साउदी राजदूतसँग श्रम मन्त्री श्रेष्ठको छलफल

साउदी अरेबियामा नेपालीहरूका समस्यामा समाधानको पहल गर्न आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदूत नाइफ अलोटाइवीले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा सोमवार भएको भेटमा उहाँहरूबिच दुई देशबिच रहिआएको आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भयो । सो अवसरमा श्रम मन्त्री श्रेष्ठले पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तव्य बनेको साउदी अरेबियामा नेपालीहरू विभिन्न समस्यामा परेको गुनासो आएको भन्दै समाधानको पहल गर्न राजदूत अलोटाइवीसँग आग्रह गर्नुभयो ।

सम्झौता अनुसार काम र पारिश्रमिक नपाएको भन्दै उजुरी तथा गुनासो गर्ने नेपाली कामदारको सङ्ख्या उच्च रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । नेपाल र साउदी अरेबियाबिचको श्रम सम्झौतालाई छिटो अन्तिम रूप दिनुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । श्रम सम्झौता नहुँदा रोजगारदाता तथा मानव श्रोत आपूर्तिकर्ता संस्थाको कर्तव्य स्पष्ट हुन नसकेको उहाँले बताउनुभयो ।

राजदूत अलोटाइवीले नेपाली कामदारको सहजताको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारको सहयोगमा नेपालमा साउदी लक्षित सीप प्रशिक्षण केन्द्र सञ्चालनको प्रस्ताव पनि गर्नुभएको थियो ।

अहिले साउदी अरेबिया जाने अधिकांश कामदार अदक्ष रहेकोले सीपयुक्त जनशक्ति उत्पादन गर्न सीप परिक्षण परियोजना सञ्चालन गर्न सकिने मन्त्री श्रेष्ठले बताउनुभयो ।

करिब चार लाख श्रमिक कार्यरत रहेको साउदी अरेबिया नेपाली कामदारहरूको लागि प्रमुख श्रम गन्तव्य हो । नेपाल र साउदी अरेबियाबिच सन् १९७७ मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । -रासस


ताजा खबर