स्थानीय निर्वाचनका मतपत्र जिल्ला जिल्लामा पठाइयो

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन–२०७९ का लागि छपाइ भएका मतपत्र आजदेखि जिल्ला जिल्लामा पठाउन थालेको छ ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट लोड भई आज कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका तीन गरी १३ जिल्लामा मतपत्र पठाइएको छ । वैशाख १४ गते काठमाडौँबाट लामो दूरीमा पर्ने पूर्व र पश्चिमका गरी नौ जिल्लामा मतपत्र पठाइनेछ । वैशाख १२ गतेसम्म एक करोड ५४ लाख ८३ हजार (८० प्रतिशत) मतपत्र छपाइको कार्य सम्पन्न भइसकेको छ ।

निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ ।

आजै निर्वाचन सामग्री पुग्न बाँकी डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा नेपाली सेनाको हेलिकोप्टरबाट सामग्री पठाइएको छ ।

केही स्थानबाट मनोनयनको विवरण आउन बाँकी
निर्वाचन कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा अधिकांश स्थानबाट दर्ताको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट भइरहेको छ भने केही स्थानबाट विवरण आउन बाँकी रहेको छ ।

आज दिउँसो २ बजेसम्म मधेस प्रदेशका तीन जिल्ला, लुम्बिनी प्रदेशको एक र कर्णाली प्रदेशको दुई जिल्लाका केही पालिकाको विवरण आउन बाँकी रहेकामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको लमही नगरपालिकाको विवरण प्रविष्ट भएको छ ।

बाराको कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सुवर्णमाई गाउँपालिका, महोत्तरीको औराही र मटिहानी, सिराहाको सुखीपुर, धनगढीमाई, लहान र कर्जनाह र कालिकोटको पलाता गाउँपालिकाको विवरण प्रविष्ट भइसक्नेछ ।

निर्वाचन सुरक्षा विषयक मुख्य प्रशिक्षक प्रशिक्षण
निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि आज निर्वाचन सुरक्षा विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाल सरकार, गृह मन्त्रालय, रक्षा मन्त्रालय, चार वटै सुरक्षा निकाय, आयोगका कर्मचारी र साझेदार संस्था युएनडिपी, इएसपीका प्रतिनिधि सहभागी प्रशिक्षण कार्यक्रमको आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले शुभारम्भ गर्नुभयो । शुभारम्भ कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीसहित उच्च अधिकारीको उपस्थिति थियो ।

निर्वाचनका लागि आधिकारिक भाइबर ग्रुप
निर्वाचनका लागि निर्वाचन आयोग, नेपाल र सामाजिक सञ्जाल भाइबरले आधिकारिक रूपमा आयोगको भाइबर ग्रुप औपचारिक रूपमा सुरु गरेको छ ।

आयोगले यस प्लेटफर्मको प्रयोग गरी नागरिक तथा निर्वाचन सरोकारवालालाई समयसापेक्ष, अद्यावधिक र सही सूचना उपलब्ध गराउनेछ । यस प्लेटफर्मको प्रयोग गरी निर्वाचनसम्बन्धी मतदाता शिक्षा र विभिन्न जानकारी प्राप्त गर्न सकिनेछ । -रासस


ताजा खबर