श्रीलङ्काकाका राष्ट्रपति राजापाक्षे सर्वदलीय सरकार बनाउन तयार

श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले सर्वदलीय सरकार बनाउन आफू तयार रहेको बताउनु भएको छ ।

आफू सरकार पुनर्गठनको तयारीमा रहेको जानकारी दिदै उहाँले संसद्‌मा रहेका सबै दलहरूलाई समेटेर सरकार बनाउन चाहेको स्पष्ट पार्नु भयो ।

देशको अहिलेको आर्थिक तथा राजनीतिक सङ्कट समाधान गर्ने जिम्मेबारी सबैको भएकाले सबै सहभागी सरकार बनाएर काम गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले सबै दलका नेताहरूलाई सर्वदलीय सरकार निर्माणका लागि छलफलमा आउन समेत बुधबार सन्देश प्रवाह गर्नुभयो ।

सरकार भित्रको संरचना, वरियता, भागबन्डालगायत विषयमा छलफल गर्न आफू खुला रहेको पनि राष्ट्रपति राजापाक्षेले स्पष्ट पार्नु भएको छ ।

उहाँले सर्वदलीय सरकार गठनका बारेमा छलफल गर्न आगामी शुक्रबार सत्तारुढ गठबन्धनको बैठक समेत आयोजना गर्नु भएको छ ।

श्रीलङ्कामा आर्थिक संकट सुरु भएपछि महङ्गी र अभाव सृजना भएको थियो भने त्यसै कारणले आम नागरिक आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनका कारण हिंसात्मक घटनाहरू समेत भएपछि राजनीतिक सङ्कट समेत उत्पन्न भएको छ । आन्दोलनकारीहरूले अहिलेको सरकारकै कारणले आर्थिक तथा राजनीतिक सङ्कट उत्पन्न भएको आरोप लगाउदै आएका छन् ।

आम नागरिक र आन्दोलनकारीहरूको दबावका कारण राष्ट्रपति राजापाक्षे सर्वदलीय सरकार गठनका लागि तयार हुनु भएको बताइएको छ ।एएनआई


ताजा खबर