स्थानीय निर्वाचनका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । शुक्रबार साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको हो ।

यही वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्ता नलिएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृतले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरे । राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलका उम्मेदवारलाई मतपत्रको क्रमसङ्ख्या १ देखि ६ सम्म कायम निर्वाचन चिह्न प्रदान गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले)को ‘सूर्य’, दोस्रोमा नेपाली कांग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र)को ‘गोलाकार हँसिया हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौँमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौँमा नेकपा (एकीकृत समावादी)को ‘कलम’ चिह्न रहेको छ ।

यस्तै राष्ट्रिय मान्यता प्राप्त नगरेका तर आयोगमा दर्ता भएका दलका उम्मेवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदारलाई मतपत्रमा रहेको चिह्नबाट छान्न लगाइने अर्यालले बताउनुभयो । उम्मेदवारको मनोनयन फिर्ता लिन शुक्रबार अपराह्न ५ बजेसम्मको समय तोकिएको थियो । स्थानीय तह सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये करिब चार हजारले आफ्नो उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ ।

यही वैशाख ३० गते हुने निर्वाचनका लागि ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला गरी कूल एक लाख ५३ हजार २२० जनाको उम्मेदवारी कायम भएको छ । नगर प्रमुखमा तीन हजार २४९ पुरुष र २६८ महिला गरी तीन हजार ५१७, उपप्रमुखमा ६०७ पुरुष र एक हजार ५६८ महिला गरी दुई हजार १७५, गाउँपालिका अध्यक्षमा तीन हजार १४९ पुरुष र १९८ महिला गरी तीन हजार ३९२ तथा उपाध्यक्षमा ६१६ पुरुष र एक हजार ७९१ महिला गरी दुई हजार ४०७ जनाको उम्मेदवारी टुङ्गो लागेको छ ।

यसैगरी वडाध्यक्षमा ३४ हजार ३५० पुरुष र एक हजार ५० महिला गरी ३५ हजार ४००, महिला सदस्यमा २६ हजार ५७५, महिला दलित सदस्यमा २३ हजार ९६२ तथा सदस्यमा ५३ हजार २३७ पुरुष र दुई हजार ५५८ महिला गरी ५५ हजार ७९५ जनाको उम्मेदवारी कायम भएको आयोगले जनाएको छ ।

७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि निर्वाचन हुँदैछ । -रासस


ताजा खबर