उत्तर कोरियाले परमाणु हतियार प्रणाली सशक्त बनाउने

उत्तर कोरियाका नेता किम जङ-अनले आफ्नो देशले परमाणु हतियारको सङ्ख्या बढाउने घोषणा गर्नुभएको छ । उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा प्योङ्याङमा भएको सैन्य प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर कोरियाली अस्त्रभण्डार अझ बलियो बनाउने घोषणा गर्नुभएको हो ।

“हामी तीव्र गतिमा हाम्रो देशको पारमाणविक क्षमता सुदृढ बनाउन र विकास गर्न आवश्यक कदम चालिरहने छौँ,“ उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय निन्दा र प्रतिबन्धबाट अहिलेसम्म किम विचलित भएको देखिएको छैन । सोमवार उहाँले भनेका कुराले पनि यसलाई पुष्टि गरेको छ ।

सरकारी समाचार संस्था (केसीएनए) का अनुसार परमाणुअस्त्र प्रयोग गर्ने फौज परिचालित हुन जुनसुकै बेला पनि तयार हुनुपर्ने उहाँको भनाइ छ ।

उत्तर कोरियाका परमाणुअस्त्र वस्तुतः आफूविरुद्ध हुन सक्ने सम्भावित युद्धलाई निरुत्साहित गर्ने साधन भए पनि ती अरू उद्देश्यका लागि पनि प्रयोग सकिने उहाँको भनाइ छ ।

उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त परेडमा प्रतिबन्धित अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) पनि प्रदर्शन गरिएको उत्तर कोरियाली समाचार संस्था (केसीएनए)ले जनाएको छ । गत मार्च महिनामा उत्तर कोरियाले सन् २०१७ पछि सबैभन्दा ठूलो आईसीबीएम परीक्षण गरेको थियो ।

उत्तर कोरियाली उक्त कदमको संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय समुदायले व्यापक आलोचना गरेका छन् । उक्त परीक्षणपछि संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध घोषणा गरेको छ ।

परमाणुअस्त्र बोक्न सक्नेगरी बनाइएका ती क्षेप्यास्त्रको मार हान्न सक्ने क्षमता संयुक्त राज्य अमेरिकासम्म रहेको दावी गरिएको छ ।

सोमवारको प्रदर्शनमा ध्वनिको गतिभन्दा तीव्र रूपमा जाने हाइपरसोनिक क्षेप्यास्त्र तथा पनडुब्बीबाट प्रहार गरिने ब्यालेस्टिक क्षेप्यास्त्रहरू पनि प्रदर्शन गरिएका दक्षिण कोरियाली अधिकारीले बताएका छन् ।

यद्यपि दक्षिण कोरियाली विज्ञहरूले उक्त परीक्षण सफल भएकोबारे आशङ्का व्यक्त गरेका थिए । प्योङ्याङमा आयोजना हुने सैन्य परेडहरूमा सेनाले प्रायः ट्याङ्क, तोप र सैनिकको लामो लस्करसहित नयाँ अस्त्रहरू पनि प्रदर्शन गर्ने गरेको छ ।-बीबीसी


ताजा खबर