको परीक्षण

मेलम्चीको पानी वितरण गर्न काठमाडौँ उपत्यका चक्रपथभित्रको क्षेत्रमा एक हजार किलोमिटर पाइप बिछ्याउने काम सम्पन्न भएको छ । केयुकेएलअन्तर्गतको आयोजना कार्यान्वयन एकाइ (पीआईडी)का निर्देशक राजेन्द्र सापकोटाले काठमाडौँको चक्रपथभित्रको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न एक हजार दस किलोमिटर पाइप लाइन बिछ्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार बिछ्याइएका पाइपमध्ये अहिलेसम्म ४१० किलोमिटरको परीक्षण भइसकेको छ । परीक्षण गरिएका पाइपबाट मेलम्चीको पानी वितरण गर्न सकिनेछ । 


ताजा खबर