स्थानीय निर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न दिइने

यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज निर्वाचन आयोगले स्थानीय निर्वाचनमा भाग लिएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्दैछ ।

आयोगको निर्वाचन कार्यक्रम बमोजिम शुक्रवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि शनिबार चुनाव चिह्न वितरण गरिन लागेको हो ।स्थानीय निर्वाचन २०७९ मा ७९ राजनीतिक दलले भाग लिँदैछन् । यस्तै उल्लेख्य सङ्ख्यामा स्वतन्त्र उम्मेदवारी समेत परेको छ । सबैभन्दा बढी काठमाडौँमा ५६ दल र सबैभन्दा कम डोल्पामा ११ दलले प्रतिस्पर्धा गर्ने आयोगले जानकारी गराएको छ ।

निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । यस्तै काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ । यसैगरी एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ । स्वतन्त्र हैसियतमा १२ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय मान्यता प्राप्त छ दलसँगै निर्वाचन कार्यालय र आयोगमा तोकिएको समयभित्र साङ्गठनिक विवरण बुझाएका राजनीतिक दललाई उक्त दलले दर्ताको समयमा पाएको चुनाव चिह्न पाउनेछन् । स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उम्मेदवारले भने निर्वाचन अधिकृतको कार्यालयले राखेको चुनाव चिह्न ‘बैङ्क’बाट चिह्न रोज्न पाउनेछन् । -रासस


ताजा खबर